साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४५९ औँ शृङ्खलामा ‘ज्येष्ठ नागरिक…’ विषयक परिचर्चा

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.मुकेश चालिसे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ माघ ५ । भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४५९ औँ शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा परिचर्चा गरियो र कविगोष्ठी गरी सम्पन्न गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.मुकेश चालिसे उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो ।

अन्य अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, उपप्रा.हेम भण्डारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, कृष्णमोहन जोशी, खेमराज निरौलालगायतको उपस्थिति रहेको थियो ।

‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.मुकेश चालिसेले आफूले पहिलेदेखि नै अलि पछाडि पारिएको वा हेयका दृष्टिले हेरिएको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने गरेको हुँदा जीवविज्ञान विषयको प्राध्यापक भएको समेतको नाताले हेला र उपेक्षामा पारिएको बाँदरका विषयमा अध्ययन, अनुसन्धान गरेको थिएँ । त्रिभुवन विश्वविद्यालयबाट अवकाश भएपछि राज्य तथा समाजले उपेक्षा गरेका वा हेय दृष्टिले हेरिएका पाका नागरिकका बारेमा अध्ययन अनुसन्धान गरिरहेको छु । लोकतन्त्र भनिएको अहिलेको व्यवस्थामा पनि पाका मान्छे उपेक्षामा परेका छन् । सरकारी विभिन्न सेवाका क्षेत्रमा अवकाशको उमेरहद फरक फरक रहेको छ, अर्थात् विभेद छ । वास्तवमा मानिसको जीवनलाई सक्रिय राख्नका लागि उमेरले छेक्दैन बरु ज्ञानको सम्मान नगरिएका र घरमै थन्किएका पाका उमेरका नागरिकका ज्ञान, सिप, अनुभवका बारेमा समाज तथा राज्यले सिक्नुपर्दछ र उनीहरूको सक्रियताका आधारमा काम वा जिम्मा दिनुपर्दछ ।

सिकाइ पनि पारिवारिक वातावरणअनुसार हुने गर्दछ, माथि र तलको विभेद हुन्छ, वर्गीय विभेद हुन्छ । अहिलेको हाम्रो समाज भने चाडबाडमा तडकभडक देखाउने, नराम्रा नै कुराको नक्कल गर्ने दिशातर्फ उन्मुख भइरहेको छ र यसले बालबालिकाको दिमागमा नकारात्मकता भरिरहेको छ । सामाजिक सञ्जालको अधिक प्रयोगका कारण बालबालिका, परिवारका सदस्यदेखि सबै सबै अन्तरमुखी भइरहेका छन् र त्यसको प्रभाव पाका नागरिकमा पनि परेको छ अर्थात् उनीहरूका कुरा सुनिदिने, उनीहरूका ज्ञान तथा अनुभव साट्ने र व्यवहारमा लागू गर्ने फुर्सद कोही कसैलाई छैन । सबै सबैलाई बजारमुखी व्यवस्थाले विदेशी मोह बढाइदिएको छ । पाका मानिसहरू आफूले सकेको काम त गर्छन् नै र सक्रियता पनि देखाउँछन् तर उनीहरू त्यत्तिकै मात्रामा उपेक्षित भएका छन् र फलतः वृद्धाश्रम वा हेरविचार केन्द्रमा पुर्याइएका छन् वा मन्दिर जान, ध्यान गर्न, भजनकीर्तनमा लाग्न, चौतारामा बसेर समय कटाउन बाध्य भइरहेका छन् । अर्थात् पाका मानिसलाई निष्क्रिय पार्ने काम भइरहेको छ ! बालकैदेखि आपूm, आफ्नो सोच्ने र अर्काको देश बालमसितष्कमा पार्ने वा पर्ने गरेको पाइन्छ ।

हाम्रो पूर्वीय मान्यताअनुसार संस्कार सर्दै जाने परम्परा हराइरहेको छ ! पाका मानिसहरू बेसहारा देखिने मात्र होइन बर्सेनि ३०–३५ पाकाहरू सडकमा बेसहारा मरिरहेका समाचारसमेत आइरहेका छन् । दुर्घटनामा परेका पाकाहरूप्रति सहानुभूति देखाउने कुरा होस् वा सार्वजनिक बसमा यात्रा गर्दा उभिइरहेका पाका मानिसलाई युवाले सिट छाडिदिने र सम्मान गर्ने संस्कारसमेत हराइरहेको छ । ज्ञान, सिप, अनुभव भएका पाका मानिसहरूले समाजलाई र राज्यलाई पर्याप्त सिकाउने अवस्था हुँदाहुँदै पनि उनीहरूको उपेक्षा भइरहेको छ ।

