सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टेलिफोन

बालाई जब काम गर्दागर्दै दिक्क लाग्छ तब जसलाई पायो त्यसैलाई फोन गर्न थाल्नुहुन्छ । ‘के छ त खबर ?’ भनेर उहाँ सिरानीमा ढल्नुहुन्छ । केही बेरपछि भन्नुहुन्छ, ‘अरू के छ त नि खबर ?’ अनि खुट्टा पसार्नुहुन्छ ।

Nepal Telecom ad

हरिशङ्कर परशाईं :

अनुवाद :: रमेश समर्थन

एक जना वैज्ञानिक थिए । उनले संसारका आधा मान्छेहरू बाँकी आधा मान्छेको अनुहारसित घृणा त गर्छन् तर उनीहरूसित कुरा गर्न भने चाहन्छन् भन्ने थाहा पाए । उनले सोचे, कुनै यस्तो कल (यन्त्र) बनाउनुपर्छ जसबाट मान्छेको थुतुनो पनि हेर्न नपरोस् र कुरा पनि गर्न पाइयोस् । उनी त्यसै बेलादेखि काममा लागे । उनको घरभन्दा धेरै टाढा उनको एउटा शत्रु बस्थ्यो । वैज्ञानिकले एउटा तार लिए र त्यसका दुबै छेउमा एउटा एउटा चोंगा (रिसिभर) लगाए । त्यसपछि उनले त्यसको एउटा छेउ आफ्नो प्रयोगशालामा र अर्को शत्रुको घरमा लगाए । उनले वर्षौंसम्म प्रयोग गरिरहे । उनी सधैँ आफ्नो चोंगामा भन्थे, ‘तिमी बदमास हौ ।’ उताबाट कुनै जवाफ आउँदैनथ्यो । एक दिन उनले सधैँझैं भने, ‘तिमी बदमास हौ ।’ उताबाट रिसाएको उत्तर पाए, ‘तिमी पनि बदमास हौ ।’ वैज्ञानिक खुसीले उफ्रे । उनी आफ्ना पूर्वज आर्किमिडिजजस्तै नाङ्गै भएर सडकमा दगुर्न चाहन्थे, तर लुगा खोल्न नभ्याउँदै उनलाई लाग्यो, समय फेरिएको छ र मलाई पुलिसले समाउन सक्छ । वैज्ञानिक अनुसन्धानको महान् क्षणमा पनि मान्छेले पुलिसलाई बिर्सिन्न ।

यो मानवस्वतन्त्रताका निम्ति शुभ लक्षण हो । यस आविष्कारबाट मानवीय सम्बन्धहरूमा क्रान्ति नै भयो । अब शत्रुसित बोली बार्नुपर्ने आवश्यकता रहेन । उसको थुतुनो नहेरेरै पनि उससँग कुरा गर्न सकिन्छ । यी वैज्ञानिक पनि त्यति नै महान् सिद्ध भए जति जसले यदि कसैसित बोलीचाली बन्द भएको छ भने उसलाई खाममा सादा कागज राखेर पनि पत्राचार गर्न सकिन्छ भन्ने सूत्र पहिल्याएका थिए ।

टेलिफोनको आविष्कारबाट मनुष्यजातिको नैतिक स्तर उठ्यो । फोनमा साँचो र झुट्टा दुबै कुरा निकै सफाइका साथमा बोल्न सकिन्छ । मान्छे सामुन्नेमा त नडराइकन झुट बोलिदिन्छ तर साँचो बोल्न सङ्कोच मान्छ । टेलिफोनले गर्दा भने संसारमा झन्डै ६७ प्रतिशत साँचो कुरा हुन थालेको छ । यसले गर्दा मनुष्यजाति बढी वीर पनि बनेको छ । जसको छायाँसँग पनि डर लाग्छ त्यसलाई पनि फोनमा निर्धक्क गाली गर्न सकिन्छ अनि जबसम्म उसले यो फोन कहाँबाट आएको हो भन्ने पत्तो लगाएर तपाईंलाई कुट्न आउला तबसम्म तपाईंले सुइँकुच्चा पनि ठोकेर बँच्न सक्नुहुन्छ ।

अब म फोनको प्रयोगका तरिका बताउँछु । भारत पिछडिएको देश हो, त्यसैले यहाँ त मानिसले फोनमा कुरा गर्न पनि जान्दैनन् ।
घण्टी बज्नासाथ चोंगा उठाउनु हुँदैन । जब घण्टी थाकेर आराम गर्न थाल्छ अनि बल्ल उठाउनुपर्छ । यसबाट तपाईंलाई फोनहरू आइरहन्छन् भन्ने देखाउन पाइन्छ ।
चोंगा उठाएपछि त्यसमा खुब जोरले ‘हैलो’ भन्नुपर्छ । धेरै मानिसहरू यसको उच्चारण नै गलत गर्छन् । उनीहरू ‘हलो’ वा ‘हेलो’ भन्छन् । सही उच्चारण त्यति बेला मात्र हुन्छ जब तपाई खुब चिच्याएर र ‘है’ र ‘लो’ लाई छुट्याएर भन्नुहुन्छ, ‘है…….लो……!’ यसको फाइदा के छ भने तपाईंलाई बोलाउने मान्छे तपाईंसँग कुरा नगरी नहुने भए मात्र अडिने छ ।

