साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बताहाहरूको बिगबिगी

तर बातविर बताहालाई गफ लाउन सदावहार छुट्टी छ । तर बुझ्नु एकदिन वताहालाई समयले कठोर चाबुक मार्नेछ, डाढभरि सुम्ला बसाउने छ । आङभरि लातको वर्षात छाड्ने छ ।

Nepal Telecom ad

पुण्य कार्की :

यतिखेर चारैतिर बताहाहरूको बिगबिगी देखिरहेछु । बताहाहरूको सार्वभौम स्वभाव हो । बातमाथि बात गर्नु, काममाथि हात नपार्नु । बतासे बातवीरको व्याप्तिले परिवेशलाई कर्याप्प गाँजेको छ, अहिले यत्रतत्र सर्वत्र झुण्डझुण्डमा गोलबन्द भएर बताहाहरु बातका खात लगाइरहेछन् । लाग्छ यो देश बातमा औधि अग्रणी छ । पुङ्माङ बतासे कुरामा कोही पछि छैनन् । चिनियाँहरुको स्वभावको बारेमा भर्खरै पढ्दै थिएँ, उनीहरु कुरा कम काम बढिमा जोड दिन्छन् अरे । तर हाम्रो स्वभाव काम कम कुरा बढि दोचार्ने खालको छ । त्यसैले हामी कुराका धनी कामका गरीब मान्छे बन्दैछौँ ।

जाहीँताहीँ बताहा बातवीरकै बाहुल्यता बढिरहेछ । कर्मठ मान्छेको संख्या घट्दो अवस्थामा छ । गफीहरुको संसार फराकिलो हुँदो छ । शिक्षालयहरुमा देख्छु, सिकाइ र अध्यापनमा भन्दा कुरा कथुर्ने अध्यापकको जमात बढि देख्छु । कार्यालयमा हेर्छु, सेवाग्राहीलाई सेवा टक्र्याउने भन्दा बेतुक कुरामा स मय खाइदिने कर्मचारीको बाहुल्यता देख्छु । चोक र चियापसलमा बिहान ब्यूझेँदेखि साँझ नढलुन्जेल बतासे कुरा उडाउने व्यक्तिको जमघट देख्छु । जाहीँताहीँ कुरा कथुर्ने मान्छेको खाँचो छैन ।

घरमा ढलेको लोटा नउठाउँनेहरु घण्टौँ सडकमा गफका पहाड उचालिरहेको देख्छु । शिक्षा, राजनीति, कानून, कुटनीति, समाजतन्त्र, अर्थतन्त्र, घरव्यवहार, बन्दव्यापार सवैतिर बताहाको बोलबाला चलिरहेको छ । तर बताहाका अनन्त बातले देशमा धमिरो उठिरहेछ । यिनका निरर्थक कुराले निपट अन्धकारतिर समाज घस्रिरहेछ । कतिपय क्षण यस्तो लाग्छ, जहाँ जाऊँ बताहाकै झुण्ड भेटिन्छ, जहाँ पुगूँ बताहाकै बात सुनिन्छ, यो स्थितिले यिनका अनुहारबाट मभित्र दिङमिङको भाव पैदा हुन्छ । यिनका कुरा कर्णविवरमा ठोक्किँदा छाला चिलाउने रोगले भेट्छ कि भन्ने डर छ, याने कि बताहाका बातले कतै एलर्जी त आउने होइन ।

बताहाका बातले कतिपय क्षण एक्काइसौँ शताब्दीको घण्टाकर्ण बनूँ कि भन्ने सोच पलाउँछ । पौराणिक मिथकको पात्र घण्टाकर्ण आफ्ना दुइटै कानमा ठूलठूला घण्टहरु झुण्डाएर हिडँथ्यो अरे ।अरुका कुरा सुन्नु नपरोस् भनी घण्टाकर्णले कानमा घण्ट जडेको कुरा कतै पढेको छु । मैले त कतिपय क्षण, असल कामकाजी मान्छेका सार्थक कुरापनि सुन्नुपर्छ, त्यसैले घण्टाकर्ण जस्तो कानमा घण्ट झुण्ड्याइहाल्नु पनि भएको छैन ।

