साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यशोदाको कृति ‘अस्वीकार’ लोकार्पण

Nepal Telecom ad

काठमाडौँ, १७ माघ । कवि तथा पत्रकार यशोदा अधिकारीको कविताकृति ‘अस्वीकार’को सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले लोकार्पण गर्नु भयो । मन्त्री राईले मुलुकलाई विभाजित गर्ने, सामाजिक सद्भाव भड्काउने र एकअर्कालाई जुधाउने प्रयास कहीँ कतैबाट पनि नहोस् भन्नेमा जोड दिनुभयो । उहाँले विगतको गन्थनमा मात्र नलागी नयाँ सोच, उत्साह र इच्छाशक्ति लिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि र विकासको पथमा लैजान सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री राईले राज्यले साहित्य एवम् कला क्षेत्रलाई उचित सम्मान दिन नसकेको भन्दै वर्तमान सरकारले यस क्षेत्रलाई राष्ट्रिय उद्देश्यसँग जोडेर अगाडि बढाउन चाहेको बताउनुभयो । कस्तो देश निर्माण गर्ने भावना समेटिएको सिर्जना स्रष्टाहरूबाट आउनुपर्ने उल्लेख गर्दै उहाँले सिर्जनाले भविष्यलाई स्पष्ट दिशानिर्देशन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

लोकार्पित कवितासङ्ग्र्रहमा नेपाली राजनीति, राजनीतिकर्मीको सुझबुझ र अवस्था तथा मुलुकको समग्र चित्रणका साथै महिलाको पीडा र भोगाइ एवम् यथार्थको चित्रण गर्दै समग्र महिला वर्गलाई समान हैसियतका साथ अगाडि बढ्न सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा एकीकृत नेकपा (माओवादी)का प्रवक्ता एवम् लेखक दीनानाथ शर्माले कृतिले सामाजिक अन्याय, विकृति विसङ्गति एवम् महिलाप्रति गरिने विभेदको चित्रण गरेको उल्लेख गर्नुभयो । कृतिको समीक्षा गर्दै कवि देवी नेपालले आन्तरिक सङ्गीत चेतनायुक्त कविताको राम्रो उदाहरण ‘अस्वीकार’ रहेको उल्लेख गर्दै कृति सकारात्मक चिन्तन र सामाजिक कुरीति विरुद्धको राम्रो उदाहरण रहेको बताउनुभयो । नारी चेतना, जागरण एवम् कलमजीवीको नियति, काठमाडौँ उपत्यकामा डेरामा बस्नेहरूको दैनिक जीवनलाई कवितासङ्ग्रहले समेटेको छ भन्दै कवि नेपालले गाउँहरू रित्तिँदै गएकोप्रति समेत कवितासङ्ग्रहले उद्घाटित गरेको उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झा, साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र साहित्यकार हरिमाया भेटवालले कृतिले नेपाली समाजमा जनचेतना जगाउने विश्वास व्यक्त गर्नुभयो ।

कृतिका स्रष्टा अधिकारीले घर व्यवहार र सञ्चारकर्म तथा अन्य सामाजिक र वैचारिक काममा संलग्न हुँदाहुँदै आफू कविता कर्ममा लागेको बताउनुभयो । वरिष्ठ कवि पूर्ण विराम र जयन्ता पोखरेलले कवितासङ्ग्रहकाे शीर्ष कविता र ‘बरफ जमेका बेला’ शीर्षक कविता वाचन गर्नुभएको थियो ।

अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन्सद्वारा प्रकाशित सो कवितासङ्ग्रहमा ६३ वटा कविता समावेश गरिएको छ । यसअघि उहाँका बालसाहित्यसमेत गरी तीन कृति प्रकाशन भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x