साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रशान्त खरेलको ‘आगाका फिलुङ्गाहरू’ विमोचित

कविले समग्र नेपालको विविधताका पक्षमा र समन्वयका पक्षमा वकालत गरेका छन् । आशावादी जीवनदृष्टि सम्प्रेषित भएको छ ।

Nepal Telecom ad

२०७८ फाल्गुण ७ । साहित्य सन्ध्याका सदस्य एवम् प्रखर युवा कवि प्रशान्त खरेलद्वारा लिखित ‘आगाका फिलुङ्गाहरू’ कवितासङ्ग्रहको लोकार्पण आज साहित्य सन्ध्याको ४२५ औँ शृङ्खलामा भर्चुवल माध्यमबाट गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले नेता एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो ।

विशेष अतिथिमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका सल्लाहकार प्रा.डा.बद्रीविशाल पोखरेल, प्राज्ञ नमुना शर्मा, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, डा.हरिप्रसाद सिलवाल, गायत्री चापागाईँ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, प्रा.डा.ध्रुव घिमिरे, लोकार्पित कवितासङ्ग्रह ‘आगाका फिलुङ्गाहरू’का कवि प्रशान्त खरेल, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, वरिष्ठ स्रष्टाहरू सुलोचना मानन्धर, नर्मदेश्वरी सत्याल, तारा गाउँले, डम्बर पहाडी र डिल्लीराज अर्याल उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथिले साहित्य सन्ध्याका सदस्य एवम् प्रखर युवा कवि प्रशान्त खरेलद्वारा लिखित ‘आगाका फिलुङ्गाहरू’ कवितासङ्ग्रहको लोकार्पण गर्नुभयो र लोकार्पित कवितासङ्ग्रहका बारेमा प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले चर्चा गर्नुहुँदै झापाका कवि प्रशान्त खरेलको यो ‘आगाका फिलुङ्गाहरू’ कवितासङ्ग्रह ८४ पृष्ठको रहेको, कभर डिजाइन कवि आफैँले गरेका, कविताहरू सबै गद्यलयमा लेखिएका, प्रायः सबै कविताहरू वैचारिक रहेका हुँदा कवितामा कतै न कतै विचार सुन्दरढङ्गले अभिव्यक्त भएको, विचार सम्प्रेषण गर्ने सन्दर्भमा कविले विभिन्न दार्शनिकका प्रसङ्ग जोडेर बौद्धिकता थपेका, नेपाली समाजमा विशेषगरी नेपाली राजनीतिले हुर्काएका विकृत र कुरूप प्रवृत्तिलाई उजागर गर्दै सकारात्मक पक्षलाई प्रोत्साहन र नकारात्मक पक्षका प्रति आक्रोश व्यक्त गरेका, राजनैतिक परिवर्तनपछि परिवर्तनका सम्बाहकहरूमा आएको स्खलनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको मात्र छैन परिवर्तनका नायक प्रदूषणमै अन्तरघुलित भएकामा आक्रोशसमेत कविले व्यक्त गरेका छन् ।

कवितामा वर्गीय पक्षधरता स्पष्ट देखिन्छ । जे छ त्यसको यथार्थ चित्र खिचिएको छ भने अबको बाटोको दिशानिर्देश गर्ने काम पनि कविले गरेका छन् । कविले समग्र नेपालको विविधताका पक्षमा र समन्वयका पक्षमा वकालत गरेका छन् । आशावादी जीवनदृष्टि सम्प्रेषित भएको छ । कवितामा सहिदहरूका प्रति सम्मान जाहेर गरिएको छ । विम्ब र प्रतीकहरूको सुन्दर संयोजन गरिएको छ र कतै कतै तिनै प्रयुक्त विम्बले बौद्धिकताको आग्रह गरेका छन् । ओखर फुटाएर दिउल निकालेको जस्तो मिठास कवितामा पाउन सकिन्छ भन्ने धारणा राख्नुभयो र कविलाई थप परिष्कार परिमार्जनसहितको भावी सिर्जनायात्राको हार्दिक शुभकामना दिनुभयो ।

लोकार्पित सङ्ग्रहका स्रष्टा प्रशान्त खरेलले साहित्य सन्ध्या, प्रगतिशील लेखक सङ्घ, जनसाहित्यिक मन्च नेपालजस्ता संस्थासँगको सहकार्यले विचार निर्माण र परिष्कारमा सहयोग पुगेको, कुनै घटनाक्रमले बिझाउँदा कविता जन्मिन पुगेको, सामाजिक विद्रुपताले झस्काएको अवस्थाले पनि कविता सिर्जना भएकाले सङ्ग्रहका रूपमा ल्याएको हुँदा पढेर प्रतिक्रिया पाउने अपेक्षा गर्नुभयो र सङ्ग्रहका दुईओटा कविता वाचन गर्नुभयो ।

-रमेश पोख्रेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x