सुलसुलेउदयपुरमा देवकोटा जयन्ती मनाइयो
कार्यक्रमको अध्यक्षता प्र.ले.स उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले गर्नु भएको थियो भने प्रमुख अतिथि डा. कैलाशकुमार राई रहनु भएको थियो ।

गाईघाट, उदयपुर ५ कार्तिक २०७९ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्म जयन्ती तथा दीपावली नेपाल सम्बत र छठ पर्वको अवसरमा उदयपुरको सदरमुकाम गाईघाटमा शुभकामना आदान प्दान कार्यक्रम तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
सांस्कृतिक विद स्व. सत्यमोहन जोशीको श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको सो कार्यक्रम प्रगतिशील लेखक संघ नेपाल उदयपुर, नेपाली लेखक संघ उदयपुर, सप्तक कला केन्द्र उदयपुर, आदीम सामुदायिक तथा सांस्कृतिक कला केन्द्र चुहाडे उदयपुर, आकाशगङ्गा साहित्य मञ्च र प्रस्तावित उदयपुर साहित्य कला प्रतिष्ठान उदयपुरको संयुक्त आयोजनामा भएको थियो । सो कार्यक्रमको अध्यक्षता प्र.ले.स उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले गर्नु भएको थियो भने प्रमुख अतिथि डा. कैलाशकुमार राई रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राईले महाकवि देवकोटा बहुआयामिक साहित्यिक व्यक्तित्व रहेको र उहाँका रचनाहरू सधैँ कालजयी भएर हाम्रा सामु रहने बिचार व्यक्त गर्नु भएको थियो । त्यसै गरी सांस्कृतिक विद सत्यमोहन जोशी देशको सांस्कृतिक सम्पदा र कहिल्यै बिर्सन नसकिने सामाजिक सांस्कृतिक अभियन्ताका रूपमा हामीले सम्झिरहनु पर्ने नाम भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार पुण्य कार्कीले पनि महाकलि देवकोटाका बारेमा र सत्यमोहन जोशीले सांस्कृतिक क्षेत्रमा पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
नेपाली लेखक संघका सचिव महेनद्रकुमार राईले स्वागत मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो भने नवोदय सांस्कृतिक कला केन्द्रका शैलेन्द्र खतिवडा, सप्तक कला केन्द्रका खिलराज बस्नेत, बरुवा क्याम्पस प्रमुख भिमबहादरु खड्का, नेपाली लेखक संघका वृषबहादुर तामाङ, थिएटर नेपालका गोपाल कीर्ति, पेशल कुमार दाहालले शुभकामना मन्तव्य दिनु भएको थियो ।
यसैगरी आकाशगङ्गा साहित्यिक मञ्चका अध्यक्ष अरुण कोइमीको सञ्चालनमा भएको सोही कार्यक्रममा सिर्जना सरोवर, हिमालय पौडेल, श्याम ढुङ्गाना, चन्द्रनारायण चौधरी, नारायण थापा, अनिल घिमिरे, फडिन्द्र विश्वकर्मा, विनोद श्रेष्ठ, देवेन्द्र पोखरेल, कुवेरकान्त काफ्ले, राजन खड्का, गोठकृष्ण ठकुरी,खिला घिमिरे बुइपाखिरी, हर्क नारायण श्रेष्ठ, उद्धव घिमिरेले रचना वाचन गर्नु भएको थियो । उदयपुरका पहिलो कथाकार तथा कवि शारदाप्रसाद भट्टराईले वाचन गरिएका रचनाहरूको संक्षिप्त टिप्पणी सहित रचना वाचन गर्नु भएको थियो ।
०००
-माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest











































