सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाहुरेको यात्रासंस्मरण

तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रो, लाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैले, हेर्नोस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

Nepal Telecom ad

एक त आफ्नो जातै वीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे- अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सक्र्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !

कत्राकत्रा युद्ध, महायुद्धमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्, यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोला, बाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ, जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरूले प्रत्येक दिन सितैँमा सुक्र्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै ! कतिपय साहित्यकार, कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्धान्त आफूले छाड्ने कसरी ? आखिर बेकार भए पनि म एउटा कार हुँ, लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमा, आर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्धान्त रामबाण जस्तो छ । ‘मर्दका दसोटी हुन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चह्लैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन ‘बहुपत्नी लिमिटेड’ का शाखाहरूबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फुलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेन्टी ? वीर भएकोले इलम उद्योगको पीर गर्नापट्टि लागिएन त, कि दाउरे बन, कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म ! अनि भन्नोस् मैले झैँ रोग, भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा-भर्ती केन्द्रजस्तै लमजुङ-भर्ती केन्द्रसमेत खोल्नुपर्‍यो भने !

लौ, म कुरो गर्न लागेको त सोझै हो, तर अतिथि इन्जिनियरहरूले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भने, यत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो, तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढ्याइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

ल, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुर, त्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँ, अलिअलि सामलतुमलको झोला भिरेँ, हिँडे । तपाईलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ- गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छ, देशी पैसा, हामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ? जे होस्, आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त हो, लाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा ।

“ओहो ! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी-स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । “म त लाहुरतिर, आमै कता नि ?”

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्- “कहाँ हुन्थ्यो, उनै विश्वनाथ बाबाको पाउमा त हो नि ? यी नानीहरूले पनि कहाँ साहै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी, अर्कीको पोइ लाहुर… ।” बूढी परी लाउँदै थिइन्, बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो- “कुरो राम्रो, विश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु त, कहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्दार हुन्छ, अर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्, म त लक्क न बक्क भै जिल्लिँदै थिएँ, बूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखुरा खैँचेर सराप्न थालिन्- “तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठालाई पख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है, नभएको कुरा भन्नु पाप लाग्छ, तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्- “हेर्नोस् न बाबू, के मैले यी केटीहरूलाई भागीरथीमा बगाइदिउँला त ?” भलादमीले भने- “भागीरथीमा बगाए त केही थिएन, माझीले उतार्थ्याे, तर चचार पाथी चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के हो, मैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केहि बुझ्न सकिनँ ।

‘असार-साउनको माटो, बाइरोडको बाटो ।’ ड्राइभर रमले रन्न, ट्रक यात्रुले टन्न । अब चाहियो के र ? एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियो, तर जतिजति ट्रक उँभोउँभो लाग्दै गयो, उतिउति आफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ- तीर्थ जानेलाई केको डर ? बाँचे वाराणसी, मरे अमरावती । तर, नढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छु ? स्वर्ग कि नरक ? स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट-बाजेहरूलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् !

म आफ्नै सोचाइमा एकसुर थिँए, पछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने… “तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभो, यसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मेरो भने साह्रै चित्त दुख्यो र भनिहालेँ- “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्यो, त्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइन, भोलिदेखि तिहुनकै समस्या त पर्दैन ?” साहूले बीचमै कुरा काट्तै भने- “तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् त, यताबाट सागका मुठा पठायो, उताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठो, छिटोको ठाउँमा छिटो, कुरा बुझ्नुभएन ? यस्तै हुन्छ चतुरहरूको व्यापार !” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड ‘सब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्, सबैतिर छिटोछरितोपनको आवश्यकता छ आज, आधुनिक सभ्यता भनेकै यही न हो !

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्, तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले- “पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने, घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्यूलाई भनेँ- “बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्- “आइन्दा ऐसा मत करना, कहाँ जा रहे हो ? हमारे यहाँ नौकर बैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ- “म त लाहुर पस्न लागेको पो त, तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्, म फरक्क फर्केर पुगेँ अर्कै छेउमा ।

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो, कोको कहाँनिर छन् पत्तै भएन, मानौँ संसार-सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो- लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँ, त्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्- केके हुन्छन् केके ! सम्झेर के साध्य ! देश भनेको देशै हो, धन हुने बाबूसाहेबहरूको राख्न जाने ठाउँ पनि उहीँ, नहुनेहरूको कमाउन जाने ठाउँ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै, बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो !

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरूले “बाबूजी, इधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के पर्‍यो भने सबैले तानेपछि जाने कतातिर ? ससुराली भिन्न भएको साल सोह्रसरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो पर्‍यो आफूलाई त । “क्याहो ए वीरबल भान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । “ओहो, मामा तिमी पनि यहाँ ?” मामालाई झम्टँदै मैले पनि सोधिहालेँ- “उता लाहुर गएको भन्थे- यहीँ हो कि क्या हो लाहुर ?” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने- “तिमी अलि सोझा छौ भान्जा ! नेपालीको निम्ति डाँडो काट्यो कि लाहुर ! तिमी कता नि ?” मैले चकित भावमा जबाफ दिएँ- “म पनि लाहुरतिर लागेको !” “लाहुर त लाहुर, तिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ- अब कहाँ कसलाई समाउन जाने त लौ !

“फ्याकिदेऊ त्यो टोपीसोपी, यता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोद्धै गए- “अब के गर्छौ त ? रिक्सै चलाउँछौ भने, मामाभानिजको कामकुरो मिलिहाल्यो । होइन, म त नोकरी नै गर्छु भन्छौ भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला ।” मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ- “के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए- “भनिहालेँ नि, हाम्रो निम्ति डाँडो काट्यो कि सबतिर लाहुर । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकणर्िकामा मुर्दा बोक, घर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँ, निधारमा चिटचिट पसिना आयो, नाक-मुख खङ्ग्र्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । “के यही हो त लाहुर- हजारौँ नेपालीले आउने गरेको लाहुर ? वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए- “के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो र ? त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोट्टिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो ‘गुर्खा’ को वीरता, जसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवर-कुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तन, तरुनीको मन सबको दरभाउ बसायो, धन कमायो, कैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौ ?”

तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने- घरबाट ल्याएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तर, अब परियो यता आफू अलपत्र, जहान उता अलपत्र, जो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्, हामी वीरको साथै उदार पनि त हौँ, दुइ-चार जना हामीजस्ता स्वदेशीहरू हराएर के भो, कैयौँ ‘देशी’ हरू नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रो, लाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैले, हेर्नोस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

०००
बैशाख, २०२१ गोकर्ण
‘रचना’

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आलु

आलु

भैरव अर्याल
गलबन्दी

गलबन्दी

भैरव अर्याल
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल
कन्जुस

कन्जुस

भैरव अर्याल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
बिर्सिस्यो कि ?

बिर्सिस्यो कि ?

रुद्र खरेल
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)