सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निन्दारस

निन्दारसमा बगेर बोलीबाट अरुको कुरा नकाटे पनि अक्षरबाट अरुको कुरा काटिरहेको छु । वेदव्यासले उन्नाईसौं पुराणका रुपमा निन्दापुराण रचिदिएको भए सायद मैले अक्षर खर्च गरिराख्नु पर्दैनथ्यो होला ।

Nepal Telecom ad

मेरो एकजना साथी छन् । मसँग भेट भएपछि उनी, कसैको न कसैको कुरा काट्न थालीहाल्छन् । कुरा काट्ने उन्को अनौठो बानी छ । मसँग हुँदा उनी अरुको कुरा काट्छन्, अरुसँग हुँदा उनी मेरो कुरा काट्छन् भन्ने कुरामा म विस्वस्त छु । अचेलभरि म ऊसँग वढी सतर्क रहने गर्छु । कारण अरुको निन्दाभाव सुनेर समय वर्वाद पार्नुछैन । त्यसैले उनीसँग म जोगिई जोगिई हिँड्छु ।

कसैले मसँग जाति हुन, मेरो सामु अरुको कुरा मच्ची मच्ची काटिरहेको वेला मलाई झस्का पस्छ, यसले अरुको कुरा यसरी काट्ता मेरो कन्नापछाडि मेरै कुरा कति काट्तो हो । त्यसैलै उसले मसँग अरुको कुरा काटिरहेको वेला आज भोलि यस्तो लाग्न थालेको छ- यसले त मेरै पो कुरा काटिरहेको छ । यस्तो आभास पाउन थालेपछि निन्दारसप्रति वितृष्णा र घृणा उब्जिन थालेको छ । चारजना वसेको ठाउँमा जब अरुको कुरा काट्न थालिन्छ, निन्दा बखान्न थालिन्छ म कुनै नकुनै वाहना गरेर उठेर हिँडी दिन्छु । यी कानहरूले निन्दा सुन्नु नपरोस् भनेर हिँडेपछि मेरै पो धुवाँदार कुरा काटिँदो रहेछ । कति अचम्मको मनोविज्ञानमा अडिएको छ निन्दारस ।

रसशास्त्रीहरूले त्यत्रो नवरसको वारेमा व्याख्या विवेचना गरे । तर निन्दारस जस्तो जन जनको आत्मामा भिजेको रसको चर्चै गर्न भुले । निन्दारस जस्तो महत्वपूणर् रसलाई दसौं रसको रुपमा अंगिकार गर्न छुटाए । बरु कुनै कुनै रसशास्त्रीले वात्सल्य र भक्ति रसलाई दसौं एघारौं रसको रुपमा अवलम्वन गर्न आवाज उठाए तर निन्दारसलाई कसैले सम्झेनन् । मलाई लाग्छ सबै रसलाई माथ गर्ने, सबै भन्दा शक्तिशाली र भयंकर रस निन्दारसै हो ।

निन्दारस अङ्गीकार गर्न कुनै काव्यशास्त्रको पोथा पढिरहनु पर्दैन । विभाव, अनुभाव र संचारीभावको सूत्र कण्ठ गरिरहनु पर्दैन । साक्षरदेखि निरक्षरसम्म, राजादेखि रङ्कसम्म, पठितदेखि अपठितसम्म सबैलाई उत्तिकै उस्तै रुपमा गाँजिआएको रस हो निन्दारस । यो शृङ्गार रस भन्दा सुन्दर र स्वादिलो छ । वीर रस भन्दा बहादुर र बलियो छ । करुण रस भन्दा उद्रेक करुणामयी छ, अदभुत रस भन्दा विस्मयकारी छ । रौद्र रस भन्दा पनि वढी क्रोधाग्निका फिलिङ्गा बोकेको छ यसले । हाँस्य रस भन्दा हाँस उठ्ने, वीभत्स रस भन्दा जुगुप्सापूणर्, भयानक रस भन्दा डरलाग्दो र शान्त रस भन्दा परम निर्वेद आनन्दको रसभाव बोकेको रस निन्दारसै हो ।

