साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खित्का

Nepal Telecom ad

१. जादु

जादु हेर्ने हो ? हेर्ने हो भने पेट्रोलियम पदार्थ हेरौँ । भारतबाट पेट्रोलियम पदार्थ भित्रिएको भित्रियै छ । तर, देशभित्र अभावै अभाव छ । फुमन्तर गरेर पेट्रोलियम गायब हुन्छ । त्यति ठूलो परिमाणको तेल कहाँ अलप हुन्छ ? आयल निगमको खातामा बिक्री भएको देखिन्छ तर बजारमा हाहाकार हुन्छ । ल विचार गरौँ, यो कसरी सम्भव हुन्छ ?

विचार गर्नु भो ? यसको रहस्य पत्ता लाउनुभो ? पत्ता लाउनुभो भने चुप लागेर बस्नुस्, पत्ता लाउन सक्नुभएन भने पनि चुप लागेर बस्नुस् । किनभने, यो जादु हो, जादुको असली रहस्य बताउन मिल्दैन । जब बताइन्छ, त्यो जादु नै रहँदैन ।

यति गजबको जादु गर्ने जादुगर झन् कस्ता होलान् ? जादुगर चिन्न मन लाग्यो ? साधारण जादुगरले मात्रै फुटपाथमा उभिएर जादु देखाउँछन् । यति महान् जादु गर्ने जादुगर पर्दापछाडि बस्छन् । फेरि, जादुगर एक जना मात्रै भए पो चिन्नु, सयौँ छन् र ती महान् छन् । यी महान् जादुगरहरू मिलेर एउटा जादु देखाइरहेका छन्, त्यो जादुको नाम हो– ‘पेट्रोलियम गायब ।’ अनि, यो जादु त्यतिबेला सकिन्छ, जतिबेला जादुगरले पैसा कमाइसक्छ ।

२. ओली र मोदीले मीत लाएपछि

ओली हाँस्नुभो, मोदी नाच्नुभो । ओलीले हात मिलाउनुभो, मोदीले गला मिलाउनुभो । मोदीले भन्नुभो, ‘हाम्ले नाकाबन्दी गरेकै थिएनौँ ।’ ओलीले थप्नुभो, ‘ठीक भन्नुभो, नाकाबन्दी थिएन, मुखबन्दी थियो ।’ मोदीले भन्नुभो, ‘तपाईंको मुख खुलै छ, कसरी मुखबन्दी भन्नुभो ?’ ओलीले ङिच्च दाँत देखाएर भन्नुभो, ‘ठट्टा गर्या नि !’ ओलीका दाँत हेर्दै मोदीले सोध्नुभो, ‘दाँत माझ्नुहुन्न ?’ ओलीले मुख बन्द गर्दै भन्नुभो, ‘यताबाट लाल दन्तमन्जन जान बन्द थियो, त्यसैले दाँत पहेँलो भो ।’ मोदीले सोध्नुभो, ‘किन जान बन्द भो ?’ ओलीले भन्नुभो, ‘तपाईंको नाकाबन्दी थियो ।’ मोदीले त्यसपछि नाकमा हेर्नुभो र भन्नुभो, ‘तपाईंलाई त्यसबेला रुघा लागेको थियो, त्यसैले नाकबन्दी भो ।’ यस्तै यस्तै भो, दुई मित्रको भेटमा आनन्द भो । ओलीले हँसाउनुभो । मोदी पनि के कम ! उहाँले पनि हँसाउनुभो !

मोदीले भन्नुभो, ‘हामी कति धेरै मिल्छौँ है ? हामी दाजुभाइ हौँ ।’ ओलीले भन्नुभो, ‘दाजुभाइ रे ? दाजुभाइ त झगडा गर्छन्, हामी त मीत हौँ ।’ त्यसपछि ओली र मोदीले निधार ठोक्काउनुभो । मोदीको निधारको टीका ओलीको निधारमा पनि सरुवा भो । ओलीले सोध्नुभो, ‘मीतज्यू, अब मलाई रुघा लाग्छ कि लाग्दैन ?’ मीतज्यू बोल्नुभो, ‘अहा, अब लाग्दैन ।’ ओलीले पत्याउनुभो । क्या मजा भो ।

सारमा, भ्रमणको उपलब्धि के भो त ? खासमा अब देशलाई रुघा नलाग्ने भो !

३. हार कसको ? खल्तीको !

‘यो जित कसको ?’ फुटबल जितेपछि विपक्षी टिमले यस्तो नारा लगाउँथ्यो । हार्ने नेपाली टिमका कतिपयले चाहिँ नाराको जवाफमा मनमनै नारा लगाउँथे, ‘मेरो खल्तीको !’ अर्थात्, नेपाली टिमले हार्ने तर टिमका कतिपयको खल्तीले चाहिँ जित्ने ! हार्नेहरू कतिपय खिन्न अनुहार र पोटिलो खल्ती बनाएर स्वदेश फर्कंदा रै’छन् ।

त्यसबेला पनि नेपाल फुटबल च्याम्पियन, अहिले पनि च्याम्पियन । पहिले हारेर च्याम्पियन, अहिले जितेर च्याम्पियन । नेपाली टिमले यति गोल खाने भनेर अगाडि नै मेलोमेसो मिलिसकेको हुन्थ्यो । र्याङको ठ्याङ फरक नपारी गोल खान्थ्यो । अनि, विपक्षीले पनि तोकेजति गोल ठोक्न पाउँथ्यो । लाए अह्राए अनुसार केही फरक नपारी खेल्नु र गोल खानु सानो क्षमता हो त ? च्याम्पियन क्षमता हो । अरूले जितेर पुरस्कार कुम्ल्याउँथे, हाम्रा कतिपयले चाहिँ हारेर पनि पुरस्कार थाप्थे ।

यसपाला सागमा नेपाली टोलीले साग खाएन, बरू लड्डु खायो । नेपाली खेलाडीहरू ड्याम् कि ड्याम् गोल ठोकेर विजेता बने । अरूलाई जितेको भए पनि एउटा कुरा, भारतलाई नै जिते । उसलाई जित्दा हाम्लाई विशेष खालको मजा आउँछ है ? साग जितेपछि देशभरि नारा गुन्जँदैछ, ‘यो जित कसको ? नेपालको !’ अब यसमा अर्काे नारा पनि थप्नपर्यो, ‘यो हार कसको ? खल्तीको !’

नेपाल, फाल्गुन १४, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x