मनोज गजुरेलकोडभाषा
खाना खान बस्नासाथ शौचालय जान मन लाग्नु, बाहिर निस्कन लाग्दै गर्दा पाहुना आउनु, प्रेमिकासँग गफ गरिरहेको बेला उसको बाबु आउनु जस्तै भयो मलाई पनि । यसो केही लेख्न मात्र लागेको के थिएँ कसैको किर्रिर फोन आएर बिच्क्याई हाल्यो मलाई ।
झनक्क रिस् उठ्यो र मनमनै गाली गरें– ‘थुईक्क, कुन बजिया होला !’ तर मुखैले गाली गर्नु उचित ठानिनँ र टेलिफोन उठाएँ– ‘हेलो ।’ उताबाट आवाज आयो– ‘म खप्परध्वज बोलेको, के छ हाल खवर ?’ मैले दिमाग तताउनु उचित ठानिंन नरम हुँदै जवाफ दिएँ– ‘म त सञ्चै छु, तिम्रो चाँहि के छ नि ?’ खप्पर ध्वजले भन्यो– ‘आज मलाई पाँच सय रुपैयाँको ‘भारत’ पर्यो । लौन सहयोग गर ।’ उसको कुरो सुनेर एकैछिन मैले मनमनै र जवाफमा भनें– ‘तेरो दिमागको पेच खुस्कियो कि किड्नीको किल्ला लुज भयो ?’ उसले प्रत्युत्तरमा पुनः उही अनुरोध दोहोर्यायो– ‘मलाई पाँचसय रुपैयाँले साह्रै भारत पार्यो, सहयोग गर्नु पर्यो भन्या ।’
उसको कुरो मैले बुझ्न नसकेको हो कि, खप्परध्वजको खप्पर धुजा धुजा भएको हो– ठम्याउनै सकिंन । ‘तिम्रो कुरो मेरो टाउकोको स्टेशनले टिप्न सकेन, तुरुन्त मेरो घरमा आउ, बुझाउन ।’ यति भनेर मैले फोन राखें । ‘भारत पर्यो’ भनेको के होला भनेर म दिमाग लडाउन शुरु गर्दछु । कतै मिटर घुमाउँदा पनि पटक्कै दिमागले स्टेसन टिप्दै टिप्दैन बा ! म टाउको मिटर घुमाउँदै थिएँ– खप्परध्वज हिउँदको काँक्रो जस्तो चाउरिएको अनुहार लिएर मेरो घरमा उपस्थित भयो । राम्ररी नियालेर अध्ययन गरेपछि– ऊ खुस्किई नसकेको निष्कर्षमा पुगें र सोधें– ‘के भयो रे ?’
उसले लामो श्वास तान्यो र भन्यो– ‘यसपाली कसैले पैसा दिएनन्, ‘नेपाली’ भइएला जस्तो छ ।’ यति भनेर उसले दुबै खुट्टा तानेर सोफामा पलेटी कस्यो । ‘मैले तेरो कुनै कुरो बुझिन–तैंले के भनेके ?’ मेरो चर्को स्वरले होला, ऊ अलि झसँग भयो र जवाफमा भन्यो– ‘अमेरिका गएर पैसा कमाउने कुरो पनि ‘वार्ता’ नै भयो । खल्ती पुरै ‘अर्थतन्त्र’ भइसक्यो । ‘समाजसेवा’ पनि बन्द भै गयो । म त ‘माओवादीमा परें’ यार ।’
म जुरुक्क उठें र उसको पाखुरामा समाउँदै भनें– ‘तिमी होशमा छैनौ । हिंड डाक्टरकोमा तिमीलाई चेकअप गर्न लैजान्छु ।’ ‘हात नसमात न यार, कस्तो ‘सीमाना’ भइराखेको छ ।’ उसले मेरो हात हटाउँदै भन्यो । मैले मनमनै थप सोचें– ‘पक्कै यसको कुरामा केही अर्थ लुकेको हुनुपर्छ ।’ र भनें– ‘सबै कुरा बुझ्ने गरी भनन यार । हैन, यस्तै कुरा ग¥यौ भने त मेरो दिमागले थाम्नै सक्दैन नि ।’
