सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रपतिबाट तेह्र जनालाई प्रज्ञापुरस्कार

Nepal Telecom ad

काठमाडौं जेष्ठ ५, २०७३ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र तथा दर्शनशास्त्र विधामा योगदान पुर्याएका १३ जना साधकलाई प्रज्ञा पुरस्कार प्रदान गर्नु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।

प्रज्ञा प्रतिष्ठानबाट हरेक दुई वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा–भाषा पुरस्कार’ पाउनेमा भाषाशास्त्रीद्वय प्राध्यापक माधवप्रसाद पोखरेल र प्राध्यापक नोवलकिशोर राई हुनुहुन्छ । सामाजिकशास्त्र, संस्कृति र दर्शन पुरस्कारबाट राजेन्द्रप्रसाद विमल र जगमान गुरुङ हुनुहुन्छ । पुरस्कारको राशि जनही १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

त्यसैगरी हरेक वर्ष प्रदान गरिने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’बाट दधिराज सुवेदी, गीता केशरी र नरेशकुमार शाक्य हुनुहुन्छ । पुरस्कारको राशि जनही १ लाख रुपैयाँ रहेको छ । त्यस्तै, वार्षिक रुपमा प्रदान गरिने ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’बाट लिम्बु भाषाका येहाङ लाओती, नेपालभाषाका प्रतिसरा साय्मि, चाम्लिङ भाषाका गडुमान राई, थारु भाषाका महेश चौधरी, अवधी भाषाका सच्चिदानन्द चौबे र राजवंशी भाषाका फुलसिंह राजवंशीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

भाषा पुरस्कारबाट सम्मानित पोखरेलका नेपाली भाषा व्याकरण, निबन्ध, भाषाविज्ञान विधाका आधादर्जनभन्दा बढी पुस्तक कृति प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक पोखरेलले दुई दर्जनभन्दा बढी कृति अनुवाद र सम्पादन गर्नु भएको छन् । जर्मनीका लागि पूर्वराजदूत समेत रहनु भएका भाषाशास्त्री राईको बान्तावा व्याकरण र शब्दकोश, जर्मनी उखान नेपाली अनुवाद कृति प्रकाशित छन् । सामाजिक शास्त्र तथा दर्शनशास्त्रतर्फ पुरस्कृत विमलका मैथिली भाषामा दर्जन कृति प्रकाशित छन् भने विभिन्न कृति अनुवाद तथा सम्पादन गर्नु भएको छ । संस्कृति र ज्योतिषशास्त्रमा दखल राख्ने गुरुङको गण्डक क्षेत्र र नेपालको दिग्दर्शन सम्बन्धी कृति प्रकाशित छन् । त्यस्तै, नेपाली साहित्य समालोचनामा जमेका सुवेदीका आधा दर्जन समालोचना कृति तथा सम्पादित पुस्तकहरू प्रकाशित छन् । आख्यानकार गीताकेशरीका दर्जन उपन्यास र तीनवटा कथासंग्रह प्रकाशित छन् । कवि शाक्यका दुई कवितासंग्रह प्रकाशित छन् ।

मातृभाषातर्फ पुरस्कृत लाओतीले लिम्बु र नेपालीका दुई कृति, नेपालभाषामा साय्मिका तीन कृति, राईको चाम्लिङ भाषा र संस्कृतिका दुई कृति छापिएका छन् । त्यस्तै, चौधरीका थारु, नेपाली र अंग्रेजीका गरी दर्जन कृति, चौबेको अबधीमा तीनकृति र राजवंशीका पाँचकृति प्रकाशित छन् ।

पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले हिमाल, पहाड र तराईको भौगोलिक, सांस्कृतिक, जैविक विविधतामा देशको पहिचान अडिएको बताउनु भयो । नयाँ संविधानल सबै जातजाति, भाषाभाषीलाई न्याय र समानतामा बाँधेको उल्लेख गर्दै कर्तव्यपथमा समर्पित प्रतिभाहरूलाई सम्मान प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले स्वाभिमानको सेवा गर्नेलाई सरकारले हौसला प्रदान गर्न पुरस्कृत गरेको बताउनु भयो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति विष्णुविभू घिमिरे र सदस्यसचिव प्राध्यापक जीवेन्द्रदेव गिरीलगायतले नेपाली वाङ्मय साधक र सिर्जनाका बारेमा विचार व्यक्त गर्नु भएको थियो ।

–गणेश राई

Fitkauli Publication Books comming soon
Nepal Telecom ad