साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोला झोलामा 

देशका खोलानाला, पाटीपौवा, मठमन्दिर र सार्वजनिक सरोकारका अनेकन् सम्पदालाई गोजीमा गुट्मुट्याएर राख्ने, आफ्नो स्वार्थमा दोहन र उपयोग गर्ने माफियाहरुको मूल धन्दा हो । यस धन्दामा  नेता सामेल छ, पाटी सामेल छ, प्रशासन सामेल छ, कर्मचारी सामेल छ र सबैको सामेलीमा कामको तामेली गर्ने गज्जबको सूत्र फिट भइरहेछ ।

Nepal Telecom ad
पुण्य कार्की :
दिनभरिको दौडधुप ऐँचातानाबाट विराम लिएर रात्रिकालीन समयमा केही लेख्न कलम समात्छु, झ्याप्प बिजुुलीको लाइन जान्छ । केही पढ्न किताब उठाउँछु ट्याप्प पङ्खा अड्किन्छ, अर्थात् भोल्टेज पुग्दैन क्यारे ! पङ्खालाई, हेर्दाहेर्दै त्यसको वायूवेगी रफ्तार धिमा गतिमा विश्रान्ति लिन्छ । चहकिलो बलिरहेको बुल मधुरो मधुरो हुँदै फिस्स निभ्छ ।
अँध्यारोको सामसुम सन्नाटामा त्रियुगा खोलाको सुसेली चर्को बनेर कणर्पटमा ठोक्किन्छ । बाल्यकालमा कोशीको घागी कराएको आवाज प्रखर बनेर आउँछ स्मृतिको आँगनभरि । मस्तिष्कमा ‘छखोला झोलामा’ राख्नेहरूको कथा सुसाउँछ । माफ गर्नुहोला, माफबाट माफिया शब्द बनेको होइन रहेछ । भाषाशास्त्र पढाउने मास्टर बनिटोपलेको म मुलाङ्खरे । जसरी जाँडबाट जडियाँ, घट्बाट घटिया, जितबाट जितुवा, हारबाट हरुवा, पादबाट पदुवा बन्यो, त्यसरी नै माफबाट माफिया बनेको हो कि अड्कल काटेकोथेँ । मेरो अड्कलले त्यतिखेर हावा खायो, जतिखेर यसको उद्भव स्रोत पत्ता लाग्यो ।
साँच्चै माफिया शब्द इटालियन भाषाको माफिसुबाट नेपालीमा नेपालीकरण भएको रहेछ । माफिसुको मुल अर्थ त तेजस्वी, महसुर, निर्भिक, उद्यमी पुरुष… के के हो ? के के ? हुँदोरहेछ । आफैँमा अति सुन्दर अर्थहरू बोकेको यो शब्द आज नेपालीमा घिनलाग्दो रूपमा अपभ्रंश भएको छ । अहिले तेजस्वीताको अर्थमा भन्दा पनि अपराध गर्ने, गैरकानूनी काम गर्ने व्यक्ति, संस्था, झुण्डहरू जसले देशका स्रोत साधन सम्पदा आफ्नो स्वार्थमा दोहन गर्ने तागत राख्तछ त्यस्तालाई पहिर्‍याउने संज्ञाको रुपमा यो शब्द प्रचलित छ ।
भाषामा शब्दहरूले आफ्ना परम्परित अर्थहरू गुमाउने खेल चलिरहन्छ । कुनै शब्द अर्थविस्तारमा जान्छन् । कुनै अर्थ सङ्कुचनमा पर्छन् । कुनै अर्थोपकर्षमा पदोन्नतिको सोपान चढ्छन् भने कुनै अर्थावनतिको निच दलदलमा खस्दछन् । कुनै समय काठमाडौंको खाल्डो जनाउने नेपाल शब्द अहिले आएर सिङ्गै मुलुक जनाउने शब्द भएको छ । प्राचीन कालमा गाई खोज्ने मान्छेलाई गवेषण भनिन्थ्यो, अहिले जुनसुकै विद्या, ज्ञान र विषयको खोजी गर्ने कार्यलाई गवेषण भनिन्छ ।
अरबी भाषामा विदेश जनाउन प्रयोग गरिएको विलायत शब्द अहिले नेपालीमा आइपुग्दा इङ्ल्याण्ड देश जनाउने शब्द भएको छ । उहिले तेलबाट निस्किने चिजलाई मात्र तेल भनिन्थ्यो । अहिले तोरी, सस्र्यूउँ, भटमास, चिउरी, सूर्यमुखी लगायत अनेकौँ चिजका द्रवलाई तेल नामले पुकारिन्छ ।
