एउटा ठूलो चोरी
म परसाईजीलाई पनि भन्न चाहन्छु, यदि उनले ‘सत्साहित्य’ लेखेका भए उनको घरमा चोरी हुँदैनथ्यो । आशा छ उनले भविष्यमा चोरकै डरले भए पनि सत्साहित्य लेख्ने छन् । समस्त सत्साहित्य चोरहरूकै डरले लेखिएको हुन्छ ।’
हरिशङ्कर पर्साईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
अखबारको आधा पृष्ठमा यस्तो समाचार छापिएको छ – अमुक प्रान्तका मुख्यमन्त्रीको महलमा चोरी भयो । कैयौँ लाखको । हिरा, मोती र नोट । मुन्द्राहरू सुनका । कुर्सी सुनको । मेच सुनको । मान्छे – हैन, महलबाट मान्छे चोरिएको थिएन । चोरिएको भए त्यो पनि सुनकै हुन्थ्यो ।
म यो समाचार पढ्दै गएँ र दुःखी हुँदै गएँ । सुनको थाली – हाइ ! सुनको कुर्सी – हाई ! सुनका गिलास – हाई ! हाई ! बितेका वर्षहरूमा राष्ट्रको रक्षाका निम्ति सुन चाहियो भनेर अपिलहरू भएका थिए । तर जुन सुन विधाताले चोरको नाममा लेखिदिएको थियो त्यो राष्ट्रले कसरी पाउँथ्यो ? त्यसो त राष्ट्रमा चोरहरू पनि पर्दछन् । अनि कहिलेकाहीँ त राष्ट्ररक्षाको नारा सबैभन्दा चर्को स्वरमा चोरहरू नै लगाउँछन् । राष्ट्रको रक्षाबाट त कहिलेकाहीँ चोरहरूको रक्षा भन्ने अर्थ पनि लाग्न सक्छ ।
जे होस्, म भने यस चोरीबाट दुःखी छु । तर मुख्यमन्त्रीको घरमा चोरी भयो भनेर चाहिँ होइन है ! सबै मुख्यमन्त्रीहरूको घरमा चोरी होस् न, मलाई के मतलब ! चौथो चुनावपछि त हरेक मुख्यमन्त्री, भूतपूर्व मुख्यमन्त्री, अभूतपूर्व मुख्यमन्त्री र उदीयमान मुख्यमन्त्री आफैले एम. एल. ए. चोरिरहेका छन् । उनीहरू अर्काको घरमा विधायक चोर्नका निम्ति पस्छन् अनि यता कुनै चोरले उनको घरबाट सुनका थालहरू चोरिदिन्छ । घाटा हुँदैन । अचेल एउटा विधायक सुनको थालीभन्दा बढी मूल्यको हुन्छ । दुःख त मलाई कुन कुराको पनि छैन भने ती चोरहरूमा एउटा चोर म परिनँ र एउटा सुनको थाल मेरो हातमा परेन ।
मलाई त यस्तो चोरी मेरो घरमा किन भएन भन्ने कुराको पो दुःख छ त ! यति ठुलो चोरी हुनुको आफ्नै एउटा गौरव छ, सुख छ । मेरो घरमा त कुनै सानोतिनो चोरी पनि भएन । चोरहरूको सूचीमा मेरो नामै छैन । मेरो त कहिल्यै बगली पनि काटिएको छैन । म हुलहालमा जान्छु । रेल, सिनेमा, प्रदर्शनी आदिमा दिनदिनै बगली काटिएको समाचार सुन्छु, तर बगलीमाराहरूले मलाई कुनै चुत्थो मान्छे ठानेर छाडिदिन्छन् । चोरहरू र बगलीमारहरूमा कहिल्यै मेरो नाम उठे पनि उनीहरू त्यसलाई त्यसै गरी पन्छाइदिन्छन् होला जसरी कांग्रेस अध्यक्षले कुनै वार्डको सदस्यलाई पन्छाइदिन्छन् । जुन लेखकले साहित्यमा ‘रिकगनिसन’ (मान्यता) नपाएको भनेर गुनासो गर्छन् उनीहरू मलाई हेरून् । मलाई त बगलीमाराहरूले पनि ‘रिकगनिसन’ दिँदैनन् । तिमीलाई आलोचकहरूसित गुनासो छ भने मलाई बगलीमाराहरूसित । यस भनाइको अर्थ म बगलीमारा र आलोचकलाई एकै किसिमका मान्छे मान्दछु भन्ने भने ननिकालियोस् है !
