साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृभाषा विषयक झापा गोष्ठी

Nepal Telecom ad

झापा । नेपाल प्रज्ञा प्रतिष्ठान र वहुभाषिक साहित्य संस्कृति कलाकेन्द्र, झापाको सहकार्यमा ‘झापा जिल्लामा बोलिने मातृभाषाहरूको अवस्था विषयक विमर्श, वहुभाषिक कविगोष्ठी एवं सांस्कृतिक कार्यक्रम” सम्पन्न भयो । कार्यक्रम देवीचरण भण्डारी तथा खगिन्द्रा खुसीको सञ्चालनमा व.सा.सं.कलाकेन्द्रका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञपरिषद सदस्य प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले स्वागत गरेर अघि बढेको थियो ।

कार्यक्रममा त्रिविका सहप्राध्यापक डा.कर्णाखर खतिवडलाले ‘झापा जिल्लामा बोलिने मातृभाषाहरूको अवस्था” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार आख्यानकार पुण्यप्रसाद खरेल तथा सन्थाल शिक्षक तलु बास्केले सो कार्यपत्रउपर टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममै दुई जना झापाका पछाडि परेको भाषामा आफ्नो जाति र भाषाको उन्नतिको लागि उल्लेखनीय योगदान गरिरहेका निरन्तर भाषा र संस्कृतिका अभियन्ता गणेश धिमाल तथा जोगी किसानलाई दोसल्ला, प्रमाणपत्र तथा केही नगदले सम्मान गरिएको थियो ।

साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठ, प्रमुख अतिथि प्राडा हेमनाथ पौडेलले सारगर्भित मन्तव्य राख्नुभएको सो कार्यक्रममा वहुभाषिक कविको रुपमा गणेश धिमालले धिमाल भाषामा, अभिषेक गौतमले संस्कृत भाषामा, सत्यनारायण तायतले मारवाडी भाषामा, जयकुमार राईले वान्तवा भाषामा, वन्धनकुमार मुण्डाले सादरी भाषामा, अमूल वज्राचार्यले नेवारी भाषामा, विरही अधिकारीले नेपाली भाषामा कविता सुनाउनुभयो । नेवारी लाखे नाच, राजवंशी नाच, किसान नाच, वीरेन्द्र माविका विद्यार्थीको राष्ट्रिय गीतमा नाच, मगरजातिको नाच, वङ्गाली नाच, सन्थाल नाच र सन्थाल गीत, लिम्बु नाच आदि बेजोड प्रस्तुतिहरू थिए । यी जातीय नृत्यमा रमाइरहेका दर्शक देख्ता हाम्रो देश साँच्चै सयौं ‘थुँगा फूलका हामी एउटै माला नेपाली’ प्रस्टिँदै थियो ।

कार्यक्रममा अतिथिको रुपमा जोगी किसान, रञ्जन घिमिरे, साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठ, लेखनाथ पुस्तकालयका अध्यक्ष विरही अधिकारी, विराटनगरका साहित्यकार मधु पोखरेल, दिलिप घिमिरे, गणेशमान धिमाल, टीका चापागाईं, मिना अधिकारी, पदम क्षेत्री (मेघालय), साहित्य कला संगम दमकका अध्यक्ष नरपति पाण्डे, जङ्ग देवान, गणेशकुमार देवान, लता खरेल, प्रलेस केन्द्रीय सदस्य राजेन्द्र संग्रौला, कृष्ण सुवेदी निराकार, चित्रा पौडेल, क्षितिज नाट्य परिवारका अध्यक्ष माधव कल्पित, तुलसीप्रसाद भट्टराई, कुशल पौडेल, प्राज्ञ पवन राजवंशी, सुनीता तामाङ आदिको आतिथ्य गराइएको कार्यक्रममा दुई सयभन्दा बढीको क्षमता भएको सभाकक्ष टनाटन भरिएको थियो ।

-पुण्य खरेल, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x