फोनको रिसिभरमा दुईवटा खण्ड हुन्छन् । एउटा कानमा लगाएर सुन्नका लागि र अर्को बोल्नका लागि । मानिसहरू कानतिरको भाग त ठिकै गर्छन् तर मुखका भाग राम्ररी मिलाउँदैनन् । मनुष्यजातिको मुख तीन आकारको हुन्छ – चोंगाभन्दा सानो मुख, चोंगाभन्दा ठुलो मुख र चोंगाजत्रै मुख । अन्तिम प्रकारको मुखलाई चोंगा नै भने पनि काम चल्छ । यदि मुख चोंगाभन्दा ठुलो छ भने चोंगालाई मुखभित्र लैजानुपर्छ । यदि मुख सानो छ भने मुखैलाई चोंगामा घुसाउनुपर्छ । यदि दुबै बराबर छन् भने चोंगालाई मुखमा फिट गर्नुपर्छ । के ख्याल गर्नुपर्छ भने तपाईंसित कुरा गरिरहेको मानिस त तपाईंभन्दा निकै टाढा बसेको छ, त्यसैले चोंगामा मुख लगेर खुब जोरले बोल्नुपर्छ । मेरा बाजेले एक दिन फोन गर्दागर्दै चोंगालाई नै चबाउनुभएको थियो जसले गर्दा उहाँका दाँतै फुक्लेका थिए ।

पुरुष तथा महिलासँग कुरा गर्ने तरिका पनि फरकफरक छन् । पुरुषसित कुरा गर्दा आफ्नो स्वार्थसिद्धिको अनुपातमा स्वरलाई मिठो वा तितो बनाउनुपर्छ । बालाई जब बैंकको म्यानेजरसित ऋण लिनुपर्ने हुन्छ तब यस्तो लाग्छ उहाँको बोलीबाट पाकेको आँपको रस चुहेर तारबाट बग्दै बग्दै म्यानेजरको कानमा चुहिरहेको छ । कहिले जब बाले फोन उठाउनुहुन्छ र उताबाट कुनै नारीस्वर आइरहेको हुन्छ अनि त बा अकमकिएर भक्भकाउन थाल्नुहुन्छ, घुटुकघुटुक थुक निल्नुहुन्छ र स्याँस्याँ गर्न थाल्नुहुन्छ । उहाँका स्वरहरू टुक्रिएर निस्कन्छन् ।

फोनको घण्टी बजेपछि पहिल्यै आफ्नो नाम भन्ने होइन नि ! हुनत फोनको शिष्टाचारको नियम त के छ भने जसले फोन गरेको हो उसैले पहिले आफ्नो नाम बताउनुपर्छ । यसबाट एउटा खतरा छ र त्यो के भने उतातिर तपाईंसित उधारो लेनदेन गर्ने मान्छे रहेछ भने तपाईं पक्राउ पर्नुहुन्छ । त्यसैले ठुला व्यवसायी तथा नेताहरूले आफ्नो तर्फबाट झुट बोल्नकै लागि भनेर एउटा नोकर राखेका हुन्छन् । उसले फोन उठाउँछ, फोन गर्ने मान्छेको नाम सोध्छ अनि चोंगामा हात राखेर मालिकलाई सोध्छ, फलानासित कुरा गर्ने कि नगर्ने ? हामी कसैका निम्ति घरमा हुन्छौं भने कसैका लागि हुँदैनौं । जसलाई तिर्नु छ उसका लागि हुँदैनौं र जससित लिनु छ उसका लागि सधैं हाजिर हुन्छौं । जससित आफ्नो काम छ उसका लागि हुन्छौं भने जसलाई आफूसित काम छ उसका लागि हुँदैनौं । बाले जब फोन उठाउनुहुन्छ नि तब उताको मान्छेले जतिसुकै सोधे पनि उहाँले उहाँ उहाँ नै हुनुहुन्छ भनेर कहिल्यै भन्नुहुन्न । बरु उहाँले उससितै सोध्नुहुन्छ, ‘हजुर को हजुर बोल्दै हुनुहुन्छ ?’ बाका तर्फबाट झुट बोल्ने काम बाजेले पनि गरिदिनुहुन्छ । छोराले आफ्ना लागि आफ्ना बालाई झुट बोल्नुपर्ने अवस्थामा पुर्‍याउनु छोराको असल लक्षण हो ।

फोन दुई थरी हुन्छन् – कलरेटवाला फोन र सित्तैंवाला फोन । कलरेटवाला फोन गर्दा प्रतिकल पन्ध्र पैसा लाग्छ । त्यसैले जुन सहरमा कलरेट छ त्यहाँका बासिन्दाले अरूको फोनबाट कुरा गर्नुपर्छ । जसलाई फोन गर्नु छ उसको नम्बर लिएर निस्कनुस् । जहाँ जति बेला कुनै परिचितको घर देख्नुहुन्छ उसको घरमा गएर भन्नुस्, ‘बाहिर निस्केको थिएँ, अचानक अमुकलाई फोन गर्नुपर्ने कुरो सम्झें । उसलाई अत्यावश्यक फोन गर्नु छ । अब तपाईं उसको फोनबाट कुरा गर्नुस् र निस्किने बेलामा हातमा पन्ध्र पैसा लिएर देखाउनुस् । उसले भन्नेछ, ‘भो, भो पर्दैन ।’ तपाईं पैसा गोजीमा राख्नुस् । मान्छेले जुत्ताको पिटाइ एक वर्षमा बिर्सिन्छ, थप्पड छ महिनामा बिर्सिन्छ, गाली एक महिनामा बिर्सिन्छ र सित्तैंमा फोन गरेको कुरो एक सातामा बिर्सिन्छ । यसरी एउटा फोनबाट हरेक महिना चार पटक कुरा गर्न सकिन्छ ।

जहाँ कलको पैसा लाग्दैन त्यहाँ त सधैभरि फोन गरिरहनुपर्छ । बालाई जब काम गर्दागर्दै दिक्क लाग्छ तब जसलाई पायो त्यसैलाई फोन गर्न थाल्नुहुन्छ । ‘के छ त खबर ?’ भनेर उहाँ सिरानीमा ढल्नुहुन्छ । केही बेरपछि भन्नुहुन्छ, ‘अरू के छ त नि खबर ?’ अनि खुट्टा पसार्नुहुन्छ । केही बेरपछि फेरि सोध्नुहुन्छ, ‘अरू खबर के छ नि त ?’ अनि उत्तानो परेर आँखा चिम्लिनुहुन्छ । पल्टेकोपल्ट्यै कानमा रिसिभर लगाएर भन्नुहुन्छ, ‘अरू के छ त खबर ?’ यतिन्जेलमा उहाँको अल्छीले विदा लिन्छ अनि रिसिभरलाई राखेर काम गर्न थाल्नुहुन्छ ।

हामी कलरेट नहुनुको भरपुर फाइदा लिन्छौं । खुब कुरा गर्छौं । विदाका दिन त हामी दिनैभरि कुरा गरिरहन्छौं । आमा आफ्ना सँगीहरूसित घण्टौं कुरा गर्नुहुन्छ । बहिनीले पनि आफ्ना साथीहरूसित कुरा गर्छे । हामीले चोपडासाहेबको कुकुरसित आफ्नो कुकुरको कुराकानी पनि गराउँछौं । चोपडा साहेबको छोरो टोनी मेरो साथी हो । उसले आफ्नो कुकुरको मुखमा रिसिभर लगाइदिन्छ र मैले आफ्नो कुकुरको मुखमा लगाइदिन्छु । अनि मैले आफ्नो कुकुरलाई जिस्क्याइदिन्छु र ऊ भुक्न थाल्छ । यो भुकेको सुनेर उता चोपडासाहेबको कुकुर पनि भुक्न थाल्छ । यसरी कुकुरका पनि प्रश्नोत्तर चल्छन् । हामीलाई रमाइलो लाग्छ ।
यसै गरी टेलिफोनका कैयौँ फाइदाहरू छन् ।

स्कुलमा पढ्ने एउटा छात्रको नोटबुकमा मैले यो निबन्ध लेखेको देखेँ । यो ठुलाका लागि पनि कामलाग्ने देखेर जस्ताको त्यस्तै यहाँ दिँदै छु ।- लेखक

०००
(यो निबन्ध हिन्दी साहित्यका प्रखर व्यङ्ग्यकार हरिशंकर परसाईको ‘परसाई रचनावली-’ ३ बाट लिइएको हो । मूल लेखमा यो ‘टेलीफोन’ शीर्षकमा छ ।- अनुवादक)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
29 days ago

कति हाँस्नु हो ?😀 धन्यवाद हँसाउने लेखक अनुवादक दुवैले थरीलाई !

Nepal Telecom ad
इनाम र इमान

इनाम र इमान

हरिशंकर परसाईं
सम्मान र फ्रेक्चर

सम्मान र फ्रेक्चर

हरिशंकर परसाईं
एउटा अशुद्ध बेकुप

एउटा अशुद्ध बेकुप

हरिशंकर परसाईं
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
1
0
Would love your thoughts, please comment.x
()
x