गएको महिना छिमेकीका घरहरूका ढोकाहरू फोरिएपछि भने अब मेरो घरको पालो आयो भन्ने आशा जागेको थियो । चोरलाई यसको घरमा धेरै नै माल छ भन्ने लागोस् भनेर मैले जस्केलो ढोकामा दुईवटा ताल्चा लगाइदिएँ । अनि दिनदिनै राति त केही होला भनेर आशा गरिरहन्थें । तर बिहान ताल्चा त्यत्तिकै झुन्डिएको देखेर दुःखी हुन्थेँ । कुनै चोरले पनि मलाई ‘सिरियसली’ लिइरहेको थिएन । सके उनीहरू आपसमा मेरो खिल्ली पनि उडाउँदा हुन् – यस बेकुपलाई त हेर न ! दुईवटा ताल्चा झुन्ड्याएको छ अनि भित्र ताल्चाको मूल्यजति पनि पैसा नहोला । एक रात पानी पर्न थालेपछि हामी भित्र गयौँ ।
मेरा भान्जाले ढोका उघारेपछि तर्सेर भने, ‘भित्र त दुई जना छन् नि ! मैनबत्ती बालेर चोरी गर्दै छन् ।’ मैले सोचेँ, अन्ततः चोरहरूले मेरो अवहेलना गर्न सकेनन् । जे भए पनि यस विषयमा त चोरहरू आलोचकभन्दा ठिक रहेछन् । आलोचकरूले त जिन्दगीभरि नै लेखकको अवहेलना गरिदिन्छन् । मैले सोचें, प्रतिष्ठाको क्षण अगाडि आएको छ । चिच्याएर टोलबासीलाई जम्मा पारिदिनुपर्यो । तर त्यसो नगर्दै एक पटक जाँच गर्नु उपयुक्त ठानें । चोरहरू र मेरा बिचमा निकै तनाव उत्पन्न भएको थियो र मैले उनीहरूमाथि विश्वासै गर्न छोडिदिएको थिएँ । त्यसैले मलाई उनीहरू मेरो घरमा आएका होलान् भन्ने कुरामा सन्देह थियो ।
मैले फेरि ढोका उघारेर हेरेँ। अगाडिको भित्तामा झुन्डिएको चित्रको सिसामा हामी मामाभान्जाको प्रतिविम्ब थियो र पर रहेको चिमको मधुरो प्रतिविम्ब थियो । भान्जालाई यसैको भ्रम परेको रहेछ । म निराश भएँ । अब दार्शनिक बन्नुभन्दा अर्को कुनै बाटो थिएन । सोचें, आफ्नो घरमा आफ्नै प्रतिविम्ब चोर बनेको छ । हरेक मान्छे आफूभन्दा बाहिर छ । अनि भित्र उसैको छायाँ चोर बनेर घुमिरहेको छ । हामीलाई थाहै हुँदैन तर हामी आफैं आफ्ना निम्ति चोर हौं । म स्वयम् आफूभित्रबाट चोरी गरेको माल कहिलेदेखि बजारमा बेचिरहेको छु ।
केही दिन त दर्शनले इच्छालाई थिचेर राख्यो तर फेरि प्रदर्शनको रहरले दर्शनलाई थिच्यो । जब यस ठुलो चोरीको समाचार पढ्छु अनि सोच्छु, यो चोरी मेरो घरमा हुँदो हो त कति रमाइलोे हुँदो हो ! समाचार भन्दै छ – पुलिसमन्त्री, पुलिसका इन्स्पेक्टर जनरल र उनका डिप्टीआदि तुरुन्तै घटनास्थलमा पुगे । सके यति बेला मन्त्रिमण्डलको आपातकालीन बैठक पनि चल्दै होला । सके गृहमन्त्रले राजिनामा दिनुपर्ला ।