निन्दारसको तागतलाई मैले विभिन्न समयसन्दर्भ र घटनाक्रममा सूक्ष्मरुपले अनुभूत गर्न पाएको छु । एकचोटि गाउँमा हामी एउटा मधौरु रुङ्गिरहेका थियौं । उनी तीन महिनादेखि थलिएर मृत्युशैयामा अन्तिम धुक्धुकी गनिरहेका थिए । छरछिमेकीहरू रातैपिच्छे पालैपालो रुङ्गिरहेका थिए । उनको अगाडि आइरहेको निकट मृत्युलाई पर्खिनु सिवाए कुनै विकल्प थिएन । शरीरमा हाडछाला मात्र बाँकी थियो । कुन तन्तुमा कुन अन्तर्शक्तिले एक मुठ्ठी प्राण अड्किएर रहेको हो, अनुमान गर्न गारो थियो । कृष्णपक्षको कालो रातमा डिबीको उज्यालो चम्किरहेको थियो । मधौरु रुङ्नेहरू झुण्डझण्ड भएर तास खेली रहेका थिए । तास खेल्न नजान्ने एक झुण्ड विरामीको नजिकै बसेर कसैको कुरा काट्न थाले । त्यो कुरा मधौरुको कानमा ठोकिएपछि मृत्युसैऽयाको विरामी जुरुक्क टाउको उठाएर- “ए ! त्यो फलाने… फलाने त यस्तो हो…” प्रतिक्रिया जनायो ।

दूध पियाउँदा मुन्टो थिग्राएर पियाउनुपर्ने अवस्थाको मधौरु निन्दारस जागेपछि जुरुक्क टाउको उठाउन सक्ने हुनु, टाठो वोली निकालेर निन्दा रसमा समेल हुनु मेरो निम्ति कम्ति विस्मयकारी दृश्य थिएन । निन्दारसको शक्तिलाई आंकलन गर्दा यसले मरेको मुर्दामा पनि प्राणरस सञ्चार गर्न सक्छ कि जस्तो लाग्छ ।

हाम्रा पूर्वजहरूले निर्माण गरेको एउटा उखान छ- मानो खानु आफ्नो कुरा काट्नु अरुको । यसबाट स्पस्ट हुन्छ, कुरा काट्ने संस्कृतिको सुरुवात आदिम कालदेखि नै भए जस्तो छ । हाम्रा च्याप्जुहरूलेनै आफ्नो दानापनी खाएर अरुको कुराकानी गर्न सिकाएकाले त्यो विरासत बोकिरहेका छौं ।

निन्दारस पाचनप्रणालीको पाचनरस जत्तिकै महत्वपूणर् र कामयावी देखिन्छ हाम्रो समाजमा । अर्काको नाटीकुटी नगरी खाएकै पच्तैन । अरुको निन्दाभ्रत्सर्ना नगरी डकारै आउदैन । अरुको चियोचर्चो नगरी निद्रै आउँदैन । मान्छे एक्ले हुँदा, एकलविचार प्रवाहमा दौडिँदा पनि अरुकै कुरावाट घोचिई रहेको हुन्छ । स्वचिन्तन भन्दा पर चिन्तनको तावामा डामिई रहेको हुन्छ । प्रत्येक पल उसको अन्तरबाट छुट्ने सोचाई र विचारका तरङ्गहरू अरु अरुसँगै केन्द्रित हुन्छन् । एक्लै हुँदा पनि आफ्ने मस्त्तिष्कमा निन्दाभावको झंझावात उठिरहेको हुन्छ । आफ्नो मनको प्रत्यंचाबाट विचारवाणहरू अरुको मुटु ताक्न हर्दम अग्रसर हुन्छन् । जब दुई जना व्यक्तिको संयोग हुन्छ, मन भित्रको निन्दाभावले वाणी पाउँछ । यो भाषामा अनावृत्त हुन्छ । दुईपछि तीन, तीनपछि चार, चारपछि पाँच हुँदै जाँदा यसको वर्तुल घेरा गुणात्मक रुपमा वृद्घि हुदै जान्छ । त्यसैले घरआँगन, कोठाचोटा, अफिस, चिया दोकान वाटोघाटो, पानीपधेरो, मेलापात, सभागोष्ठी, कचहरी, वैठक, कार्यक्रम जहाँतहीँ म निन्दारसमा मान्छे पौडिरहेको देख्छु । यी सवै सवै ठाउँमा हामी सिर्जनात्मक सोचाइ र कामकुरा भन्दा अरुको ध्वंसकारी निन्दामा जुटिरहेका हुन्छौं । सिर्जनात्मक समालोचनात्मक निन्दा भन्दा पनि परपीडनकारी निन्दामा रमाइरहेका हुन्छौं । मानौं हामी अर्काको निन्दा गर्न जन्मेका हौं, अरुलाई सराप्न धर्तीमा आएका हौं । निन्दाका दुईटा आयाम् छन्, सार्थक र निरर्थक । हामी सार्थक निन्दा भन्दा निरर्थक निन्दाबाट निर्देशित हुँदैगएका छौं ।

