कलानिधि दाहालकविहरू पागल हुन्छन !
कविहरू पागल हुन्छन ?
प्रकृतिको अनुपमता लेख्छन,
सुन्दर पहिरनमा सजिएकी महिलालाई,
कवितामा सर्वाङ्ग नाङ्गो पनि देख्छन्,
त्यसैले कविहरू पागल हुन्छन् ।
कहिले बादलुको घुम्टोमा हराउँछन्,
कहिले धर्तीको गर्व भित्र बिलाउँछन्,
हरेक काल खण्डसँगै नेपथ्यबाट कराउँछन्,
परिवर्तनको लहरमा सँग–सँगै लहराउँछन्,
अनि कहिले त दहिचिउरे स्वभाव फर्फराउँछन्
त्यसैले कबिहरू पागल हुन्छन् ।
असामान्य चिजमा पनि कल्पिन्छन्,
सित्तैमा साईलीको भट्टितिर पल्किन्छन्,
र नसाको सुरमा कति ओटीको आत्मा चिथोर्छन्,
अनि फरिया, चोली कुर्ता सलवारसम्म बिथोल्छन्,
फेरि भन्छन्–
हामी कवि नभई दिएको भए सुन्दरताको के अर्थ ?
स्त्रीलाई सजाउने हामी, प्रकृतिमा रमाउने हामी,
हामी नभई दिएको भए तिमी र तपाई शब्द नै हुन्थेन ।
प्रकृति र महिलाको कल्पनामा लेख्नुको मजा नै बेग्लै,
अनि कविका श्रीमतीले कविलाई छोड्नुको सजा नै बेग्लै,
सायद उनी सही थिइन्,
दिन रातका मनोभावना,
कपोकल्पित बिचार र चाहनाहरू,
उनको ईच्छालाई गर्भे टुहुरो बनाएर,
शिर भन्दा ठुलो बोझको बज्रपात गराउँछन्,
त्यसैले उनी फेरि भन्छिन्–
कवि श्रीमानहरू साँच्चै नै पागल हुन्छन्,
अरुकै ईच्छा र चाहना मात्र कलमले बुन्छन्,
घरी–घरी,
एकान्तमा टोलाएर बाह्रखरी तुन्छन्,
साँच्चै नै कबिहरू पागल नै हुन्छन् ।
Subscribe
Login
0 Comments
Oldest






