म कल्पना गर्दै छु, यदि मेरो घरमा चोरी भएको भए त्यसको अखबारी ‘पब्लिसिटी’ कस्तो हुँदो हो । यस्तो समाचार छापिँदो हो –
‘गएराति हिन्दी लेखक हरिशङ्कर परसाईंको घरमा चोरी भयो । यस घटनाले समस्त साहित्यक्षेत्रमा हर्ष व्याप्त छ । हाम्रा संवाददाताले जब परसाईंजीसित सम्पर्क गरे अनि उहाँले चोरिएका सामानका विवरण दिँदै भन्नुभयो, ‘लगभग पचास हजार रुपैयाँ त नगद थियो ।’ पछिल्ला दिनमा आफ्नो इमान लिलाम गरेर उहाँले यो रकम प्राप्त गर्नुभएको थियो । यो त मानिसहरूलाई सम्झना होला नै । उहाँले भन्नुभयो, ‘एउटा सुनको कलम र कलमदानी थियो । यो त्यही कलम हो जसबाट गणेशजीले व्यासजीबाट ‘डिक्टेसन’ लिएका थिए । गणेशजीले यो कलम उहाँका निम्ति उहाँका पुर्खाहरूलाई दिएका थिए । एक जोडी सुनका कुण्डल पनि थिए जुन कालिदासले परसाईंजीका पुर्खालाई दिएर गएका थिए । सुनको एउटा ‘टीसेट’ पनि थियो ।’ परसाईजीको भनाइ के छ भने यो टीसेट भारतेन्दु हरिश्चन्द्रले आफ्नो जवलपुर प्रवासको अवसरमा उहाँलाई दिएका थिए । यी कुराहरू सुनेर हिन्दीका अर्का एक जना लेखक श्रीकान्त वर्माले टाउको ठोक्दै भने, ‘यो पनि अन्तिममा ‘फ्रड’ निस्क्यो ।’
‘यस घटनाको समाचार सुनेर हिन्दी साहित्य सम्मेलनका अध्यक्ष गोविन्ददास बाबुले भने, ‘म यसलाई हिन्दीप्रति चोरहरूको अन्याय मान्दछु अनि यसको विरोध गर्दछु । भारतीय चोरहरूमा यदि राष्ट्रभाषाको अलिकति पनि गौरव छ भने उनीहरूले अङग्रेजी लेखकको घरमा चोरी गर्नुपर्छ । म परसाईजीलाई पनि भन्न चाहन्छु, यदि उनले ‘सत्साहित्य’ लेखेका भए उनको घरमा चोरी हुँदैनथ्यो । आशा छ उनले भविष्यमा चोरकै डरले भए पनि सत्साहित्य लेख्ने छन् । समस्त सत्साहित्य चोरहरूकै डरले लेखिएको हुन्छ ।’
कहिल्यै त सुअवसर आओस् भनी म आफ्नो चोरीको ‘पब्लिसिटी’को यस्तो कल्पना गर्दै बसेको छु । तर कठिनाइ के छ भने चोरहरूको पनि ‘स्ट्यान्डर्ड’ बढेको छ अनि आफ्नो रुचि फेरिएको छ । उनीहरू लेखकको घरतिर त हेर्दा पनि हेर्दैनन् । बरु लेखकलाई नै चोरेर लैजान्छन् । बगलीमारा पनि ठूला भएका छन् । उनीहरू लेखकलाई नै आफ्नो बगलीमा लिएर हिँड्छन् । उनीहरूलाई कुनै बगलीमाराले उनलाई (लेखकलाई) लैजान्छ कि भन्ने खतरा रहिरहन्छ ।
०००
परसाईं रचनावली
Subscribe
Login
0 Comments
Oldest