प्रभाती किरणनयाँ वर्ष
झरेर हिमगङ्गाले, मधेस भिज्नुपर्दछ ।
पुगी मधेस कर्णाली, अभाव मेट्नुपर्दछ ।
झुक्दैन शिर यो हाम्रो, चुलिन्छ हिमशैलझैँ
रोकिन्न पाइला हाम्रो, चालिन्छ अविराम नै ।
जाजरकोट पुगोस् थारु, जीवनजल खुवाउन
सिराहा सप्तरी ज्यापू, मैत्री भाव जगाउन ।
मधेसीले ठोकून् डम्फु, झिँझिया नाच्न बाहुन
लिपुलेक पुगोस् सिङ्गै देश नारा लगाउन ।
गाउँ भेटिन्न पाखामा, पालो कुर्दै विमानको
खोज्दै छ परदेशमा, गर्जो साँझ बिहानको ।
सुस्ता च्यापेर छातीमा, खारा रुँदै छ धर्धर
खुर्दलोटन हाँसेर, भन्छ देश कहाँ छ र ?
नयाँ दिन नयाँ साल, नयाँ होस् क्रान्तिचेतना
ब्युँझाई लोकको निद्रा, पर्दछ देश लम्किन ।
माटो हाँस्न सके मात्र मुटु हाँस्छ निरन्तर
पछौटे हैन चाहेको, देश होस् आत्मनिर्भर ।
साझा हो देश यो भन्ने, बनाओस् संविधानले
त्यागले देश बन्ने छ, बन्दैन अभिमानले ।
झुल्के घामसँगै जाग्छन्, मान्छेका कति चाहना
ओर्लिन्छ जून बेँसीमा, बाँडेर शुभकामना ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































