सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वस्थानीको सनातन परम्परामा हामी

Nepal Telecom ad

हामीकहाँ पण्डितहरू स्वस्थानी भन्दैनन् । पण्डितहरू त भारतका ठुल्ठुला राजा, महाराजाका आपसी युद्ध, वंशविस्तार र त्यहींका तीर्थस्थल, देवस्थलका वर्णनले भरिएका पुराण भन्छन् । सप्ताह भन्छन्, नवाह भन्छन् । त्यसैमा मनग्ये दक्षिणा फल्छ, दम्पतीपूजा लगायत विभिन्न परिकार र सरसामान सहितको शैया फल्छ । यातायातको भव्य सुविधा फल्छ । माला पगरी ढोग भेट जयगान धेरै कुरा फल्छ । यसैले पण्डितहरू एक महिनासम्म एकेक अध्याय गरेर सुनिने सुनाइने स्वस्थानी भन्दैनन् । घरमा बसेर परिवार जनलाई सुनाउँदै स्वस्थानी भट्ट्याउन उनीहरूको पण्डिताउ हैसियतले मिल्दैन । पुरेतहरू पनि भरत खण्डे, भारत वर्षे जस्ता यथागत पुराना शव्दावली जोडेर गौदानको संकल्प भट्ट्याउन रुचाउँछन् । स्वस्थानी भन्न मन पराउँदैनन् । जेनतेन कखरा खारेका सर्वसाधारण धर्मभीरु जन र गृहिणीहरू मात्र वर्षको एक महिना आफ्ना घरभित्र श्रद्धालुहरूबीच बसेर कनीक्mुथी स्वस्थानी भन्छन् ।

नेपालमा विशेषतः हिन्दुधर्मी गृहिणीहरूले वर्षको एक महिना भनिने सुनिने स्वस्थानीको महिमा ठूलो छ । संस्कृतिदेखि राजनीतिसम्म यसको प्रभाव फैलेको छ । मुलुकमा अजंगका राजनीतिक क्रान्ति भए पनि, विभिन्न नम्बरका जनआन्दोलनहरू भए पनि स्वस्थानीकालीन व्यवस्थाका महिमाशाली प्रभावबाट हाम्रो राजनीति विचलित भएको छैन । हामीकहाँ आज पनि अनेकौँ शिव भट्टहरू जिद्दीवाल राले बुढा शिव शर्मालाई आफ्नी सात वर्षे कलिली छोरी दान गरेर सुम्पन वचनवद्ध हुने गर्छन्् । हामीकहाँ आज पनि जनताकाका नवयुगीन सुकुमार कुमारी सपनाहरू जराजीर्ण तथा मरणासन्न वृद्ध शिव शर्मासँग विवाह गरेर विकराल दरिद्रतामा यौवन गुजार्न प्रतिबद्ध बन्छ्न् । हामीकहाँ आज पनि हात्तीहरूले माला लगाइदिन्छन् र नवराजहरू अनायास राजा बन्छन् । राजभवनमा हजारौं ठुलाबडा आमन्त्रित भएर वहुमूल्य चौरासी व्यन्जन ज्यूनारका भव्य भोज चल्छ र त्यस्ता भोज चल्दाकै क्षणमा आम जनता चन्द्रावतीको जीवनस्थिति बेहोर्दै सुखा बगरमा तड्पिनुको मर्म बेहार्दै गणतन्त्रको महिमावोध गर्न सम्बिधानप्रदत्त अधिकारका विभिन्न वरदानले छपक्कै पुरिएका अवस्थामा देखिन्छन् । सबै स्थिति देख्दा बेहोर्दा लाग्छ हामी आज पनि स्वस्थानीकै युगमा छौँ ।

मुलुकमा गणतन्त्र नामको पार्टीतन्त्र आएको छ । नीति नैतिकता, राष्टियता र देशभक्ति जस्ता आदर्शहरू तथा देश जनताका सेवामा समर्पित रहने प्रतिवद्धताका सिद्धान्तहरू सत्ता र सम्पत्तिको दौडमा रुपान्तरित भएका छन् । पदीय कर्तव्य र जिम्मेवारीहरू भष्टाचार र कमिसनतन्त्रमा रुपान्तरित भएका छन् । यसैबीच लावण्यदेशका हिजोका हात्ती बथानहरू आज विभिन्न नामका राजनीतिक पार्टीमा रुपान्तरित भएका छन् । सूँडमा माला लिएर बथानमा शोभायमान देखिने विशालकाय हात्तीनायकहरू विभिन्न नामका चकाचौँध भव्य महलहरू, दरवारहरू र रिसोर्टहरूमा जुट्न, बस्न, खान अभ्यस्त बनेका छन् । राष्टिय ढुकुटीबाट लाखौं खर्च गरेर यी हात्तीनायकहरू बेला बेला दरबारमा रात्रिभोज र दिवाभोजको आयोजना गर्छन् । देशाटन र उपचाराटनको आयोजना गर्छन् । रुघा लाग्दा पनि यिनीहरू राष्टिय ढुकुटी खर्चेर अमेरिका पुग्छन् । ब्यांकक पुग्छन् । घाँटी खसखसाउँदा दिल्ली पुग्छन् । यी रुपान्तरित हात्ती नायकहरू शाकाहारी छैनन्, भयंकर रुपमा मांसाहारी छन् । यस्तै हो भने हामी सबै क्रमशः यिनीहरूको प्लेटमा पुगिने त होइन ? भन्ने आशंका र सन्त्रासले आज जनजीवन आतंकित बनेको छ । जनताको मर्मभेदक पीडासँग यी हात्तीनायकहरूलाई कुनै सरोकार छैन । यी भयंकर हात्तीनायकहरू मुलुकको राजकीय सत्ता र सम्पत्तिका डाडू पन्यूँ लिएर भान्छामा नाच्न पाएकोमै मख्ख छन् । निर्धक्क छन् ।

