संप्रस पाैडेल‘आतोओडा’ उपन्यासमाथि गैंडाकोटमा चर्चा
सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार आयोजित कार्यक्रममा सन्थाल जातिका दैनिकी बुनिएको समीक्षक सरिता तिवारीले बताउनु भएको छ ।

चितवन, ०८० साउन २० । जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ माथि गैँडाकोटमा बहस तथा अन्तरक्रिया गरिएको छ ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार आयोजित कार्यक्रममा सन्थाल जातिका दैनिकी बुनिएको समीक्षक सरिता तिवारीले बताउनु भएको छ । कार्यक्रममा बोल्दै समीक्षक तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताउनु भयो । उहाँले थप गर्नुभयो– ‘उपन्यासमा साधारण कुरालाई पनि मीठो गरी आख्यानीकरण गरिएको छ, सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढंगले उल्लेख गरिएको छ’ । सन्थाल जातिको समग्र दुःख, संघर्ष, परम्परालगायतका पक्षलाई समेटिएको सो पुस्तकको मूल्य ३३५ रुपैयाँ रहेको छ ।
अर्का वक्ता उदय अधिकारीले सन्थाल जातिको सम्बन्ध झापा बिद्रोहसँग जोडिएको बताउँदै लेखक खतिवडाले उपन्यासमा झापाको राजनीतिक घटनाक्रमलाई भने नजोडेको बताउनु भयो । ञपुस्तकमा सन्थाल जातिको विविध प्रसङ्ग समेटिएता पनि सन्थाल जातिको समेत भूमिका जोडिएको झापाको राजनीतिक आन्दोलन भने पुस्तकले समेट्न सकेको छैनझ, अधिकारीले भन्नुभयो । साथै सन्थाल भाषाका शब्दहरूको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएको पनि उहाँले बताउनुभयो ।
अर्का वक्ता रमेश प्रभातले आख्यानकार जानुका खतिवडाको आतोओडा उपन्यास फूलमुनी, टुडुलगायत समस्त भूमिहीन सन्थाल जातिको कथा भएको र आफूहरू भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको बताउनुभयो । ‘समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको आतोओडा उपन्यासको प्राप्ति हो ।’ उहाँले थप गर्नुभयो ।
झापाको गौरादहमा जन्मिएकी लेखक जानुका खतिवडाले विशेषगरी पूर्र्वीतराईमा बसोबास गर्ने र समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजिएको पाइन्छ । लेखकले सन्थाल जातिसँगको आफ्नो संगत र उनीहरूको जीवनचर्या बारे राम्रोसँग देखे बुझेकाले आफ्नै सेरोफेरोको कथालाई उपन्यासमा उतारेको बताउनु भयो ।
कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरूको पीडा भएको बताउँदै किताबको पाण्डुलिपि पढेपछि नेपाली आख्यानजगतमा राम्रो किताब दिन सकिन्छ भनेर किताब प्रकाशन गरेको प्रकाश पार्नुभयो । आतोओडा उपन्यास पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सूचीमा सूचीकृत छ ।
नारायणी रिसोर्टमा भएको कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गर्नु भएको हो ।
०००
– चितवनबाट लेखाराम सापकोटाको सहयोगमा ।
Subscribe
Login
0 Comments
Oldest








































