उत्तम विचारम बाहुन
म बाहुन
जनैमा झुण्डिएर मर्नु पर्ने,
तेस्रो श्रेणीको अनारी छामेर
गिज्याउनु पर्ने
आफ्नै प्रथम श्रेणीलाई
किनकि मेरोलागि यो श्रेणी नपुङ्षक श्रेणी ठहरिएको छ ।
आफ्नो अनुहारमा
माक्र्सवादको लिउन घसेका मित्रहरू
डलरले किनेको उफरमा घन्काउँछन्,
जातियताको कर्कष सङ्गीत
जसअनुसार गुथ्नु पर्छ मैले–
काउसो जस्तो,
शासकको पगरी
जुन मेरालागि सिसिफसको कथाजस्तै छ ।
भो मलाई शासक हुनु छैन
तिमी शासन गर र अधिकार देऊ
आफ्नै भूगोलले थिचिएका,
दृष्टि विहीन सिंदरबारले कुल्चिएका,
अशिक्षाले पिल्सिएका,
कर्णालीका सुन्दर फूलहरूलाई
अनि तिमी शासन गर्ने सीमाना जोगाइ बसेका,
हिमाली सुगन्धलाई ।
समानताको तराजुमा
मित्रहरूले धार्नी उचाल्ने पाखुरो जोख्दा
म पृथ्वी उचाल्ने टाउको जोख्छु
किनकि म टाउको टेकेर हिँड्न खोज्ने बाहुन हुँ
हो, हामीबीच फरर यत्ति हो ।
म बाहुन
यथार्थ धरातल बनाइएका भ्वाङहरू पुर्दै
स्वाभिमान खाएर
ओकल्छु अङ्गारजस्तो यथार्थ
र, बनाउँछु
ओथारा बसेकी कोइलीको चित्र ।
ए, नाकको नापो लिएर
लगौटी सिलाउने मेरा मित्रहरू
आफ्नो हैन,
देशको पहिचान खोज
नत्र जाऊ
तिमीले बोकेको माक्सवादको झण्डा लिई
राजतन्त्रको चिहानमा पुर
र शासन गर जातियताको ।
म बाहुन
जितेर पनि हार्नुपर्ने जन्तु
मात्र काम लाग्ने भएँ–
शासनको नाम लेखाएर,
भोकै मर्न ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