यदा कदा यस्तो पनि लाग्छ यी हात्तीनायकहरू महँगो र आयातित दानापानीबाट बढी नै पोसाएका छन् । जीवन बढी नै रंगीन बनेको छ । यस्तै नायक बनिरहन आफ्ना प्रिय सबारहरूलाई रिझाउनुको हुटहुटी छ । यता आफूबाट माला थाप्न अघि सरका विविध रुप रंग र आकारमा हात्तीहरू आफ्नै बथानमा छन् । मालाभन्दा गर्धनहरू धेरै छन् । ती सबै गर्धनवालहरूलाई माला थापेर सत्ताको सिंहासनमा विराजमान हुने हतार छ । हतार अस्वाभाविक पनि छैन । यहाँ सत्ताको सिंहासन पाउनु भनेको पुराणको सत्राजितले स्यमन्तक मणि पाउनु जस्तै हो । आफूपछिको सात पुस्तालाई मालामाल बनाउने अवसर पाउनु जस्तै हो ।

सबैलाई उसको रोजाइअनुकूल सिंहासनको माला पहिराउन सजिलो छैन । तर पनि हाम्रा विवेृकवान् महान् हात्तीनायकहरू नयाँ नयाँ सिंहासन सृजना गरेर मालादान गरिरहेका पाइन्छन् । मालादान पाएपछि मूसिकराज पनि गजराजमा फेरिन्छ र दुलो छोडेर विशाल हात्तीसारमा आवास सर्छ । मालादान अभियानमा अव लिंगभेद छैन । यसैले पहिलेको पुरुषवाचक पति शव्द अव उभयलिंगी बन्न बाध्य भएको छ । नेवाली व्याकरणले विकासको अवसर पाएको छ भने कति शव्दले अर्थोत्कर्ष र अर्थान्तरको अवसर पाएका छन् ।

नेपालको राजनीतिक मालायज्ञमा आएर परम्परागत वेदान्त दर्शनले पनि नयाँ आयाम पाएको छ । व्रह्म सत्यम् जगन्मिथ्या अव सत्ता सत्यम् अरु मिथ्या मा रुपान्तरित भएको छ । राजनेता कार्यकर्ता सौ सत्ताव्रह्मको उपासनामा तल्लीन देखिएका छन् । शक्तिकेन्द्रहरूको कहिले दक्षिणवर्त त कहिले वामावर्त प्रदक्षिणा गरेर गणेशपुराणका विनायक वरनायक बन्न आतुर देखिएका छन् ।

दशकौंदेखि सत्तमा रहेर दे खाइआएका कांग्रेसीहरू त यसै उसै मोटाघाटा छन्, हुनेखाने छन् । कम्युनिष्टनेता कार्यकर्ता पनि वर्गसंघर्ष खाएर यथेष्ट मोटाएका छन् । नव धनाढ्य बनेकाछन् । मुलुकमा जातीयता र क्षेत्रीयताको डढेलो चट्चटाएको छ । हात्तीहरू सिंहदरबारको शीतलचौपारीमा उभिएर आफ्नै करामतको जात्रा हेरिरहेका छन् । चौपारीमा जात्रा हेर्ने सुविधा मात्र छैन । यहाँ सधैँजसो विभिन्न समारेहका माहौल जम्छन् । दिवाभोज र रात्रिभोजका आयोजनहरू हुन्छन् । आफ्ना पुरोहित र आफन्तहरूलाई तुलादान दिएर सुखी बनाउने समारोहहरू जम्छन् । सत्तासीनहरूबीच भव्यता, सम्पन्नता र विलासिताका माहौलहरू जम्छन् भने बाहिर जनताहरूबीच चौतर्फी अभाव, दरिद्रता, पीडा र हाहाकारका टीठ लाग्दा माहौलहरू जम्छन् । जमेका छन् । घर लडाएर कटेरा बनाउने र आँगन काटेर चौका बनाउने जातीयता र क्षेत्रीयताका विविध अनुष्ठानमा दीक्षितहरू आन्दोलन उचाल्नमा जमेर लागिपरेका छन् । मुलुक सेता, काला, खैरा र राता धमिरा जुटेर धोत्रो पारेको रुखजस्तो बनाइएको छ । नाना नामधारी हात्तीबथानका हात्तीनायकहरू आफ्आफ्ना नवराजलाई माला पहिराएर राजा बनाउन र दिवाभोज रात्रिभोज आयोजना गरेर मुलुकलाई कवाफ बनाउनमा तँछाड मछाड गरिरहेका छन् ।

सवैभन्दा गौरव गरिने उल्लेखनीय प्रसंग आज केछ भने एक्काइसौं शताव्दीमा आइपुगेर पनि हामीकहाँ हात्तीले माला पहिराएर नवराजलाई राजा बनाउने स्वस्थानीको युग बाँकी नै ।हामी आज पनि पुराणकै काखमा छौं ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad