‘सरकार चिन्तित छ’
अधिकारीले घुस नलिओस् र वकिल पनि अपराधीलाई बचाउन नपुगोस् । साधु हो ! मिसावट र मुनाफाखोरीमा फाँसी हुन थालोस् त, तब बल्ल अपराधीहरू चिन्तित हुन थाल्नेछन् र सरकारले चिन्ता गर्नु नपर्ने हुनेछ ।
हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
साधु हो ! तिमीहरूले स्वतन्त्रता दिवस मनायौ । तर पानी पर्नाले बाहिरी उत्सवहरू भएनन् ।
साधु हो ! अङ्ग्रेज जाति पनि निकै चलाख छ । यसले भारत छोड्दाखेरि दुईवटा यस्ता काम गरेर गयो कि तिमीहरूले यसलाई सधैं भोग्नुपर्ने भयो । एउटा त पाकिस्तान बनायो जसले हामी निदाएको वेलामा हाम्रो कुर्थाभित्र पसेर वेलावेलामा हामीलाई टोकिरहन्छ । फेरि उनीहरूले स्वतन्त्रता पनि यस्तो मौसममा दिए कि जति वेला पनि खुब पानी दर्किरहन्छ । अनि के भन्दै गए भने ‘लौ हिन्दुस्तानी हो ! कस्तो मौसममा आजादी दिएर जाँदै छौं भने तिमीहरूले राम्रोसित मनाउन पनि पाउने छैनौ ।’
साधु हो ! स्वतन्त्रता दिवसपछि मैले अखबार उठाएर कहाँ के भएछ भनेर हेर्न खोजें । एउटा यस्तो समाचारमा मेरा आँखा परे – खानेकुरामा भएको मिसावटबाट सरकार चिन्तित !
साधु हो ! यो त खाद्य उपमन्त्री श्री थमस साहेबको वक्तव्य पो रहेछ ! म सोचमा परिरहें । साधु हो ! म के देख्दै छु भने बिचरो सरकार हरेक समस्यामा चिन्तित भइरहन्छ । भाउ बढे पनि सरकार चिन्तित हुन्छ । यता आएर चोरी र हत्या आदि हुँदा पनि मानिसहरू मन्त्रीजीसितै गुनासो गर्छन् । अनि मन्त्रीजी भन्छन् , ‘सरकार निकै चिन्तित छ ।’ उता सरकार चिन्तित हुन्छ, यता अपराधहरू अझ बढ्दै जान्छन् । रेलदुर्घटनाहरू हुन्छन् अनि सरकारले फेरि वक्तव्य निकाल्छ – बढ्दो रेलदुर्घटनाबाट सरकार चिन्तित छ ।
सरकार चिन्ताले दुब्लाउँदै जान्छ तर दुर्घटनाहरू कम हुँदैनन् । साधु हो ! बढ्दो महङ्गीबाट सरकार चिन्तित छ , बेरोजगारीबाट सरकार चिन्तित छ , शिक्षाको खस्किँदो स्तरबाट सरकार चिन्तित छ । साधु हो ! मेरो मनमा सरकारप्रति निकै टिठ जाग्छ । यो बिचरो चिन्तैचिन्ताले पिरोलिएर कसरी सुत्छ होला ! यदि यसै गरी सरकार चिन्तित भइरह्यो भने देशको हालत के होला ?
साधु हो ! सरकार त चिन्तित हुन्छ तर अपराधी भने चिन्तित हुँदैन । बढ्दो मूल्यले सरकार चिन्तित छ तर नाफाखोर व्यापारीलाई अलिकति पनि चिन्ता छैन । गुन्डागर्दीले सरकार चिन्तित छ तर गुन्डाहरू चिन्तित हुँदैनन् । अहिले मिसावटका कारण सरकार त चिन्तित छ तर मिसावट गर्नेहरू अलिकति पनि चिन्तित छैनन् । उनीहरू ढुक्क र निर्धक्कका साथ मिसावट गर्छन् ।
साधु हो ! मलाई यो अवस्था बडो अचम्मको लाग्छ । यसमा चोर त चिन्तित हुँदैन, बरू पुलिस चिन्तित हुन्छ । जसले अपराध गर्छन् उनीहरूलाई त चिन्ता हुँदैन तर जो अपराध समाउने हुन् उनीहरू भने चिन्तामा दुब्लाएका छन् । साधु हो ! कुनै दिन यस्तो समय पनि आउन सक्ला जब सरकारलाई त पटक्कै चिन्ता नहोस् तर चोर, मुनाफाखोर मिसावट गर्नेहरूलाई चिन्ता होस् ?
साधु हो ! सम्पूणर् समस्या त चिन्तित को हुन्छ भन्ने कुरामा निर्भर गर्छ । जहाँ गलत काम गर्नेहरू चिन्तित हुँदैनन् त्यहाँ सही काम कसरी हुन सक्ला ? हामी बजारबाट पिठो ल्याउँछौं अनि हामीलाई के चिन्ता हुन्छ भने कतै मिसावट त छैन ? कतै हामी बिरामी त परिन्नँ ? तर पिठोमा माटो मिसाउने मान्छे चिन्तित छैन । उसलाई के थाहा छ भने उसको कसैले केही बिगार्न सक्दैन ।
साधु हो ! तपाईं सोध्न सक्नुहुन्छ, ‘अपराधी कसरी चिन्तित हुन्छ त ?’ हालसालै सोभियत रुसमा मिसावटको अपराधमा मानिसहरूलाई फाँसी दिइएको त सुन्नुभएकै होला । तपाईं भन्नुहोला, मेरी बास्सै ! मिसावट गर्नेलाई फाँसी ? तर मिसावटले त एक जनाको हैन, समाजकै हत्या हुन्छ नि ! के यो हत्याभन्दा ठुलो अपराध होइन त ? यस्तो सजाय त त्यति वेला मात्र हुन सम्भव हुन्छ जति वेला कानुन कार्यान्वयनमा होस् र पुलिसले रिपोर्ट हेरफेर नगरोस्, अधिकारीले घुस नलिओस् र वकिल पनि अपराधीलाई बचाउन नपुगोस् । साधु हो ! मिसावट र मुनाफाखोरीमा फाँसी हुन थालोस् त, तब बल्ल अपराधीहरू चिन्तित हुन थाल्नेछन् र सरकारले चिन्ता गर्नु नपर्ने हुनेछ ।
०००
परसाइँ ग्रन्थावली- ५ बाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest