लक्ष्मण गाम्नागेसिंहदरबारमा हास्यव्यंग्य कार्यक्रम
तीतो सत्य, जिरे खुर्सानी वा सिस्नुपानीहरूले गर्नेभन्दा कता हो कता उत्कृष्ट र बेजोडका हास्यव्यंग्य कार्यक्रमहरू सिंहदरबारभित्र भइरहन्छन्। भर्खरै सम्पन्न एउटा हास्य शृंखला साँच्चै रोचक, घोचक र मनोरञ्जक थियो। माननीय व्यंग्यकार अर्थमन्त्रीज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्रीज्यूसहित विभिन्न मन्त्रालयका सचिव, सहसचिव, विकास आयोजनाका प्रमुखहरूलगायत उच्च सरकारी अधिकारीहरूले आफ्ना व्यंग्य रचनाहरू सुनाएका थिए।
\’१५ करोडभन्दा ठूलो बजेटका ६८ आयोजनाको सातमहिने प्रगति समीक्षा\’ विषयक सो गोष्ठीको प्रारम्भमा अर्थ मन्त्रालयका एक वरिष्ठ व्यंग्यकारले विषय प्रवेश गर्दै विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूका काम तीव्र गतिमा भइरहेको बताएर सबैलाई हँसाए। आयोजनास्थल वरपिरि रूखका हाँगा काटिसकिएको, स्याउला पन्छाइसकिएको र झाडी फाँड्ने काम जारी रहेको उनले बताए। उनले भने, “हामीले दर्जनौँपटक हवाई तथा स्थलमार्गबाट आयोजनास्थलको परिक्रमा गरसिकेका छौँ। दर्जनौँ बैठक र सेमिनारहरू गरसिकेका छौँ। आयोजनाकै नाममा कयौँपटक विदेश भ्रमण पनि गरसिकेका छौँ। अबको तीन वर्षमा ती आयोजनाहरू सम्पन्न गर्नेछौँ। देश समृद्ध र सुखी हुनेछ। त्यसपछि यो देश देशजस्तो रहने छैन, विदेशजस्तो हुनेछ।
कार्यक्रमको विषयप्रवेश नै मनोरञ्जनपूर्ण र हास्यप्रदान भयो। सबैले ताली बजाए, हाँसे। पहिलो रचना प्रस्तुतिका लागि सहरी विकास मन्त्रालयका सचिव अघि सरे। “मेरो हास्यकथाको शीर्षक छ, मेलम्चीको पानी,” उनले त्यति मात्र के भनेका थिए, सरकारी उच्च अधिकारीहरू हल नै उचालिने गरी हाँस्न र टेबुल ठटाउन थाले। प्रमुख अतिथिको समेत धैर्यको बाँध टुट्यो। एक्कासि हाँसो फुट्दा उनले पिउँदै गरेको मिनरल वाटर सर्किएर नाकका प्वालबाट निस्कन थाल्यो। त्यो देखेर सहभागीहरू झन्झन् हाँस्न थाले। श्रष्टा सचिव अझ हौसिँदै हास्य रचना सुनाउन थाले, “आयोजना घोषणा भएको २० वर्ष पुग्दा नपुग्दै सम्पन्न हुन लागेको देख्दा हामीलाई हाँस उठ्नु स्वाभाविकै हो। २० वर्षमा ६ किलोमिटर सुरुङ खनिसकिएको छ, २१ किलोमिटर बाँकी छ। हाम्रो हिसाब अनुसार ६ किलोमिटर सुरुङ खन्न २० वर्ष लाग्छ भने २१ किलोमिटर खन्न २ वर्ष मात्र लाग्छ।”
हलमा हाँसो गुन्जियो। अर्थमन्त्रीले यो अनौठो गणितलाई पुष्टि गर्न निर्देशन दिएपछि सचिवले भने, “पहिला गल्ती भएछ। आयोजनामा यताउताबाट आउने बोनस हामीले मात्रै पाउने व्यवस्था गर्नाले आयोजनाको गति उल्टो दिशातिर लागेको रहेछ। यसपालि ठेकेदारलाई पनि बोनस दिउँला भनेर हामीले लोभ देखाएका छौँ। त्यसैले अब विक्रम सम्वत् २०७३ वैशाख १ गते बिहान घाम झुल्किनुअघि नै उपत्यकावासी जनताका धारामा मेलम्चीको पानी धरर झर्ने कुराको ग्यारेन्टी भएको छ।”
सचिवको हास्यकथा सुनेर हल नै हलचल हुने गरी हाँसो मच्चियो। सरकारी अधिकारीहरू आँखाबाट आँसु निस्किउन्जेल हाँसे। हाँस्दा हाँस्दै उच्च रक्तचाप भएका सचिव र अर्थमन्त्री मूच्र्छा पर्लान् जस्तो भएपछि उपत्यका खानेपानी लिमिटेडका प्रमुखले सबैलाई मिनरल वाटर छम्केर स्थिति साम्य पारे। ऊर्जासचिवले कविता सुनाउन अप्ठ्यारो माने। उनको अनुरोध अनुसार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक व्यंग्य रचना सुनाउन ठीक परे। उनले रचना सुनाउन मुख मात्र के बाएका थिए, बत्ती झ्याप्प निभ्यो। सभाहल अन्धकार भयो। सहभागीहरूले सिट्ठी बजाए, टेबुल ठोके र डल्लो परीपरी हाँसे। उनको प्रयोगवादी कथा त्यही थियो।
जेनेरेटर चालू गरेपछि बत्ती आयो। बत्ती आएपछि रचना सुनाउने पालो थियो प्रमुख अतिथिको। पुराना चर्चित व्यंग्यकार अर्थमन्त्रीले आफ्नो चर्चित हास्य कविता पढे :
६ महिनामा स्थानीय निर्वाचन, निर्वाचन, निर्वाचन एक वर्षमा संविधान, संविधान, संविधान काठमाडौँमा मेट्रो रेल फिलिली, फिलिली, फिलिली पूर्व-पश्चिम रेलमार्ग झिलिली, झिलिली, झिलिली।
प्रमुख अतिथिको कविता सुपरहिट भयो। सहभागीहरूले हुटिङ् गरेर \’वान्स मोर ! वान्स मोर !\’ भनेको भनेकै गरे। मन्त्रीजीले थाकेर बोल्नै नसक्ने होउन्जेल कविता दोहोर्याए। यसरी सिंहदरबारभित्र भर्खरै एउटा भयंकर हास्यव्यंग्य कार्यक्रम सम्पन्न भयो।
\’नेपाल\’ २०७० फागुन
Subscribe
Login
0 Comments
Oldest






