सोलोडोलो सबै बतासे बातवीरमात्र होवैनन् भन्ने मेरो मान्यता रहिआएको छ । एउटा मान्छे पोखरीमा डुबेर फोहोर टिपिरहेको छ । अरु पचासजना बतासे बातवीरहरु भने नजिकैको चौतारीमा गफका चुट्की बजाइरहेछन् । अरु बातवीरहरु चियापसलमा बसेर पोखरी सफा गर्ने मान्छेको चियोचर्चो गरिरहेका छन् । उसको नाटीकुटीमा नाक चेप्याइरहेछन् । उसले फोहोरी काम ग¥यो भनी गिल्ला हाँसो उडाइरहेछन् ।

बस्ती नजिकको सडकमा कुकुर मरेर गाउँ दुर्गन्धित भएको तीनदिन बितिसक्यो । गाउँका गफीहरु चियापसलमा बसेर दुर्गन्धको चिन्ता पोखिरहेछन् । नगरपालिकाको निकम्मापन माथि भत्र्सना बोलिरहेछन् । नगरपालिकाले सिनो फालीदेला र स्वच्छ समिर नाकमा पस्ला भन्ने आशमा त्यसै विषयमा गफ गरेको कति दिन भयो ? उनीहरुलाई सबै मिली सिनो फालेर गाउँलाई दुर्गन्धमुक्त बनाऊँ भन्ने चेतनाले कुनै पनि दिन छोएन ।

बताहाको सिधा अर्थ नचाहिँदो निरर्थक कुरा धेरै गर्ने तर काम केही नगर्ने भन्ने हो । कुरा जस्तै काम गरेका भए त यो देशले समृद्धिको शिखरमा उहिल्यै टेकिसक्थ्यो होला । हावादारी कुरामा बकबक गर्नु यिनको सार्वभौम स्वभाव हो । आकाशमा हावामहल खडा गर्नु यिनको दैन्दिनीको कर्म हो ।

आकाशपातालका पाङ्दुरे गफ गरी मान्छेलाई सिल्पट बनाउने कला बतासे बातवीरहरुमा लबालब भरिएको हुन्छ । सिल्ली गफले शैल उठाउने सपना बुन्छन् यिनीहरु । गफकै भरमा निर्मल आकाशको छातीवीच निर्माणको नहर बगाउने कल्पना गर्छन् यिनीहरु । तर अफशोच ! आफ्नो सुख्खा सागबारीमा एक डोल पानी उघाएर छम्किन असमर्थ बन्छन् यिनीहरु । बरु केवल गुन्द्रुक रसको भरमा मात्रै तीन थाल हर्सुर्नुमा अपार आनन्द लाग्छ । काम गरेर हरियो सब्जी खाने चेतनाले गुँड लाउँदैन ।

शुष्क बोलीबाट सावर बर्साउने तर श्रमको नाममा एक थोपा पसिना नझार्नु यिनीहरुको साझा विशेषता हो । हावामा हवेली खडा गर्नु, हावामा सपना देख्नु, हावामा गफको विमान उडाउनु बताहाहरुको सनातनी विशेषता हो । बेसुरमा गफ जोत्नु सर्वाधिक रुचिको काम भएकाले यिनीहरुको साइनो असुर जगतसित नजिक गाँसिएको छ । सुर भएको मान्छे कदाचित बताहा हुन सक्दैन । अक्सर सुरहीन मान्छे नै बताहा हुन्छ । सुर याने कि होश । सुर यनिकी सचेतना । उहिले पनि सुर नभएको मान्छे स्वतः असुर बन्थ्यो । हाम्रा पुराण, धर्मशास्त्र र ग्रन्थहरुले त्यही कुरा बताउँछन् । बताहाको कुनै सुर नहुने हुँदा यिनको नातो असुर गणसितै जोडिएको होला भन्ने कुरामा म ढुक्क छु ।