अंशुवर्माको पालामा सामन्त शब्द वडा आदरसूचक शब्द थियो । यसले राजा जनाउँथ्यो, धनीमानी मानिस जनाउँथ्यो । अहिले यसले सकारात्मक अर्थ गुमाएर शोषक अत्याचारी बुझाउने पदावली धारण सकेको छ । यसरी शब्दले जब शालीन अर्थ गुमाएर घटिया अर्थ जाहेर गर्छ तब आस्थामा अडेको मन अनास्थामा ओर्लिन्छ । संगतिमा बसेको समाज विसंगतिमा फँस्दछ ।
ओहो ! झोलामा खोला हाल्नेहरूको कथा हाल्न बसेको म; बहकिएर कता पो पुगेछु । खैर ! केही छैन । छिनछिनमा निभ्ने-बल्ने बिजुली बत्तीको कुरा गर्दा झोलामा खोला लुकाउने पापी मनुवाहरूको कुरा गर्नैपर्छ । नेपाल खोलानालामा धनी देश । भूगोलमा यति सानो देश भएरपनि आफ्नो छातीमा झण्डै छ हजार खोलानाला छाँगा छहाराहरू बुर्कुसी मार्दै बग्दछन् ।
यहाँको जलस्रोतलाई विद्युतिकरणमा उपयोग गर्ने हो भनेपनि यसैबाट बिजुलीको अपार व्यापार गर्न सकिन्छ भनिन्छ । हामीले उहिल्यैदेखि पढेको हौँ, नेपालका नदीनालाबाट तिरासी हजार मेघावाट विद्युत निकाल्न सकिन्छ । तर, अहिलेपनि जलस्रोतविद्हरुले ठोकुवा गरेर लेखेका छन्, बोलेका छन्, नेपालमा छयालीस हजार मेघावाट बिजुली सहज उत्पादन योग्य अवस्थामा छ ।
एउटै कोशी नदी लाङटाङ हिमालको गर्भदेखि कहिले पूर्व, कहिले उत्तरदक्षिण हुँदै बग्दा हजार किलोमिटर लामो नेपालको सात सय बीस किलोमिटर दौडिन्छ । यसको जमिन सिञ्चन गर्ने क्षमतालाई एक पित्को काहीँ उपयोगमा ल्याउन सकिएको होइन । भनिन्छ यसलेमात्र तेत्तीस हजार वर्ग किलोमटर जमिन सिँचाइ गर्ने क्षमता राख्तछ । विभिन्न ठाउँमा बाँध कसेर बाइस हजार मेघावाट विजुली निकाल्न सकिन्छ ।
यसैगरी कर्णालीबाट मात्रै बत्तीस हजार मेघवाट बिजुली निकाल्न सकिन्छ । कोशी कर्णालीको कुरा त सानो उदाहरण मात्र हो । यसै गरी प्रत्येक खोलामा अपार शक्ति बगिरहेको छ । यसलाई न विद्युतिकरणमा भरपुर उपयोग गर्न सकियो । न खानेपानीको हाहाकार भएका काकाकुल बस्ती र शहरहरूमा धारा बनाई खसाल्न सकियो । न सिँचाइका नहर कुला पैनी खनेर खेतबारीलाई हराभरा पार्न सकियो । न जलपर्यटनको जादूमयी ईन्द्रधनुष रच्न सकियो ।
खोलाजति झोलामा पोक्याएर जल-माफियाहरुले रजगज चलाएको देश हो यो । जलविद्युत आयोजना निर्माण गर्ने, त्यसको सर्भेक्षण गर्ने वाहनामा प्रत्येक खोलाको लाइसेन्स प्राप्त गर्ने अनि वर्षाैँ चुपचाप बस्न दिने अनौठो रोगले गाँजेको छ नेपाली खोलानालाहरूलाई ।
अख्तियारले झोलामा खोला च्यापी बस्ने मनुवाको लाइलेन्स खारेज गर्छु भन्छ । बूढो गोरुले गाई ओगटे जस्तो खोला ओगट्न पाइँदैन, कि जलविद्युत आयोजना बनाउनुपर्छ, कि खोलाको स्वामित्व छाड्नुपर्छ भनेर पत्रपत्रिकामा अनेक आवाजहरु उठ्छन् । ऊर्जा मन्त्रालय सुनेको नसुन्यै गर्छ । न माफियाको झोलामा कैद भएमा खोलालाई मुक्त गर्न सक्छ, न खोला लुकाउने माफियालाई कारवाहीको डण्डा उचालेर पुक्क हिर्काउन सक्छ । केहीपनि गर्न सक्तैन ।
