सूर्यबहादुर पिवाटुपी व्यापार
आफूले पूजा गरिराखेको देवीदेउता पनि उनीहरू डलरका लागि विदेशीलाई बेच्दछन् भने टाउकामा दुई–चार दिनमा जस्तातस्तै उम्रने टुपी पालेर किन नबेच्लान् है !

सूर्यबहादुर पिवा :
नेपालका एकतन्त्री शासक प्राइममिनिस्टर जङ्गबहादुरदेखि पञ्चायती प्रजातन्त्रकालीन प्राइममिनिस्टर जङ्गबहादुरसम्मका प्राइममिनिस्टरहरूले नेपालका जङ्गलका रूखहरू सखाप गरेर काटेर आफूभन्दा पछिका सात पुस्तासम्मका सन्तान दरसन्तानहरूलाई काम नगरी खान पुग्ने गरी पैसा कमाएर सबै वनजङ्गल स्वाहा गरेर गए । त्यसो हुँदा आज हाम्रो वनजङ्गलमा काट्नलाई रूखहरू नै नभएर घर बनाउँदा झ्यालढोकाहरूसम्म पनि फलामका बनाएर राख्नुपर्ने भइसक्यो र बिहान बेलुका भात ग्यास, बिजुली वा मट्टीतेलले पकाउनुपर्ने भइसक्यो । ‘नेपालको उहिले–उहिलेका मानिसहरू दाउरा बालेर भात पकाउँथे’ भनियो भने हाम्रा छोरानातिहरू नपत्याउने खालका भइसके । ‘हरियो वन नेपालको धन’ भन्ने आहान उखान जस्तो भइसक्यो । कोही दाउरा बालेर भात पकाउने मान्छे भेटिए भने उनीहरू जङ्गली मान्छे पो हुन् कि जस्तो भान पर्ने भइसक्यो ।
हाम्रा बाबुबाजेहरूका पालामा नेपालमा जताततै घना जङ्गलहरू थिए । ती जङ्गलहरूमा असङ्ख्य जङ्गली जनावर र पशुपञ्छीहरू थिए र ती जङ्गलहरूमा थरीथरीका जडीबुटीहरू हुन्थे । त्यसैले उहिलेका मान्छेहरू काठ, जनावर, जडीबुटी विदेशतिर निकासी गरेर पैसा कमाउँथे । वनजङ्गल धेरै भएको हुँदा नेपालको हावापानी असाध्य राम्रो थियो । खोलानालामा प्रशस्त पानी हुन्थ्यो । टाइम–टाइममा पानी पर्दथ्यो र प्रशस्त उब्जाउ हुन्थ्यो । अतः हाम्रा पुर्खाहरू अन्न निकासी गर्दथे । अब त वनजङ्गल सखाप भएकाले त्यसको ठीक उल्टो छ । अब त सबै थोक विदेशबाट पैठारी गरेर झिकाउनु पर्दछ । अब हामीकहाँ खाने कुरा कम भयो, मान्छेहरू ज्यास्ती भए भनेर परिवार नियोजन सङ्घले जतिसुकै घोक्रो सुक्ने गरी ‘दुईभन्दा बढ्ता सन्तान नजन्माउनू’ भने पनि सुनेको नसुनेझैं गरी जो पनि धेर सन्तानहरू जन्माई विदेशतिर निकासी गरेर जीवन निर्वाह गरौं कि भन्ने भइसके । धेरै छोराछोरीहरू जन्माएर हामीले विदेशतिर निकासी नगरे हाम्रो राष्ट्रिय आम्दानी पनि कसरी होला जस्तो लाग्ने भइसक्यो ।
मेरो एक जना साथीको सुझाव ज्यादै नै राम्रो लाग्यो । उनको भनाइ छ– आफ्ना सन्तानहरूलाई विदेशतिर निकासी गर्ने काम राम्रो काम होइन के ? अब हामीहरूले मान्छेको टुपी निकासी गर्ने गर्नुप¥यो । हाम्रो राज्य हिन्दूराज्य हो, हगि ! हिन्दूको जसको पनि टुपी हुन्छ हगि, टुपी भएकाले हिन्दू पवित्र जातको मान्छे पनि हो हगि ! संसारका अन्य भागका मान्छेहरू अहिन्दु हुन् । हामी हिन्दुहरूको टुपी तपाईंहरूले आफ्नो टाउकामा जडान गर्नु भो भने तपाईंहरू पनि हिन्दुजत्तिकै पवित्र र ठूलो जातको मान्छे हुनुहुनेछ भनेमा मान्छेहरूले नपत्याउने कुरै छैन ।
त्यसबेला मेरो मनमा लाग्यो हो वा ! साथीले भनेको कुरा साँचो कुरा हो । टुपी रूख जस्तो बढाउन र हुर्काउने गाह्रो पनि छैन । एउटा रूख पूरा बढाउन पचास–साठी वर्ष लाग्छ । तर एउटा टुपी बढाउन पचास–साठी दिन भए पुग्दछ । टुपीलाई सानो छँदा सानो रूखलाई जस्तो भेडा बाखाले खाला कि भन्ने डर पनि छैन । तर एउटा समस्याचाहिँ देखें मैले । त्यो के भन्नु हुन्छ भने आजभोलिका युवकहरू कोही पनि टुपी पाल्न तयार होलान् झैं लाग्दैन । उनीहरूलाई कसरी टुपी पाल्न लगाउने हँ ?