पाकाहरूले पनि बहुजनहितायको भावना राखेर सिकाउनुपर्छ र सोहीअनुसारको व्यवहार आपूmले पनि गर्नुपर्दछ । साथै कम बोल्ने र बढी सुन्ने गर्नुपर्दछ अनि समयअनुसार आफूलाई पनि ढाल्नुपर्दछ, हिजोको आफ्नो अवस्थासँग मात्र तुलना गर्नु उपयुक्त हुँदैन । आधुनिकताका नाममा नक्कल मात्र गर्ने वर्तमानमा परिवारका सदस्यहरूको बोली, भाषा र व्यवहार नै फरक छ, परिवारले बालबालिकालाई दिने संस्कार पनि फेरिँदै गइरहेको छ । नयाँपुस्ताले हाम्रा सभ्यता, परम्परा र मूल्यमान्यता बिर्सिँदा अनि युवा पलायन हुँदा हाम्रो आफ्नो समाज चाहिँ कहिल्यै पनि सम्पन्न हुँदैन । पाकाहरूलाई उनीहरूको उमेर तथा स्वास्थ्यका आधारमा भेला गराउने, अनुभव साटासाट गर्ने, समाज विकासमा उनीहरूका ज्ञान तथा क्षमताको सदुपयोग गर्ने, सक्ने क्षमताअनुसारको जिम्मा दिनेजस्ता कार्य गरिनु आवश्यक छ । पाका नागरिकको सहजीकरण, सुरक्षा, सुविधामा समाज र राज्यले गम्भीरताका साथ ध्यान दिनु आवश्यक छ । उनीहरूको आर्थिक हैसियतअनुसार भत्ता उपलब्ध गराउने र उनीहरूको आफ्नो सम्पत्तिमा उनीहरूको एकछत्र अधिकार वा स्वेच्छा हुनुपर्दछ । अनावश्यक औषधिको प्रयोगलाई प्राथमिकता नदिने, पाका मान्छेमैत्री संरचना निर्माण गर्ने, भर्याङ बनाउने, आवास निर्माण गर्ने र बसोवासको सुविधायुक्त व्यवस्था गरिदिने दायित्व पनि समाज तथा राज्यको हुन्छ । अहिलेको नेपालको कुल जनसङ्ख्याको बाहिर गएको युवाको सङ्ख्या घटाएर हिसाब गर्ने हो भने ४०% पाका मानिस छन् । यत्रो ठुलो सङ्ख्यालाई त्रिष्क्रिय पार्नु वा उपेक्षा गर्नु वा किनारा लगाउन खोज्नुले समाजको विकास हुनसक्तैन ।

अहिले मुलुकबाट अवसरविहीनताका कारण युवा पलायन हुनुको प्रमुख दोषी सरकार हो भने युवाको व्यक्तिवादी चिन्तन तथा र अतिमहत्वाकाङ्क्षा पनि त्यत्तिकै दोषी रहेको छ । अहिले समाजको शैक्षिक तथा वैज्ञानिक क्षेत्रसमेत बिग्रिएको हुँदा प्राथमिक तहदेखि नै पाका नागरिकका कुरा पढाइनु आवश्यक छ । आफ्नो भाषाको चाहिँ पूर्ण जानकारी नै नहुने अनि विदेशी भाषाको मोह देखाउने प्रवृत्तिले मुलुकको विकास हुँदैन । पाका मानिस मुलुकका सम्पत्ति हुन् भन्ने यथार्थलाई समाज तथा राज्यले अत्यन्त गम्भीरताका साथ सोच्नु र सोहीअनुसारका नीति नियम बनाएर कार्यान्वयन गरी सभ्य समाज निर्माण गरिनु आवश्यक छ भन्नेसमेतको धारणा राख्नुभयो ।