मफियाले तलदेखि माथिसम्म नुन चटाएर सबका सबलाई गलाएको छ । यसो भनूँ- नेपालका हरेक निकाय र पदलाई उसैले चलाएको छ । हिसाब गर्दा एकसय छयासी भन्दा बढी आयोजना जल-माफियाको झोलामा बन्धक छन् । खोला ओगट्ने, लाइसेन्स विक्री गर्ने, कमिसन र कालो बजारीको गोलचक्करमा मुलुकलाई फँसाउने सनातनी रोगले नेपाली बिजुली उद्योगलाई साँच्चै मजाले थला परेको छ ।
झोलामा त खाजाभूजा हालिन्थ्यो । लुगाकपडा राखिन्थ्यो । झोलामै खोला कैद गर्नसक्ने महसुर-मनुवाका कीर्तिगाथा कहेर कही सकिँदैन । लेखेर लेखी सकिँदैन । खोला खाने खन्चुवाका विषयमा जति लेखेपनि त्यसले केही खालो सरेको होइन ।
आजभोलि झन् विचित्रको संयोग देख्छु यहाँ । कोही खोला खानेछन्, कोही खोले खान नपाउने छन् । कोही नून खान धौ धौ परेका मानिस छन् । कोही सुन खाएर सुन्निएका मनुवा छन् । कोही बालुवा चाल्नपनि नपाई बगरमा लम्पसार भोकै सुतेका छन् । कोही बालुवाटारको पटाङ्गिनी अलिकति पनि नचबाईकन स्वालात्तै निल्ने हन्तकालेहरू छन् ।
हिजोसम्म भात खान धौ धौ पर्ने भतुवाहरू रातारात फाइब स्टार होटलमा वियरले कुल्ला गर्ने मतुवा भएका छन् । जाबो झार चर्न नपाएर पेट काङ्गुली परेका रतुवाहरू नै आज खोला झोलामा राख्ने नटुवा भएका छन् । यिनैले हाकुचाको सुकुटीपनि खान भ्याएका छन् । टुकुचाको नालीपनि हसुर्न भ्याएका छन् । भर्तेम्मा रइँनीको कोटेबारीको कपासमा आँखा लाउनेपनि यिनै हुन्, कान्तिपुरी खाल्डोको ललिता निवास चिथोर्ने पनि यिनै हुन् ।
यी जातजातका खन्चुवाहरू झोलामा खोला राख्ने मनुवाकै सजातीय वंशज हुन् । देशका खोलानाला, पाटीपौवा, मठमन्दिर र सार्वजनिक सरोकारका अनेकन् सम्पदालाई गोजीमा गुट्मुट्याएर राख्ने, आफ्नो स्वार्थमा दोहन र उपयोग गर्ने माफियाहरुको मूल धन्दा हो । यस धन्दामा  नेता सामेल छ, पाटी सामेल छ, प्रशासन सामेल छ, कर्मचारी सामेल छ र सबैको सामेलीमा कामको तामेली गर्ने गज्जबको सूत्र फिट भइरहेछ यहाँ । त्यसै नेपाललाई  अज्जबको गज्जब नेपाल ! भनिएको हो ।
साँच्चै बिजुली निकाल्छु भनी अघि सर्ने उद्यमीले खोला पाउदैन यहाँ । खोला त माफियाले झोलामा पोक्याइ बसेको छ । न आफू गर्छ, न अरुलाई सहज रुपमा गर्न दिन्छ । सिर्फ ओगट्नु र अल्मल्याउनु उसको उद्देश्य हो । देशलाई जति धेरै अविकास र अवरोधमा राख्यो, उसलाई त्यति नै शुभ-लाभ हासिल हुन्छ । त्यसैले त देश जति जति दूर्गतितिर जाँदो छ, त्यति त्यति विचौलिया, माफिया, तस्कर र दुई नम्बरीहरुको उन्नति चुलिँदो छ । देश र आमजनता कङ्गलाभिमुख बनिरहेको परिवेशमा माफिया भने धनी महाधनी हुँदै गएको देश हो यो । जय जल-माफिया !!
०००
उदयपुर
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x