एकछिन अगाडिसम्म उसलाई बहुलाहा भन्दै आएको मान्छेले एक्कासी आफ्नै दिमाग गोलमाल भएको बताएपछि खप्परध्वज पनि झस्कियो । ‘कुरो के भने, यो भाषाको नयाँ प्रयोग हो ।’ मलाई उसले भन्यो ।‘कसैले नबुझ्ने गरी बोल्दैमा भाषा प्रयोग हुने भए पागलपनलाई पनि बुद्धिको नयाँ प्रयोग भनिदिए भैगयो नि ।’ मैले थपें ।
‘कुरो त्यसो होइन, ‘मलाई अप्ठेरो पर्यो’ भन्दा त्यसमा कुनै पावर सुनिदैन । बरु अप्ठेरोको ठाउँमा ‘भारत’ पर्यो भन्यो भने कामना मिठास र अर्थमा पनि अप्ठेरो भन्ने बुझियो ।’ उसले बल्ल रहस्य खोल्यो । म पनि उसको तर्कबाट निकै प्रभावित हुदै सोधें– ‘वार्ता नै भयो भनेको के नि ?’
उसले भन्यो– ‘वार्ता भनेको गफ मात्र । अमेरिका जानेकुरो गफ नै भयो भन्नु भन्दा ‘वार्ता भयो’ भन्दा खेरि एक त कोड भाषा हुने भयो अर्को सुन्नेले पनि ‘ओहो’ यी त ठूला मान्छे पो रहेछन् भनेर बुझ्ने भए ।’
मैले हत्तपत्त सोधें– ‘नेपाली भइएला भनेको चाँहि भोकै मरिएला भनेको हो ?’ उसले अनुहारमा निकै खुशीको भान ल्याउँदै भन्यो– ‘हो हो । अनि‘ खल्ती अर्थतन्त्र भो’ भनेको तहसनहस भो भनेको हो । समाजसेवा बन्द भो भनेको चाँहि ठगिखाने भाँडो बन्द भयो भनेर कोड भाषामा भनेको क्या !’ त्यसपछि मैले पनि कोड भाषा राम्रै बुझे झैं गरेर अगाडि भनें– ‘र माओवादीमा परें भनेको चाहि आपतमा परें भनेको हो कि हैन ?’
खप्परध्वज खित्का छोडेर हाँस्यो– ‘हो हो । अनि हात सिमाना भएको छ माने दुखेको छ भनेको ।’ म पनि गलल हाँसे । मेरो हाँसो देखेर उसले मलाई धाप मार्दै भन्यो– ‘तँ पनि शेरबहादुर नै भइस यार ।’ मैले अलि रिसाएको भाव सहित् सोधेंं– ‘जोकर भइस् भनेको हो ?’ उसले हतपत्त भन्यो– ‘हैन हैन, निकै बाठो भइस् भनेको क्या ।’
यति भनेर मैले उसलाई रु. पाँच सयको नोट निकालेर हातमा थमाई दिदैं भने– ‘लौ, यो रुपैयाँलाई राजस्व नगर्नु नि ।’ उसले जवाफ दियो– ‘पचाउँदिन, पचाउँिदन । अ“ स“ाच्चि, आज फिल्म हेर्न जाने भनेको हैन?’ मैले लामो स्वास तानें र भनें – ‘खै यार, जाने कि नजाने– पुरै एमाले भई राखेको छु ।’
उसले मेरो हात तान्दै भन्यो–‘त्यसरी दोधारे भएर हुन्छ ! हिड दुवै जना स“गै जाऔं ।’
त्यसपछि पुनः हामी दुवै एक हलको मेलो हाँस्यौं र लाग्यौं दर्पणछायाँ हेर्न ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































