विश्व विनोदबैशालु टाटुसँग कुराकानी

अहो, मेरो ढाड, नाइटो, कम्मर र पाखुरामा खोपिएको टाटु पनि खुस्खुसाएर बोल्न थाल्यो । {{read_more}} म अचम्मित भएँ, अनि टाटुका प्रश्नहरू र गुनासोसँग म समाहित हुँदै दोहोरो सम्बादमा ब्यस्त हुन थालेँ । सायद सत्र अठार बर्षकी हुँदी हुँ मैले टाटु खोप्ने बेला । त्यो समय म भर्खर काठमाडौंमा जीवन धान्ने मनशायले भित्रिएको थिएँ । जीवन मात्र धान्ने त्यो शौख बाध्यतामा परिणत भयो । काठमाडौं कहाँ सोचेको जस्तो हुन्थ्यो र, मैले जीउ बेच्नलाई पनि टाटुले आफूलाई रङ्ग्याएर ती बारहरूमा नर्तकी बनेकी थिएँ । तिनै बेला खोपिएका टाटुले आज मसँग सम्वाद गरिरहेको छ ।
टाटु — मलाई उत्तर चाहियो किन टाटु खोपेकी थियौ ?
म — जीवनधान्नु पर्ने बाध्यता थियो, पेट भर्नको लागि टाटु खोप्नु पथ्र्यो
टाटु — टाटु खोपेपछि के हुन्थ्यो ?
म — म त्यतिबेला बैशले उन्मुक्त थिएँ, बारमा आएका युवाहरू झुमाउन र घुमाउन तिम्रै त प्रयोग गर्ने गर्थे ।
टाटु — आजकल किन यी टाटुमा मैले चुम्बनको अनुभव नगरेको धेरै भयो त, किन ?
म — हेर म बुढी भैसकेँ, आजकल बारमा नाच्न पनि सक्दिन अनि मेरो अनुहारको चाउरी बढ्यो अनि म पनि दाउरी भैसकेँ, यो बुढो छालामा को मुर्खले चुम्बन गरोस् ।
टाटु — आजकल किन अरुले मलाई फर्केर पनि हेर्दैनन् ?
म — सुन न मलाई पनि मनमा खड्केको कुरा यहि नै हो, सायद टाटुको उमेर पनि होला ।
म यतिउत्तर दिएर मनमनै बिगततिर फर्कन थालेँ । त्यो बेला यही टाटुमा आएर चुम्बन गर्ने ठिटाहरू निकै थिए । रातकी रानी बनाउन उद्यत लामो जमात हुन्थ्यो । लाईनमा राखेर, पर्खाएर उनीहरूको प्यास मेटाउने काममा म मग्न थिएँ । दिउँसो भर सुत्ने र बेलुकी पछि मेरो कमाईको लागि धन्दा शुरु हुन्थ्यो । म घर परिवारबाट टाढा भै सकेकी थिएँ । मलाई लाग्छ म आफ्नै घर बनाउँछु भनेर गाउँको घरबाट निस्केपछि अर्काको घरमा डेरमा थिएँ । यिनै टाटुको सहायताले बैंश पोख्ने गर्थे । यस्तो जमाना थियो मेरो महिनाबारीको दिनमा पनि ती ठिटाहरू ओछ्यान तताउन आईपुग्थे अनि इन्कार गर्दा पनि प्यास मेटेर जान्थे । आखिर यिनै टाटुको सहायतले मैले केही रकम जम्मा पनि गरिसकेकी थिएँ ।
फेरि टाटुको आवाज सुनेर मैले टाटुतर्फ नै ध्यान दिएँ ।
टाटु — ए, भन त, अनि किन त्यो धन्दा बन्द गर्यौ ?
म — एक दिनको कुरा थियो, मैले नाच्ने त्यो बारमा मेरो नाता पर्ने भाइ आए अनि मलाई नचिनेर नचाउन थाले, म अन्यत्र भाग्न कोशिस गरिरहेको थिएँ तर ऊ मभन्दा बलिष्ठ थियो । समातेर निकैबेर नचायो अनि मलाई आफ्नो पेशाप्रति घृणा जाग्न थाल्यो । आखिर स्तन हल्लाएर, कम्मर हल्लाएर, आँखा झिम्क्याएर अनि देहको संसर्ग गराएर कमाएको पैसाले पेट त भरिँदो रहेछ तर आफ्नै भाइहरू पनि त तिमी जस्ता टाटुको आवरणमा झुक्किएर झुम्मिन आउँदा रहेछन् नि ।
टाटु — अनि तिमीले त्यो बार कहिले छोड्यौ त ?
म — बार छोड्दा म कुमारी आमा भै सकेकी थिएँ । खै त्यो दिनको सामुहिक संसर्गबाट म गर्भवती भएकी थिएँ । उनीहरू को थिए, कहाँबाट आएका थिए म केही जान्दिनथिएँ, जब भुँडीको आकार बढ्दै गयो, तब बारमा मेरो आकर्षण घट्न थाल्यो अनि म नाच्न नसक्ने भएँ । अनि यो गर्भको बच्चालाई सुरक्षित जन्मको लागि पनि मैले त्यो बारलाई सदाको लागि छाडिदिएँ । बच्चा जन्म्यो पनि तर आज अपरिचित बाबुको सक्कली छोराले पनि मेरो टाटु देखेर भन्छ — आमा मलाई पनि टाटु खोपिदिनुहोस् न ।
अत्यासलाग्दो यो सपना देखेर म झसंग भएँ, आडैको छोरीले निन्द्रामा मेरो टाटु खोपिएको हात समातेर सुतिरहेकी थिई । म उसलाई सुम्सुम्याउन थालेँ । मेरा टाटु र बैस देखेँ म एक तमास आकाशका ताराहरू हेरी रहेँ अनि सोचेँ जिन्दगीका सपना पनि ती ताराहरू जस्तै असरल्ल भए अनि मेरा ती रातका संसर्गहरू पनि यिनै ताराहरू जति नै थिए कि गणना गर्ने हो भने ?
आँखाबाट अनायश आँसु झरेर छोरीलाई चिसो भएछ, चिसोेले छोरी उठी अनि मेरो आँखाको आँसु पुछिदिन थाली अनि भन्नथाली — आमा नरुनु म ठूली भएर हजुरलाई पाल्छु । म भने उसको भविष्य मेरो जस्तै हुने त हैन भनेर फेरि भविष्यको कुरामा घोत्लिन थालेँ । तारेमाम् ।
लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































