
तिहार आयो
पिङ्ग खेल्यो राति, चचहुइँ पारी, गाउँ नै थर्काई रोटे पिङ्ग खेल्यो, घुमाई घुमाई, लिङ्गे पिङ्ग फर्काई द्यौसे र भइले, खुसी ती कति, पैसा नि बटुल्छन् नाच गान अति, रमाइलो गर्छन्, कम्मर मर्काई

मात्रिका घिमिरे :
१.
तिहार आयो झिलिमिली, बत्ती बाल्ने दिन
भाइहरूको कपालमा, तेल हाल्ने दिन
दिदी भाइ दाजु बहिनी, टिका लगाएर
लोहोराले फुटाएर, ओखर फाल्ने दिन ।
२.
झिलिमिली बत्ती धेरै, बालिन्छ तिहारमा
बिग्रे भत्केका घर पनि, टालिन्छ तिहारमा
खानुपर्छ मिठो मसिनो, घर उज्यालो पारेर
अर्सा अनर्सा सेलरोटी पकाउन, थालिन्छ तिहारमा ।
३.
पिङ्ग खेल्यो राति, चचहुइँ पारी, गाउँ नै थर्काई
रोटे पिङ्ग खेल्यो, घुमाई घुमाई, लिङ्गे पिङ्ग फर्काई
द्यौसे र भइले, खुसी ती कति, पैसा नि बटुल्छन्
नाच गान अति, रमाइलो गर्छन्, कम्मर मर्काई
०००
काठमाडौं