सुलसुलेभण्डारीलाई अक्षरयात्रा प्रतिभा पुरस्कार
पोखरा, ६ चैत २०७२ । साहित्यकार जीवनसागर भण्डारीलाई यस वर्षको ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले एक दशकदेखि प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको साहित्यिक अभियान ‘अक्षरयात्रा’ मार्फत् गरेको साहित्य कर्म र सिर्जनशीलताका आधारमा यो वर्षको प्रतिभा पुरस्कार भण्डारीलाई प्रदान गर्न लागिएको हो ।
गजलकार प्रकट पंगेनी ‘शिव’ संयोजक र दीपक समीप, ईश्वरमणि अधिकारी र गजल सन्ध्या पोखराका अध्यक्ष बिर्सना बस्नेत तथा नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा सदस्य रहेको प्रतिभा छनौट समितिले भण्डारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । चैत महिनाको तेस्रो शनिबार ढिकुरपोखरी–४ मा हुने एक सय २८ औं अक्षरयात्रामा भण्डारीलाई नगद, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिने सन्ध्याका अध्यक्ष बस्नेतले जानकारी दिइन् ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नारा लिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै देशका विभिन्न ठाउँमा अक्षरयात्रा हुँदै आएको छ । भरतपोखरीमा जन्मेर पोखरामा लामो समयदेखि साहित्य र गीत–सङ्गीतमा क्रियाशील भण्डारी लामो समयदेखि पोखरेली साहित्यमा क्रियाशील छन् । पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका भण्डारी कविता, गजल, मुक्तक, कथा, गीत लगायतमा कलम चलाउँछन् ।
साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा स्थापित पुरस्कार गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले सञ्चालन गर्दै आइरहेको छ । यो पुरस्कारद्वारा यसअघि प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा र सरला लामिछाने पुरस्कृत भइसकेका छन् ।
–अमृत गुराँस
Subscribe
Login
0 Comments
Oldest












































