प्रेम ओली ढकलपुरेभन त सत्ता
तिमी
ब्रह्माले बनाकी हौ कि ईन्द्रले बनाकी हौ
तिमीले त मेनाकालाई मात्र होइन
उर्वशीलाई पनि मात गर्ने रहिछ्यौ
एक पटक टाँस्सिएपछि तिमीसङ्ग
छोड्नै नसक्ने नसा पो भइछ्यौ
विवाहित होस् कि ब्रह्मचारी
नेता होस् कि कर्मचारी
तिमीलाई अँगालो मारेपछि
तिम्रो दिवाना नै हुँदारहेछन्
तिमीलाई छोड्दा कति त
धुरु धुरु रुँदारहेछन्
भन त सत्ता
स्वर्ग कि परी हौ कि जादुकी छडी हौ
बुझ्नै नसकिने कुन चिजको कडी हौ ।
देशलाई सुनको टुक्रा बनाउछु भन्ने पनि
तिमीलाई भेटेपछि सबको मगज भ्रष्ट हुँदोरैछ
ऋषिमन भएकालाई पनि भ्रष्टाचारले छुँदोरैछ
देशको लागि मर्छु भन्नेहरू तिमीसँग लागेपछि
कोही गति छाडी हिंड्ने
कोही मति छाडी हिंड्ने
जनताको लागि गर्छु भन्ने पनि जनतासँगै भिड्ने
भन त सत्ता
ब्रह्माले पठाका हुन् कि शंकरले पठाका हुन्
के उर्वशीलाई जस्तै ईन्द्रले खटाका हुन्
तिमीलाई भनेपछि त
दाँत झरेका नेता पनि मरिहत्ते गर्छन्
पिन्ड खान हिंडेका पनि भुतुक्क मर्छन्
न पत्याए हेर त
त्यत्रा ठुला तपस्पी चित्रानन्दले पनि
तिम्रो लागि तपस्या कसरी भङ्ग गरे
तिमीसँग डिभोर्स गरेका सुशिल दा पनि
फेरि पाइन्छ कि भनी दङ्ग परे
तिमीलाई पाउन ओली दाइले
कसरी हतार गर्दै कुदे
आन्दोलन छाडी मदेशी दल पनि
ओली दाइसँग जुधे
तिमीलाई पाउन कोही तरङ्गित भए
कोही सोर्स लाउन दिल्ली समेत गए
राजा पनि तिमीसँग भुतुक्क भए
राणा पनि तिमीसँग लुतुक्क भए
आज पनि हरेक दलका नेता तिम्रै लागि मर्दैछन्
नपाउनेले पनि तिम्रै लागि सडकमा आन्दोलन गर्दैछन्
मानेँ सत्ता तिमीलाई
अचम्मको लागेको त
तिम्रो जवानी कसरी सधैं टिक्या छ
अझ गजबको कुरो
एउटाले डिभोर्स दिन पाको छैन
बजारमा कति चाँडै तिम्रो जवानी बिक्या छ
द्रोपदीको लागि महाभारत
सिताको लङ्का युद्द भए झैं
तिम्रो लागि पनि यहाँ
कत्रो मारामार छ
कतिको बोली बाराबार छ
कोही तिमी बिना बाँच्नै नसक्ने
कोही तिमी बिना हाँस्नै नसक्ने
भन त सत्ता
तिमी लक्ष्मी हौ कि कालिका हौ
के कुनै फिल्मकी नायिका हौ ?
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































