आर.सी. रिजालसहित पाँचजना हास्यव्यङ्ग्यकर्मीहरूलाई विभिन्न पुरस्कार
फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई समर्पण गर्ने निर्णय गरिएको छ ।
काठमाडौं २०८१ भदौ १५ । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू २०८१ का लागि पाँच जना हास्यव्यङ्ग्यकर्मीहरूलाई समर्पण गर्ने निर्णय गरिएको छ ।
फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान- २०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखन तथा यसको उन्नयनमा क्रियाशील व्यक्तित्व हेटौंडा, मकवानपुरका आर.सी. रिजाललाई नगद रु २०,१०१/- सहित सम्मानपत्र प्रदान गरिने छ ।
फित्कौली अनलाइन मिडियाले एक विज्ञप्ति प्रकाशित गरी यो जानकारी सार्वजनिक गरेको हो । विज्ञप्तिमा जनाइए अनुसार सर्लाहीका हास्यव्यङ्ग्य लेखक महेश थापालाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार- २०८१’ प्रदान गरिने भएको छ भने गोरखाका हास्यव्यङ्य कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार- २०८१’ प्रदान गरिने छ ।
त्यसैगरी सिन्धुपाल्चोकका हास्यव्यङ्ग्य निबन्धकार देवीप्रसाद चापागाईलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार- २०८१’, र इलामका कवि दीनानाथ पोख्रेललाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार- २०८१’ प्रदान गरिने भएको छ । यी पुरस्कारहरूको रकम जनही रु. १५,१०१/- र सम्मानपत्र रहेको छ ।
समारोहमा फित्कौली डटकमका सल्लाहकार एवम फित्कौली द्वैमासिकका प्रमुख संरक्षक सदस्य कृष्णमुरारि गौतम (चट्याङ मास्टर) लाई बुढ्यौली विषय-क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएकोमा प्रतिकचिन्ह सहित ‘बुढ्यौली विशेष सम्मान’ समर्पण गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।
यी सम्मान र पुरस्कारले गत वर्ष पाल्पाका चोलेश्वर शर्मा, स्याङ्जाकी गायत्री परिरोशनी, झापाका खगेन्द्र नेउपाने, गुल्मीका काशीनाथ मिश्रित, भक्तपुरका कवि रामशरण न्यौपाने र कार्टुनिस्ट राजेश मानन्धरलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
बुढ्यौली विशेष सम्मान बाहेक अरु सम्मान तथा पुरस्कारका लागि व्यक्तित्व छनोट गर्न सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको संयोजकत्वमा हास्यव्यङ्ग्यकार चट्याङ मास्टर र धीरेन्द्र प्रेमर्षि रहनुभएको समिति बनाइएको थियो । समितिले सिफारिस गरेका स्रष्टाहरूलाई नै फित्कौली अनलाइन मिडियाले सम्मानित र पुरस्कृत गर्ने निणर्य गरेको हो ।
आगामि भदौ २२ गते शनिबार राजधानी स्थित माउन्टेन एकेडेमी, थापागाउँमा आयोजित ‘फित्कौलीको खित्कौली सभा- ३’ कार्यक्रममा उक्त सम्मान र पुरस्कारहरू समर्पण गरिने भएको छ । त्यही समारोहमा विभिन्न हास्यव्यङ्ग्य स्रष्टाका ८ वटा हास्यव्यङ्ग्य कृतिहरू एकैसाथ लोकार्पण समेत हुने जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
०००
– फित्कौली डेस्क
हार्दिक शुभकामना । सबै पुरस्कृत सर्जक अनि फित्कौली परिवारमा ।