समारोहमा बालकवि सोइना दाहाल, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, डम्बर पहाडी, उमेश उपाध्याय, खेमराज निरौला, बिन्दु अधिकारी ढकाल, नवराज श्रेष्ठ, भवलाल श्रेष्ठ, कुमार नेपाल, डा.मनोज जोशी, सञ्जय सोती, शिवहरि पाण्डे, कविता राउत, डा.गोविन्दप्रसाद आचार्य, ऋचा अधिकारी, बलराम विष्ट, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), निमग्ना घिमिरे, यदुनाथ वसन्तपुरे, गायत्रीकुमार चापागाईँ, जगत् वाशिष्ठ, मिसन अधिकारी, रमेश पोखरेल, प्रशान्त खरेल, गोपालकुमार मैनाली र डा.जीवेन्द्र देव गिरीले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि उपप्रा.हेम भण्डारीले समीक्षा गर्नुहुँदै एकपटक सुनेकै भरमा कविताको समीक्षा गर्नु कठिन कार्य हो । मूलतः आजका कवितामा राजनीति सङ्केतन विषयका रूपमा आएको पाइन्छ । वर्गीय एवम् शासकीय प्रभुत्व अनि प्रतिरोध कवितामा आएको पाइन्छ । स्रष्टाले विसङ्गति र निराशाविरुद्धको विचार निर्माण गर्नुपर्ने हुन्छ त्यसैले कवितालाई शक्तिशाली सांस्कृतिक हतियार मानिन्छ । स्वाधीनताको चेत प्रायः सबै कवितामा पाइन्छ । एकताको सन्देश पनि कविताले सम्प्रेषण गरेका छन् । परिवर्तनको चक्रीय स्वभाव हुने र पुँजीवादी अर्थसंस्कृतिका कुरा पनि कवितामा आएका छन् । कवितामा मानवताको खोजी, साइबर संस्कृतिको प्रभाव तथा त्यसले भित्र्याएको सामाजिक विकृतिका कारण भिडभित्र पनि एक्लै हुने प्रवृत्ति मौलाएकाले मौलिक संस्कृति प्रभावित भइरहेका कुरा पनि कवितामा आएका छन् । युवापलायनले देश शून्य हुँदै गएको पीडा कवितामा उजागर गरिएको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने पक्षमा स्रष्टाले ध्यानाकर्षण गराएका छन् । समग्रमा आजको यो गोष्ठीमा समसामयिक सामाजिक अवस्थाको चित्र स्रष्टाका सिर्जनामार्फत उजागर गरिएका छन् त्यसैले आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्य सन्ध्या अविरल बगिरहेको कार्यशाला हो, विचार निर्माणको थलो हो । वर्तमानमा चारैतिरबाट भाषामाथि प्रहार भइरहेको छ । यो सोद्देश्यमूलक रहेको हुँदा यो प्रवृत्तिका विरुद्ध पनि हामी स्रष्टाले प्रतिकार गर्नु आवश्यक छ । आज सुनिएका कविताले पनि युवापलायनको विषयलाई गम्भीरताका साथ उठाएका छन् । कवितामा अन्य नयाँ नयाँ विषयको पनि उठान भएको देखिएको छ । मुलुकका विभिन्न आन्दोलनमा अगुवाइ गर्ने र विचारको बीज निर्माण गर्ने साहित्य सन्ध्याको यो अभियान निरन्तर रहोस् भन्ने धारणा राख्नुभयो ।

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो । हामी स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक छ । त्यसमा पनि समाज विथोल्ने र भिड जम्मा पारेर गलत प्रवृत्तिलाई स्थापित गर्ने अराजक दुश्प्रवृत्तिलाई त तत्कालै आफ्ना सिर्जनाका माध्यमबाट प्रतिवाद नै गर्नु आवश्यक छ । साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने पनि छ । आजको यो विशेष समारोहमा भने प्रा.डा.मुकेश चालिसेले मिहिनेतपूर्वक ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा विशद परिचर्चा गरिदिनुभएको छ ।

वाचित रचनामाथि साहित्यकार उपप्रा.हेम भण्डारीले टिप्पणी गरिदिनुभएको छ । कविहरू पनि आफ्नो व्यस्त समयका बाबजुद हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित भइदिनुभयो अनि असल स्रोताका रूपमा पनि गुणग्राही व्यक्तित्वको उपस्थितिका कारण आजको यो समारोह सार्थक बनेको छ । त्यसैले म सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्काे महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
– रमेश पाेखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rosani Karmacharya
Rosani Karmacharya
1 year ago

राम्रो सुचना मूलक छ सवैले अध्ययन गरेकोमा उत्तम ।

krishna bause
krishna bause
1 year ago

जानकारी र सकारात्मक दृष्टिकोणका साथ तयार पारिएको आलेख । बधाई छ मुकेश सर!

Nara Pallav
Nara Pallav
1 year ago

हार्दिक बधाई तथा शुभकामना ।

Nepal Telecom ad
3
0
Would love your thoughts, please comment.x
()
x