आजभोलि पत्रिकामा निन्दा छ, रेडियो टेलिभिजमा निन्दा छ, भाषणमा निन्दा छ, विज्ञप्तिमा छ, पाठ्यपुस्त्तकमा निन्दा छ, लेखरचना र कलामा निन्दा छ । निन्दा वेगरको चिजै पाउन मुस्किल छ । समाजका सवै वर्ग र अंगहरू निन्दारसमा डुब्दै गएकोले शनैः शनैः समाज निन्दाप्रेमी बन्दै गएको छ । निन्दासंस्कृति एउटा मजवुत संस्कृतिको रुपमा पालित पोषित हुँदै गएको छ । प्राकृतिक सम्पदामा यति धनी हामी, आन्तरिक सम्पदामा यति वैभवशाली हामी र पनि समृद्घिमा पुग्न किन ढिलाइ भो ? हामी किन पछि पर्‍र्यौं ? यस विषयमा घोत्लिँदा यसको मूलकारण कतै हमी निन्दारस र निन्दासंस्कृतिमा चुर्लुम डुवेकाले पछाडि परेका हौं कि मलाई शंका लाग्न थालेको छ । आफूले कदम वढाउने बेलामा अरुका खुट्टा तान्ने खेलमा लिप्त भयौं । आफूले उत्कर्षका उकाली उक्लिनु पर्ने बेलामा शिखर चढेको मान्छेलाई हेरेर फेदीमा बसेर ईष्र्यासंस्कृतिमा हुरहुरी जल्न थाल्यौं । निन्दा गर्नैपर्ने विषयको निन्दा गरेनौं, निन्दा लख्नैपर्ने विषयको निन्दा लेखेनौं, निन्दा बोल्नै पर्ने विषयको निन्दा बोलेनौं जुन, विषय र घटनाको निन्दा आवस्यक छैन । जुन व्यक्तिको निन्दा जरुरी छैन । त्यसलाई खोजीखोजी निन्दा गर्‍र्यौं । जसले हाम्रो समय, श्रम र शक्तिलाई अनावश्यक व्यय गरिदियो ।

आज जुन कुरामा सरोकार राख्नुपर्ने हो, त्यसप्रति मान्छे उदासिन छ । समाजको जुन विषय र समस्याप्रति चासो राखेर निरुपणको लागि सक्रिय बन्नुपर्ने हो, त्यसमा तटस्थ बनेर तर्किरहेछ । मात्र दर्शक बनेर दृश्यावलोकन गरिरहछ । उसको भूमिका समाजको अग्रगतिमा सार्थक सक्रिय भन्दा निरर्थक निष्क्रिय र तमासेको रुपमा अंकित भइरहेको छ । बेचासो र बेसरोकारको विषयमा रोजीरोजी, खोजीखोजी कुरा काटिहिँड्न आतुर छ आजको मान्छे ।

स्थानको हिसाबले हेर्दा जहाँतहाँ निन्दा छ । जो कोही निन्दामा निन्दामा डुबेका छन् । जहिले तहिले निन्दारत भावदशामा डुबिरहेका छन् । यसले गर्दा अहिले जन्मेका चिचिला नानीहरू सानैदेखि निन्दा सिक्न थालेका छन् । भत्र्सना जान्न थालेका छन् । नानीहरूका बालकृडालाई गौर गरी हेर्छु । उनीहरू खेल्दा गरेका कुराकानीलाई कतै छेलिएर कान दिन्छु । उनीहरू पनि अर्काकै कुरा काटिरहेका हुन्छन् । कति चाँडो निन्दाप्रवीण भएछन्, आश्चर्य लाग्छ । बच्चाको कोरा दिमागमा कति चाँडो निन्दा संस्कृति कोचिसकेछ ताज्जुब लाग्छ ।

निन्दारसले कति ठूलो सिर्जनशक्ति र समयलाई दुरुपयोग गरिरहेको छ, तथ्याङ्कमा त्यसको आंकलन निकाल्न गारो छ । ए बाबा अरुको अशल गुण र राम्रा पक्षको सराहना गर्न सक्तैनौं भने पनि फलानो खराबै हो भनेर प्रमाणित गर्न किन न्वारानदेखिको बल झिक्छौं ? तिमी राम्रो भन्न सक्तैनौ भने कम्त्तिमा नराम्रो त नभन, चुप लागेर तटस्थभावले त बसिदेऊ ।
निन्दा गर्ने स्वभावका मेरा हितैषीदेखि पनि आजभोलि मलाई औधी डर लाग्न थालेको छ । अरुलाई ठुङ्ने साँपले एकदिन मलाई पनि ठुङ्छ, अरुलाई टोक्ने कुकुरले एकदिन मलाई पनि नटोकी छाड्दैन । निन्दावृक्ष ईष्र्याको मलजलमा हुर्किंदो रहेछ ।