हामी बेतुक बात मात्र थुपार्ने बताहा भएको कारण, काममा हर्दम पछाडि बातमा हर्दम अग्रणी भएको कारण आत्मनिर्भर हुन सकेनौँ, स्वनिर्भरताामा जिवित हुन सकेनौँ । अर्को देशबाट ल्याएको पेट्रोल जलाएर, मात्र देखिनलाई ठूला भएका हौँ, यथार्थमा हामी गुँइठा युगमा छौँ । हाम्रो गुँइठे बृद्धिले हामी गुइँठा युगमा छौँ ।हर्दम गफ जोत्न आउँछ हामीलाई, आफ्नो बञ्जर बारीमा फाली चलाउन आउँदैन । गाली गर्न आउँछ, बाली लाउन आउँदेन । कुरा चलाउन आउँछ, छुरा चलाउन आउँदैन ।

मुख चलाउन आउँछ, मार्तोल चलाउन आउँदैन । अकर्मण्यतामा रम्ने सनातन संस्कृतिले होला, मस्याङ मस्यौरा उत्पादन गर्न आउँदैन, अरुले फलाइदिएको मुङ खोजी हिड्छौँ । कुचो र खरेटोमा आत्मनिर्भर छैनौँ । अर्को मुलुकबाट कुचो आयात गरेर आफ्नो घरबढार्छौँ । नाथे कुचो बाट्न नसक्ने पङ्गु हामी गफका रकेट उडाउँछौँ । यस्तो पङ्गुपतित भएका छौँ, जसको वर्णन गरी साध्यै छैन ।

दिनदिनै सिल्ली सिल्पट बन्दै गएका छौँ । कर्मण्यतिरको यात्रामा होइन, हरदम कुरोकन्थोको यात्रामा भुलिएका छौँ । अनि दिनदिनै केहिले नछुने र नकाटिइने लबस्तरो पनि भएका छौँ । लबस्तरोलाई अर्को शब्दमा नहरनी पनि भनिन्छ । गैँडादिको छालाबाट निर्मित लबस्तरोमाछुरा उद्याइन्छ । छुरा जस्तो धारिलो चिजले फट्कार्दा पनि यसलाई कुनै असर गर्दैन । अर्थात् अङ्गमा चोट पार्न सक्तैन युसलाई । त्यही लबस्तरोको गुण मान्छे भित्रपनि भेटिन्छ ।

लाज पचाउनुको अर्थ सकिएपछि मान्छे निर्लज्ज बन्छ । लबस्तरो बन्छ । भित्रको संवेदना र विवेक मरेपछि केहीले घोच्ता पनि हामीलाई दुख्तैन । काट्ता पनि दुख्तैन । त्यसैले हर बताहामा लबस्तरो गुण टनाटन खाँदिएको पाउँछु ।

कर्मठ कर्मशील मान्छेलाईइ बेतुक बात गर्ने समयको अवकाश कहाँ छ र ? उसको लागि त समय हिराको मूल्यवान टुक्रा बरावर छ । ऊ निस्सार गफको फाँको हालेर आयु चपाउन सक्तैन । उनीहरुले प्रतिफल समयको एकएक धड्कनलाई कर्ममा नापेका हुन्छ्न । सिर्जनामा जाँचेका हुन्छन् । पौरख र पसिनामा छापेका हुन्छन् ।

तर बातविर बताहालाई गफ लाउन सदावहार छुट्टी छ । तर बुझ्नु एकदिन वताहालाई समयले कठोर चाबुक मार्नेछ, डाढभरि सुम्ला बसाउने छ । आङभरि लातको वर्षात छाड्ने छ । अनि क्रुर समयले उसलाई कष्टकसलाको काँढाघारीमा निर्मम रुपमा लतार्ने छ । यो कुरा चेतना भया ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x