माधव पोखरेल गोज्याङ्ग्रेढुङ्गाहरूको मेला
ढुङ्गाहरूको मेला
भो, हृदय भएकाहरू नआऊ
मैले यहाँ ढुंगाहरूको मेला लगाएको छु ।
आँसु जमेर बनेका हुन् यी ढुंगाहरू ।
यहाँ किचिन सक्छन् असङ्ख्य मृदु सपनाका मुनाहरू
नउम्रिन पनि सक्छन्, रहरका नवीन वसन्त–बिउ ।
हुन त यी ढुङ्गाको आफ्नै गाथा नभएको कहाँ हो र ?
टेक्दैटेक्दै यस्तै ढुंगाको छातीमा
क्षीर तरेर लंका पुगेथ्यो सुग्रिवको सेना,
यसैभित्र त छ
गौतमीको सतित्वको महात्म्य
यिनै ढुंगाको जगमा उभिएको हो
मिश्रको आदिम गौरव– पिरामिड
यिनैलाई टेकेर सिकन्दरले तय गरेका हुन्
रगतको साम्राज्य ।
यहीँ टेकर त अगाडि बढेका थिए
समुद्रगुप्त र पृथ्वीनायारणका शाही काफिला ।
सधैँ आँसु रोइरहने सरमाथालाई पनि थाह छ,
सरगमाथा भन्नु, सारमा, पत्थर भन्नु नै हो ।
यिनै अचल शिलाहरूमाथि
नदीले कोर्रा हानीहानी लेखे
आफ्ना वाचाल इतिहासहरू
नदी बगेर जान्छन्, कहाँ कहाँ,
पछिसम्म रहने त यिनै ढुङ्गामा मुद्रित नदीगीत न हुन् !
शिलाजितले आफ्नो विजयको गाथा लेख्यो
यिनै पत्थरहरूमाथि
कापकापबाट यिनीहरूकै, उम्रियो पीपल र भगवान् बन्यो ।
यी सबैसबै यात्रामा
विजयका, देवत्वकरणका
खै कोको अमर भए
त्यो थाह भएन ।
तर, छाती केवल फुट्यो यिनै ढुङ्गाहरूको
बस्, आएको थिएन आवाज,
कसैले सुनेन त्यो एकान्त गीत ।
आँसु जमेपछि,
आँखामा बास माग्न आउने यी ढुङ्गाहरू
मेरा जन्मँदै मर्दै गरेका
असङ्ख्य स्वप्नतरेलीका प्रिय साक्षी जो हुन् !
हो, मलाई यिनीहरूको माया
भर्खरैको भुइँचालोमा ढली गएको
मेरो जन्मघरको जत्तिकै लाग्छ ।
हृदय भएकाहरू नआऊ
मैले यहाँ ढुङ्गाहरूको मेला लगाएको छु ।
Subscribe
Login
0 Comments
Oldest






