मनमा लाग्यो– आजभोलिका अधिकांश युवकहरू पैसावादी छन् । पैसाका लागि उनीहरू जे पनि गर्न तयार हुन्छन् । स्वास्नीलाई सम्म पनि विदेशका बजारमा लगेर पैसाको लागि बेच्नसम्म पनि उनीहरू तयार हुन्छन् । गुप्ताङ्गमा डलर सुन लुगाएर विदेशमा लैजान र विदेशबाट ल्याउन पनि उनीहरू तयार हुन्छन् । त्यसैले एउटा टुपीको पचास डलर दिने भनियो भने उनीहरूले अवश्य पनि टुपी पाल्नेछन् । आफूले पूजा गरिराखेको देवीदेउता पनि उनीहरू डलरका लागि विदेशीलाई बेच्दछन् भने टाउकामा दुई–चार दिनमा जस्तातस्तै उम्रने टुपी पालेर किन नबेच्लान् है !
प्राकृतिक मनोहर स्थल भएको हाम्रो देश छ, हामीकहाँ कलाकृतिले परिपूर्ण राम्रा–राम्रा देवीदेउताको मन्दिरहरू छन् । त्यो हेर्न हामीकहाँ असङ्ख्य विदेशी पर्यटकहरू आउँछन् । उनीहरूलाई टुपीको महात्म्य फलाकेर भन्ने टुपी भो भने हिन्दू के संसारमा सबभन्दा ठूलो जातको मान्छे भइन्छ । सबभन्दा ठूलो जातको मान्छे हिन्दू भएको टुपीले गर्दाखेरि नै हो। यो टुपी राख्नुभो भनेदेखिन् तपाईंहरूले ुॐु अक्षरको राम्रो अर्थ बुझ्नु हुनेछ र देवतासित पनि कुरा गर्ने अवसर प्राप्त गर्नुहुनेछ है । टुपी भयो भने स्वास्नीसँग बसे पनि ब्रह्मचारी जस्तो भएर ऋषिमुनि समान हुनु हुनेछ । अनि पुराना किताब, कलाकृति, चित्रहरू आदि जे पनि किन्ने पैसावाल विदेशी पर्यटकहरूले टुपीको महत्त्व बुझेर भनेजति पैसा तिरेर टुपी किनिहाल्नेछन् । तर टुपी बेच्दा एउटा भयचाहिँ छ जस्तो लाग्यो । एकादशीका दिन मासुसम्म बेच्न नपाइने र नहुने यो हिन्दूराज्यमा हिन्दुहरूलाई टुपी काट्न लगाएर अहिन्दू बनाइयो भन्ने दोषारोपण गरेर सरकारले समात्नचाहिँ बेर छैन है । नो रिस्क नो गेन अर्थात् खतरा नमोली कहाँ पैसा कमाउन सकिन्छ र ?
०००
‘झटारो’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest






































