सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जगत जमाउन जप्नोस् जनता

लाजसरम नमानी अझै जप्नोस् जनता । संविधानको बार नभएपछि नेताका कमाउने कारोबार त जनता जप्ने सम्पति थप्ने भएर त नेताका घर हेर्दैमा डर भएर अख्तियार डराएको रहेछ !

Nepal Telecom ad

तपाइँलाई नेता, शासक, प्रशासक, प्रहरी, व्यापारी बनेर धाक धम्की लगाउने र धनी बन्ने इच्छा छ भने जप्नोस् जनता । शिवभक्त, विष्णुभक्त, देवी भक्तले देवताका नाम जपेझैँ तपाइँ जनभक्त भएकोले जहिले जहाँ पुगेर पनि जप्नोस् जनता । जनता जप्नेहरू सबै मुक्त भएका छन् । यो जप अरु जपजस्तो गोप्य राखेर जप्ने होइन । जतिसक्यो उच्च स्वरमा जप्नोस् । सुनाउनोस् । समाजले तपाइँलाई राम्रो जनभक्त भनेर चिन्छ । ओठेभक्तिभन्दा ठूलो कोठेभक्ति हुँदैन । कर्म गर्ने हातलाई भन्दा भजन गर्ने ओठलाई नै ठूलो ठान्नोस् । मनमनै जपेको जप कसले सुन्ने ? सबैले सुन्ने गरेर जनता मेरा मुटु हुन्, देवता हुन्, सर्वस्व हुन्, सार्वभौम हुन् भनेर जनता जप्न नभुल्नोस् । कमाउने काइदा शोषकलाई फाइदाको कारोबार भनेको राजनीतिक लेनदेन नै बनेको छ ।

कलौ केशव कीर्तनम् भने पनि जप्नचाहिँ जनतानै जप्नोस् । भगवानको भजनकीर्तन गरेर अर्को जुनीमा मुक्ति पाइन्छ रे । हाताहाती पाइने फल ओठेभक्ति हो, त्यही जनता जप्नोस् । आफ्नो श्राद्ध आफैँ खान पाउनुहन्छ, जप्नोस् हाताहाती फल दिने जनता । तपाइँको किरिया पनि जनताले नै गरिदिन्छन् । फूल माला चढाउनु पनि पर्दैन अछेताभेटी पनि पर्दैन । बरु तपाइँजस्ता जनभक्तलाई जनतालेनै आशीर्वाद दिन्छन् । नेतालाई भोटदिएपछि पछुताउनु त छदैछ । तथास्तुको वरदान जनताले दिएकै छन् । जप्नोस् जनता । हालको हाताहाती कारोबार यही पेशा बनेको छ ।

कार्यालयमा काम गर्ने मर्कचारीले पनि जनतानै जप्नोस् । प्रसाद आफैँ झिकेर खान पाउनुभएकै छ । जनसेवी सेनाप्रहरीहरूले डण्डी घुमाएर पनि जनतानै जप्नोस् । अरु ठूला कर्मचारीले पनि कलम घुमाएर, घुसाएर, घुस खाएर जनतानै जप्नोस् । जस्तोसुकै अनैतिक काम गरे पनि हामी जनसेवी हौँ, जनताका लागि गरेका हौँ भन्न नभुल्नोस् । कर्मचारीले घाम तापेर हाटा गरेर माखो नमारे पनि जनताका सेवा गरिरहेका छौँ भन्नोस् । व्यापारीहरूले जनता (ग्राहक) हाम्रा देवता हुन् भनेर ढाड सेकिने गरी मूल्य बढाएर जप्नोस् ।

जमानानै जनता जप्ने भएकोले नेताहरू कुनै सिजन र डिसिजन चाहिने बेलामा मरिेमेटेर जनता जपेको त सुन्नुभएकै छ । जमाना जनता जप्ने नै भएकोले नेताहरूले उच्च स्वरमा जनता भन्न छोडेका छैनन् । जनताकै लागि गरिबमुखी कार्यक्रम ल्याएर जनता जपेको प्रसाद त्यसबाटै खाइरहेका छन् । सरकारको भनौँ कि नेताका मुखबाट होस् देवता भनेको नै जनता हुन् भन्न कसले पो छोडेको छ र ! माखो नमार्दा पनिसधैँ नेताहरू जनता जपिरहेका छन् । भगवान् कहाँ कुन अवस्थामा छन् भक्तले आँखा चिम्लेर जपेझैँ जनता जप्ने नेतालाई जनता कहाँ छन् ? कुन अवस्थामा दुःखी छन् किन हेर्नु पर्‍यो ? जनता जपे भैहाल्यो ।

म जनताको हुँ, म जनपक्षी हुँ, जनताभित्र म छु । जनता यो मान्दैनन् । जनता यो चाहन्छन् । म जनता उठाएछु , जनताले चाहे जे गर्न पनि सक्छन् भन्या भराँ माथि पुग्न पाउनु भएकै छ,जप्नोस् जनता । परमेश्वरको लीला विचित्रको भएझैँ नेताले जप्ने जनता जनार्दनका रूप पनि विचित्रका छन् । कानुन बन्यो भने हाम्रा मुखमा नुन बन्द हुन्छ भनेर संविधान सारेको र टारेको रहस्य गोप्य राखेर सबैले सुन्नेगरी जप्नोस् मात्र जनता ।

बिहानको छाक टार्‍यो बेलुका केखाउँ भन्ने जनता, परिश्रम मात्र गरेर भोकै हिंड्ने जनता, रोग लाग्यो उपचार गर्न नसकेर मृत्युको मुखमा पुग्ने पनि जनता, टुहुरा, अन्ध अपाङ्गपनि जनता, भोका नाङ्गा बेरोजगार पनि जनता, खाते भएर सडकमा भौँतारिन बाध्य पनि जनता । अभिभावक विहीन भएर स्कुलसम्म पुग्न नपाउने पनि जनता, शिक्षित बेरोजगार पनि उनै जनता । स्वदेशमा रोजगार नपाएर विदेशी मरुभूमिमा छटपटिने पनि जनता । दलालका फन्दामा पसेर सर्वस्व सिध्याउन वाध्य पनि जनता । यस्ता अनेक रूपधारी जनताका थरीथरी अवस्था हेरेर अनेक रूपधारी प्रभु भनेर केही काम नगरी जपिमात्र रहनोस् जनता । यी सबै रूपबाट जनमतको आशीर्वाद पाइरहनु भएकै छ, जप्नोस् जनता ।

जनतामुखी बजेट भनेर महगीले ढाड सेक्न खोज्दै हुनुहुन्छ अझै जप्नोस् जनता ! यस्ता विविध रूपधारी सहस्र मूर्ति भएका नरनारायणको (जनताको) जप गरेर कुनै काम नगरी सधैँ मुक्ति मार्गमा पुगेका नेतालाई सफलताका लागि हाम्रो पनि शुभ कामना छ । जुन नेताले जेजसरी पनि आफ्नो दुनोमात्र सोझ्याउन खोजेको रहस्य जनताले बुझिसके । अझै ठूलो स्वरमा जनोस् जनता । माघ आयो कि बाघ आयो भनेर नेताले संविधान टार्न र समय सार्न जान्नु भएकै छ । लाजसरम नमानी अझै जप्नोस् जनता ।

संविधानको बार नभएपछि नेताका कमाउने कारोबार त जनता जप्ने सम्पति थप्ने भएर त नेताका घर हेर्दैमा डर भएर अख्तियार डराएको रहेछ !

०००
‘पाविल न्युज’ भदौ ३१, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल