साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्का

Nepal Telecom ad

१. हास्य सम्मेलनमा केपी र बाबुराम

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे, सीताराम कट्टेल, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेललगायत सारा हास्य कलाकारले गरेको हास्य सम्मेलनमा गजबै भएछ । अतिथि थिए, केपी ओली र बाबुराम भट्टराई । तर, मञ्चमा दुइटा ओली, दुइटा भट्टराई पो देखिए ! असली ओली र भट्टराई चिन्ने जिम्मा दर्शकलाई दिइएछ । ओलीका रूपधारी कलाकार र असली ओली दुवैले दमदार भाषण दिए, हाउभाउ उस्तै, आवाज दुरुस्तै ! बोल्ने शैली त झन् कति मिल्ने कति ! दुवैले हँसाउनसम्म हँसाए, फरक छुट्याउनै नसक्ने गरी । दर्शकले असली ओली चिनेनन् तर गजधम्म परेर मञ्चमा बसेका दुईमध्ये असली भट्टराईचाहिँ ट्वाक्कै चिनेछन् । कसरी थाहा छ ?

भएछ के भने दुवै ‘केपी ओली’को भाषणमा सबै हाँसे, सभाहलको भित्ता र उनीहरू बोलेको माइकसमेत हाँसेछ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेर देश नै हाँस्यो । तर, मञ्चका एक जना मानिस फिटिक्कै हाँसेनन् । हाँस्दै नहाँस्ने मानिस बाबुरामबाहेक अरू कोही हुन सक्छ र ? नहाँस्ने बाबुराम सक्कली, खितिती हाँस्ने बाबुराम नक्कली ! दर्शकले ठम्याइहाले ।

त्यसपछि उद्घोषकले केपी ओलीलाई हास्य समाज नेपालको मानार्थ सदस्यता प्रदान गर्ने घोषणा गरे । फ्रेममा झकिझकाऊ पारिएको सदस्यतापत्र लिन बोलाउँदा सोफाबाट दुईमध्ये एक जना ओली उभिए । अनि मात्र असली ओली चिनेर दर्शकले ताली ठोके । बाबुरामलाई हँसाउन सक्ने कलाकारलाई चाहिँ हास्य समाजको संरक्षक बनाउने निर्णय गरेर सम्मेलन सकिएछ । कोही रै’छ नि त, बाबुरामलाई पनि हँसाउन सक्ने ।

२.स्वर्ग फुटाउने सल्लाह

मरेर यमराजकहाँ पुगेका केही नेपालीले नर्क होइन, स्वर्ग जान्छौँ भनेर जिद्दी गरेछन् । यमराजले स्वर्गमा सिट खाली छैन भनेर टारे । त्यसपछि नेपालीहरूले कानेखुसी सल्लाह गरेर भनेछन्, ‘ठाउँ खाली नभए पनि हामीलाई स्वर्गमा राख्ने उपाय बताउँछौँ, मान्नुहुन्छ ?’ कुरा सुनेर चकित यमराजलाई नेपालीले अगाडि भनेछन्, ‘हाम्रो उपाय मान्नुभो भने स्वर्गमा कहिले ठाउँ अभाव हुँदैन ।’

झन् छक्क परे यमराज । नेपालीले भने, ‘यसो गर्नूस्, नेपालमा मन्त्रालय फुटाएजसरी स्वर्ग पनि फुटाइदिनूस्, एक–दुई जना मानिसले स्वर्गतुल्य मोज गर्न मन्त्रालय फोर्न मिल्छ भने सारा मानिसका लागि स्वर्ग फोर्न किन मिल्दैन ?’

३. एक घर एक लालटिन

आम्मै ! प्रधानमन्त्री केपी ओलीले गफ दिएका होइन रै’छन् । उनले हावाबाट बिजुली निकाल्ने, वर्षदिनमा लोडसेडिङ हटाउने घोषणा गरेका थिए । उनको घोषणा गफ मात्र होइन भनेर उपप्रधानमन्त्री कमल थापाले पुष्टि गरेका छन् । अब दुई वर्षमा हरेक घरमा सोलार जडान गर्ने घोषणा थापाले गरे । वर्ष दिनमा लोडसेडिङ मुक्त बनिन्छ भने किन चाहियो दुई वर्षभित्र सोलार ? गाँठी कुरा यसैमा छ ।

लोडसेडिङ मुक्त भएपछि बिजुली आयो कि आएन भनेर कसरी थाहा पाउने ? हेर्न पर्छ । हेर्नका लागि उज्यालो चाहिन्छ । सोलारको बिजुली बाल्ने अनि त्यसैको उज्यालोमा लोडसेडिङ कायमै छ कि बिजुली बलेको छ भनेर हेर्ने । सरकारको ‘आइडिया’ मान्नैपर्छ, लोडसेडिङ मुक्त गर्ने मात्र नभएर बिजुली आयो कि आएन भनेर सोलार बिजुलीको समेत व्यवस्था गर्दैछ । अनि, सोलारको बिजुली बल्यो कि बलेन भनेर चाहिँ केको उज्यालोमा हेर्ने ?

यसको चिन्ता नगर्नूस्, सरकारले ‘एक घर एक लालटिन’ कार्यक्रम पनि चाँडै घोषणा गर्नेछ । बरू, त्यस्तो घोषणाचाहिँ कुन मन्त्रीको मुखबाट होला ?

४. यसकारण नयाँ मेडिकल कलेज

‘मेडिकल कलेज खोल्न देऊ, नयाँ–नयाँ रोगको उपचार देऊ’ भन्ने माग जनताले राख्नैपर्ने भो । हे सरकार, यस्ता मेडिकल कलेज तत्काल खोली हाल !

–पानीबाट सबै बिजुली निकालेपछि त्यो पानीले कसरी खेती हुन्छ ? उहिलेका मानिस यस्तो गलत सोचाई राख्थे रे ! तर, हावाबाट बिजुली निकालेपछि सास फेर्न हावा अभाव भएर फोक्सो रोग साँच्चै नै लाग्छ । त्यसैले फोक्सो मेडिकल कलेज ।

–ठूला नेताले जनता हँसाउने प्रतिस्पर्धा थालेका छन् । धेरै हाँसेर मुख च्यातिन सक्छ, पेट मिचीमिची हाँस्दा पेटमा समस्या आउन सक्छ । त्यसैले पेट र मुख मेडिकल कलेज ।

–कसैले हावाबाट, कसैले सोलारबाट, कसैले गफबाटै बिजुली निकाल्ने ! जताततै बिजुली, चारैतिर झिलीमिली भएपछि उज्यालोले जनताको आँखा खराब हुन्छ । त्यसैले आँखा मेडिकल कलेज ।

यीबाहेक एउटा मानसिक उपचार मेडिकल कलेज पनि चाहिन्छ कि ? यो मागचाहिँ नेताहरू आफैँले गरे कसो होला ?

नेपाल, माघ ८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x