आफ्नो घाउलाई ओखती गरेर निको पार्न भन्दा अरुलाई पनि घाउ आएको हेर्न, घाउ छैन भने पनि घाउ पार्न बढी आनन्द मान्छ ईष्र्यालु मान्छे । ईष्र्या र निन्दा एउटै सिकाका दुई पाटा हुन् । यिनीहरू एकअर्काको अस्तित्वमा जीवित छन् । आफ्नो मनको उचाई भुलेर अर्काको घरको उचाईले मान्छेलाई अत्याधिक दुःखी तुल्याँउछ ।

मनको गहन तलमा अडिएको, टाँसिएको ईष्र्यावृक्ष नउखेली निन्दाभावबाट मुक्त हुन गारो छ । ईष्र्या स्वयंम्मा कति आत्मघाती छ भन्ने कुरा मैले कतै पढेको एउटा घटनाबाट स्पस्ट हुन्छ । एउटा बुढो किसान कतै एकान्तमा झोक्राइरहेको थियो । बर्षातपछिको ठूलो भलवाढीले पुर्याएको क्षेतिले ऊ चिन्तित थियो । उदासउदास भएर नदी किनारमा ऊ टोलाइरहेको बेला एक छिमेकीले ठूलो ठूलो स्वरमा सुनायो- “ए सुरज ! तेरा सबै सुँगुर बाढीले बगाइसक्यो । सुँगुरकै खोरमा बाढी पसिसक्यो त ।”
बुढाले सोध्यो- “हरियाका सुँगुर के भए नि ?”
छिमेकीले भन्यो- “ती पनि सबै बगे ।”
फेरि बुढाले सोध्यो- “अनि लल्लूको ?”
छिमेकीले पुन जवाफ दियो- “अँ ती पनि सवै बगे ।”
बुढो जोशिलो भएर खुशीसाथ बोल्यो- “त्यसो भा ठिक छ । सवैको लगेको हो भने हालत त्यति खराव हुँदैन, जति मैले सोचेको थिएँ ।”

प्रत्येक व्यक्ति दुःखमा हुँदा हामीलाई आनन्द लाग्छ, खुसी लाग्छ । आफूलाई छोडेर अरुलाई हानी भैरहँदा कुरा ठिकठिकै लाग्छ । अरु सफल बने भने, अरुलाई फाइदैफाइदा मिल्यो भने मन अमिलो बन्छ, चित्त कुँढिन्छ । ईष्र्या, द्वेष र मात्सर्यको यस्तो विषाक्त संस्कृति रौं-रौंमा गाडिएकोले सकारभित्र पनि नकार मात्र देख्छाैँ, अरुको खुशीमा आफू बेखुशी हुन्छौं । अरुको आनन्दमा आफ्नो पींडा सुम्सुम्याउँछौ । आफू आफ्नो कारणले भन्दा अरुको कारणले बढी दुःखी बन्छौ ।

सुरज नामको बुढो किसान आफ्ना सँगुर बगाउँदा दुःखी हुनुभन्दा पनि हरिया र लल्लूको बगाउँदा आनन्दित हुन्छ । ईष्र्याको मनोविज्ञान कति विचित्रको हुन्छ । यही ईष्र्याको जगमा पलाउने गर्छ निन्दाप्रेम । निन्दाप्रेम र निन्दारसले नै उत्प्रेरित गर्छ- हर्दम अरुको कुरा काट्न । म पनि अहिले निन्दारसको प्रतापले लेखिरहेको छु । निन्दारसमा बगेर बोलीबाट अरुको कुरा नकाटे पनि अक्षरबाट अरुको कुरा काटिरहेको छु । वेदव्यासले उन्नाईसौं पुराणका रुपमा निन्दापुराण रचिदिएको भए सायद मैले अक्षर खर्च गरिराख्नु पर्दैनथ्यो होला ।

कुनै दार्शनिकले भनेको सुनेको छु, जसको जति बढी निन्दा गरिन्छ । त्यस व्यक्तिले त्यतिनै बढी शक्ति प्राप्त गर्दछ । त्यसैले अरुको हर्दम कुरा काटेर उसलाई शक्तिशाली बनाउने पक्षमा म छुइनँ । आउनुस् अरुलाई आफ्नो ऊर्जा खर्च गरेर शक्तिशाली नबनाउने हो भने निन्दारसबाट बँच्ने गरौं । अरुको कुरा काट्न बाट जोगिएर आफ्नै कुरा काट्ने, आफ्नै दुर्गुण कुराको भत्र्सना गर्ने महान् काममा अघि बढौँ ।
जय स्वनिन्दा ।

०००
उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खोला झोलामा 

खोला झोलामा 

पुन्य कार्की
बाहुन र बाख्रो

बाहुन र बाख्रो

पुन्य कार्की
फेसबुक कि फँसबुक

फेसबुक कि फँसबुक

पुन्य कार्की
नक्कलको अक्कल

नक्कलको अक्कल

पुन्य कार्की
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे