प्रेम ओली ढकलपुरेजय साम्यवाद !
नीति वामपन्थी
रिती दामपन्थी
जनता जोगी
नेता सुबिधाभोगी
नाम साम्यवाद
काम धनधान्यबाद
जय साम्यवाद ।
जनता हिँड्छन्
चप्पल ठोकी
नेता हेपिकप्टर बोकी
क्रान्ति गर्ने भनेको
यस्तै यस्तै हो कि
बिचार साम्यवाद
व्यवहार सामन्तवाद
जय साम्यवाद ।
कुरा हाँक्ने ठुला–ठुला
समाउने धनका पुला
जे जे भने त्यै त्यै मान्ने
हामी कस्ता मुला
घोडा खच्चर मुर्दावाद
पजेरो प्राडो जिन्दावाद
जय साम्यवाद ।
कन्फ्युजनका कुरा गरी
फ्युजन गर्ने बानी
अड्काउने हलो
पड्काउने गोरु
सत्ता छानी छानी
कला प्रगतिशील
शैली दुर्गतिशील
भन्ने साम्यवाद
मान्ने दाम्यवाद
जय साम्यवाद ।
कार्यकर्ताहरू उठे भने
जसरी हुन्छ थामथुम पार्ने
बिद्रोह गर्न जुटे भने
कसरी हुन्छ सामसुम पार्ने
हो कि साम्यवाद
पार्टी फुटिरहने
छैन थाम्यवाद
जय साम्यवाद ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































