सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वास्थ्यको राजनीति

Nepal Telecom ad

नेपालका राजनीतिज्ञहरू स्वस्थ राजनीति गर्छन् अथवा गर्दैनन्, यसमा प्रशस्त वाद–विवाद हुनसक्छ । मतलव, वाद कम र विवाद बेसी । यससम्बन्धमा केही विवाद खडा गर्ने एकजना मै हुँ । वास्तवमा मेरा एकाध डाइरेक्ट सबालहरू रहेका छन् । अरूहरूका पनि होलान् । अन्यका विषयमा मैले आधिकारिक ढंगले केही भन्न नमिल्ने भएकाले म आफ्नै कुरा गर्छु र मेरो भन्नु के हो भने हाम्रा स्वनामधन्य नेताजीहरू आफ्ना राजनीतिक क्रियाकलापमा बलात् स्वास्थ्यलाई किन घुसाउँछन् हँ ?

यसको सबैभन्दा पछिल्लो उदाहरण भएर नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा देखापरेका छन् । यद्यपि उनको मौजुदा स्वास्थ्यलाई केही भएको छैन । उनी बिल्कुलै स्वस्थ छन् । तर, उनकी प्रिय पत्नी आरजु देउवाको स्वास्थ्य यथावत् छैन । यसकारण उपचार गराउने सिलसिलामा श्रीमान् श्रीमती देउवा मुलुकबाहिर प्रस्थान गरेका छन् ।

अब नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा र श्रीमती आरजु देउवा उपचार गराउन कता, कुन स्थानमा र कहाँ गएका (अथवा पुगेका) छन् भन्ने प्रश्न नै फजुल छ । किनभने नेपालका राजनीतिक नेताहरू यसो गाथमा केही छुस्स हुनेबित्तिकै उपचारार्थ सोझै छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्लीतिर बेतोडले दगुर्ने गर्छन् । चाहे त्यो वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली होउन अथवा स्वयंघोषित मधेसी नेता राजेन्द्र महतो (हरू) । हाल नेपाली कांग्रेसका शेरबहादुर देउवाले पनि यही गरेका हुन् ।

अरू के त ? तर होइन, यो धेरै पहिलेदेखि चलिआएको परम्परामा उनले एउटा नयाँ इँट थपेका छन् । अर्थात् फरक आकार र वजनको इँट । मेरो भनाइको आसय के हो भने यस परिप्रेक्ष्यमा शेरबहादुरजी अचम्मैले रोगी देखिएका छैनन् । याने प्रत्यक्ष रोगी (शारीरिक हिसाब–किताबले) ।

अपितु उनकी सांसद श्रीमती माननीय आरजु देउवाको स्वास्थ्य बिग्रिएको छ । देउवा त स्वस्थ नै छन् । अझ आफ्नै कांग्रेसी साइडका प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पछारेर उनी नेपाली कांग्रेस पार्टीका सभापति भएका छन् । त्यसमाथि भर्खरै संसदीय दलको नेताको निर्वाचनमा पनि मजैले बाजी मारेका छन् । यस्तो डबल विजेताको स्वास्थ्य कसरी खराब हुनसक्छ ? त्यसैले नेपाली कांग्रेसका सर्वाेच्च नेता शेरबहादुरजी भयंकर स्वस्थ रहेकोमा कुनै शंका छैन ।

नेपालका राजनीतिज्ञहरूलाई उपचारको सिलसिलामा छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्ली पुग्न आफैं अस्वस्थ हुनुपर्छ भन्ने केही छैन । यो नितान्त नवीन सत्य–तथ्यलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहजै प्रमाणित गरेर देखाइदिएका छन् ।

उनकी श्रीमती हिन्दुस्थान पुगाइको राजनीतिक आयामलाई साक्षी राखेर भन्ने हो भने यस निम्ति अर्थात् यस प्रकारको स्वास्थ्य भ्रमण गर्न नजिक (अथवा टाढाकै) को कुनै नातेदार रोगी भए पुग्छ । जस्तै सासू, ज्वाइँ, ससुरा, जेठान, छोरी, साला, जेठानी, साली, छोरा, मामा, बुहारी, माइजू, काका, भतिजा, काकी, भिनाजु, भान्जा, दिदी, भान्जी, भतिजी इत्यादि । अझ यसमा पनि अर्धांगिनी नै अस्वस्थ भए झन् खास्सा हुने नै भयो । जस्तो, अहिले शेरबहादुरजीको सन्दर्भमा भएको छ । उनको आधा अंग नै रोगी भएपछि उपचार गराउन कतै न कतै जानु परेन त ? अब छिमेकी मुलुक हिन्दुस्थानको राजधानी नयाँदिल्लीको अस्पतालभित्र बाहिर उपचारको उत्तम व्यवस्था भएकाले त्यता जानु परेको हो । यो स्वास्थ्यमिश्रित राजनीतिको गाँठी कुराबाट वरिष्ठ कांग्रेसी नेता शेरबहादुर अबुझ हुने कुरै छैन ।

अन्त्यमा
नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको स्वास्थ्यको राजनीति स्वस्थ हो या होइन भन्नेमा मेरो विवाद कायमै छ । जे होस् उनकी अर्धांगिनी श्रीमती आरजु देउवाको सुस्वास्थ्यको कामना गर्दै म बिदा लिन्छु ।

नेपालका राजनीतिक नेताहरू यसो गाथमा केही छुस्स हुनेबित्तिकै उपचारार्थ सोझै नयाँदिल्लीतिर बेतोडले दगुर्ने गर्छन् ।

कान्तिपुर, वैशाख ११, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा