साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओलीको सपना

Nepal Telecom ad

 height=विगत सप्ताह बडो काव्यमय रह्यो । यसको कारण के हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक काव्य अनुष्ठान अन्तर्गत केही कविहरूलाई आकर्षक नगदसहित पुरस्कृत गर्यो । {{read_more}} र सम्भवतः यसैबाट प्रेरणा ग्रहण गरेर अर्को ठूलो सरकारी प्रतिष्ठान अर्थात् नेपाल सरकार पनि एकाएक सक्रिय भयो । यसको फलस्वरुप राजधानी काठमाडौंबाट दुई कवि गिरफ्तार भए ।

नेपाली साहित्यको नयाँ पुस्ताका कविद्वय संगीतश्रोता र रसुवाली कविको नामले परिचित ठाकुरप्रसाद तिमिलसिनाको हठात् गिरफ्तारीले तमाम कविहरू अतिव आक्रोशित भएका छन् । कहाँसम्म भने एक सरकारी कविले उत्तेजित भएर मसँग भने, ‘यो राम्रो भएन ।’
‘के राम्रो भएन कविज्यू ?’ मैले भनें ।
‘तपाईंलाई थाहै छ नि ।’
‘के थाहा छ, मलाई ?’
‘कविहरूका गिरफ्तारीमा सरकारको कुनै दोष छैन ।’ उनले भने, ‘यो झुक्किएर भएको हो ।’

मसँग सरकारी कविले कुनै गलत बयान गरिरहेका थिएनन् । यस सम्बन्धमा सरकारी अभिव्यक्ति ठ्याक्कै यही रहेको छ । दिवसको उज्यालोमा कविहरूका गिरफ्तारीपश्चात आएको विज्ञप्तिमा यस्तै उल्लेख रहेको छ । वास्तवमा कविहरू झुक्किएर समातिएका हुन् । र यसरी झुक्किएर समातिएको कुरा मलाई पनि राम्रै लाग्यो । कदाचित सरकार नझुक्किएको भए के हुन्थ्यो ? मेरो विचारमा जे पनि हुनसक्थ्यो । यसबखत त कविहरू फगत झुक्किएर समातिएका हुन् । के नराम्रो भयो ? अन्यथा हाम्रोसामु कवि कृष्णसेन ‘इच्छुक’ को ऐतिहासिक उदाहरण पनि टड्कारो रूपमा रहेको छ । त्यसबखत सरकार विलकुलै झुक्किएको थिएन ।

‘के सोचिरहनु भएको हो ?’ मलाई चुपचाप पाएर सरकारी कविले मुख खोले ।
‘केही होइन कविज्यू ।’ मैले भनेँ ।
‘मलाई सबै थाहा छ ।’
‘के थाहा छ ?’
‘तपाईहरू सरकारलाई त्यसै आलोचना गरिरहनुभएको छ । ‘सरकारी कविको क्रोध जारी थियो, ‘यो विरोधको कुनै अर्थ छैन ।’

सरकारी कविले जेसुकै भने पनि कवि र कविताको कुरोमा सरकार झुक्किएकै हो त ? यो संगतिपूर्ण लागिरहेको छैन मलाई । हेर्नोस्, वर्तमान सरकार प्रमुख प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली स्वयम् एक कवि हुन् । र प्रधानमन्त्रीको कुर्सीमा आसिन भएकाले कविताको क्षेत्रमा पनि उनको सोही स्तरको हैसियत रहेको छ । एक प्रकारले उनी आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का कवि कमरेड झलनाथ खनाल परम्पराका प्रधान (मन्त्री) कवि हुन् । याद रहोसे, कवि झलनाथ खनाल भूतपूर्व प्रधानमन्त्री हुन् । र दुवै प्रधान कविहरूमा तात्त्विक अन्तर के रहेको छ भने वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको कवित्वले कविवर माधवप्रसाद घिमिरेबाट अनुमोदित हुने सुनौलो अवसर पाएको छ ।

कवि ओली प्रधानमन्त्री हुनुभन्दा अघि परमानेन्ट ‘राष्ट्रकवि’ घिमिरेको लैनचौरस्थित निवासथानमा कविता सुनाउन जाने गर्थे । त्यहाँ उनले के–के कविता सुनाए, त्यो मलाई थाहा भएन । तर हिमवत् खण्ड साहित्य सम्मेलन, चन्द्रागिरिमा कवि खड्गप्रसाद शर्मा ओलीले तात्तातै लेखेर सुनाएको कविता तल दिइन्छ ।

‘परिवर्तनशील दुनियाँमा
सधैं बाँचेको को छ र
बाँचुन्चेल हो जिन्दगी
मर्नु त छँदैछ
मरे पनि केही छैन
त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी
मेची, महाकाली
हाम्रा लहलह खेत, बारी
झपक्क कान्ला र आली
यो पनि सपनामा
भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको
देख्न पाउँ
मरे पनि केही छैन
त्यसपछि पनि सपना देख्न पाउँ ।’

यस्तो मृत्युपश्चात पनि सपनाको हार्दिक कामना गर्ने कवि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली कविहरूका मामलोमा झुक्किन सक्छन् त ? अहँ, यो कदापि सम्भव छैन । अतः उनी एक सच्चा एवं सजग कवि भएकोमा कुनै शंका छैन । म कवि ओलीको सपनाको पक्षमा दह्रोसँग उभिएको छु । यो एक असाधारण सपनावादी कविता हो । किनभने मरेपछि सपना देख्ने अलौकिक इच्छा व्यक्त भएको छ, यसमा । यस विषयक मेरो व्यक्तिगत ज्ञान त्यति परिपक्व नभएकोले म उनको जीवितावस्थाको सपनाबारे थोरै सामान्य जिज्ञासा राख्ने अनुमति चाहन्छु । हँ, आजभोलि हाम्रा कवि प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली आफ्नो नितान्त निजी सपनामा के देख्ने गर्छन्– झापा आन्दोलन ? महाकाली सन्धि ? शहिद रत्नकुमार वान्तवा ? होली वाइन ? हँसिया–हथौडा ? वाइडबडी जहाज ? कार्ल माक्र्स ? राजा महेन्द्र ? जनवाद ? गुगल ब्वाय ? रातो झण्डा ? आइफा अवार्ड ? वर्ग–संघर्ष ? कमरेड दीपक मनाङे ???

कान्तिपुर, असार २१, २०७६ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x