साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुक कि फँसबुक

एकाथरि मानिस जो राजनीतिको रसमा चुर्लुम्म डुबेका हुन्छन् उनीहरू गठबन्धनको सिजन छ, फेसबुकमै सांसद तानतुन  पार्छन्, अंक गणितीय जोड घटाउ मिलाउँछन् चलिराखेको सरकार फेसबुकमै गिराउँछन्, ढलाउछन्,

Nepal Telecom ad

पुण्य कार्की :

मेरो हृदयमा अड्डा जमाएका एक कवि छन्, जसले फेसबुकलाई फँसबुकको संज्ञा दिएका छन् र त्यो संज्ञा अचेल मलाई औधि मन पर्न थालेको छ । आज उनको त्यस मतमा सोरैआना समर्थन जनाउन यो कलम उचाल्दैछु । तपाईंलाई थाहा छँदैछ, बुकको जुग आरम्भ भएपछि कोर्सबुक, पर्सबुक, नोटबुक, भोटबुक, टेक्स्टबुक, गाइडबुक, गेसपेपरबुक, स्टडीबुक, रिफरेन्सबुक आदित्यादि किसिमका बुकहरूको आविष्कार भयो । अँध्यारो युगमा निरक्षरी चोला गुजारा गरिरहेको मनुख्खेलाई बुककै हुकले तानेर अचेतनाको दलदलबाट चेतनको स्वणर्शिखर टेकायो । ज्ञानको झल्झलाकार ज्योति देखायो । अनेकन बुकको व्याप्ति शृङखलामा जुके ब्रोले खोई कुन बुद्धि लाएर हो, विना कागजको, विना मसीको, विना कलमको, विना इलमको बुक निकाली दिए, जसको नाम छ फेसबुक ।

फेसबुकलाई ठेट नेपालीमा मुहार-पुस्तिका, अनुहार-पुस्तिका, चेहेरा-पुस्तिका, थोपडा-पुस्तिका जे नामकरण गर्दा पनि हुन्छ । सायद सुरुमा फेसको यानेकी अनुहारको फोटो लोड गर्ने हेतुले यो पुस्तिका आविष्कार भएको हुनुपर्छ । त्यसैले त यसका प्रणेताले यो चिजको नाम फेसबुक राखे होलान् । तर, अहिले फेसलाई भन्दा केसलाई बढी महत्व दिने जमाना छ । फेस त प्रकृतिको बनावट हो, सिँगारपटारको रंगरोगनले थोरै चमक-धमक थप्न सकिएला । यसको मुल संरचनामा आमूल परिवर्तन गर्न किमार्थ सकिँदैन । तर, केसको कुरा अर्कै छ, यसको छँटाइ, कटाइ र जुल्फी लर्काइको ढाँचाले यसमा खालखालको बान्की झिक्न सकिन्छ । नाथे केसलाई खालखालको खान्की टकार्न सकिन्छ । तेलदेखि जेलसम्म, चिम्टी-बिन्दीदेखि रङ-रङका मेहन्दीले कपाल सजाएर यो बुकमा सजाएको देख्ता अचेल फेसबुक केशबुक भएको हो कि भन्ने आभास हुन्छ ।

हुन त फेसको शिरोभाग केसै हो; जुल्फी, टुप्पी, चुल्ठो, जटा, जगटासम्मको विज्ञापन यसमा आउनु स्वभाविकै छ । केसपाशमात्र किन शरीरका कनै पनि अवयव यसमा सजाउनमा खातिर राख्छ मानिस । मृगनयनी लोचनदेखि बारुले कम्मरसम्मका फोटो यसको भित्ता टाँगिने गर्छ । अहिलेको वैश्य युगिन बजारले नारी या पुरुषका शरीरलाई टुक्राटुक्रा पारेर वस्तुको विज्ञापनमा चोकबजारमा मात्रै टाँगेको छैन कि फेसबुक त आफ्नै शरीर र छालाको विज्ञापनमा कामयावी साधनै बनेको छ । सुकोमल सुडौला शरीरका अङ्गप्रत्यङ्गहरू आँखा, ओठ, नितम्ब, वक्षस्थल, कम्मर, छाती, दन्त लहरका बान्कीहरू फेसबुकमा बग्रेल्ती पढ्न पाइन्छ । तर, अहिले तपाईं देखिराख्नु भएको छ, फेसलाई छोडेर मान्छे लौका, गट्टा, काँक्रा, फर्सी, घिरौँला, मुला, गाँजर, चिचिण्डा र कुभिण्डासम्मका फोटाहरू यस बुकमा सजाउन थालेको छ ।

एउटाले “कौसीको फर्सी” भनेर सानो सानो गट्टाको चित्र पोस्ट्यायो, अर्कीले आफ्नो त कोठेबारीमा “तीन हातको लौका फल्यो” भन्दै डेढ हात उफ्रेर सिर्फ डेढ बित्ताको लौकाको फोटो पोस्ट्याइन् । सेलफोन भित्रै छ जादूगरी क्यामेरा । यसलाई न कोडाक रिल लोड गर्नुपर्छ, न फोटो धुलाउन कलरल्याव कुद्नु पर्छ । बाना मिलाएर खिच्यो भने तीन बित्ताको लौकालाई तीन हात होइन पाँच हात पनि बनाइदिन्छ यसले । दुनियाँका आँखालाई सजिलै छारो हाल्न सफल छ अहिलेको प्रविधि ।

जसले जे भनून्, पाखण्डको अखण्ड किर्तन गाउने थाले पनि यही फेसबुक भएको छ । सृजनको कुञ्ज पनि फेसबुक बनेको छ, विध्वंस र विकृतिको पुञ्ज पनि फेसबुक भएको छ । आफ्नो पौरखको पोज बजार्ने ठाउँ पनि यही फेसबुक भएको छ । गति र गवेषणाको खोज उतार्ने थलो पनि यही फेसबुक बनेको छ ।

विश्वविद्यालयको दीक्षान्तमा पहिरेको कालो गाउनदेखि साउनका हरिया चुरा, हरिया पोते, हरिया सारी, त्यसमा सजिएका नौरङ्गी नारीहरूका फोटाहरू यसकै वालमा पढ्न पाइन्छ । कस्तो बुक निकाल्यो, निकाल्यो जुके ब्रोले, यो बुक पढ्नलाई अक्षर चिन्नैपर्दैन । जसले पनि फोटो पढिदिन सक्छ, आफ्नो मनमष्तिस्कबाट आफूलाई पायक पर्ने गरी अर्थ झिकिदिन सक्छ ।

कुनै पोल्टी फार्मरले कुखुराको खोर टालेको फोटो पनि हालेकै छ । कुनै कुँडादान (डस्टविन) मा मरेको मुसो फालेको फोटो पनि डालेकै छ । सदियौँदेखि कोदो मकैको खान्कीले आफ्नो खुट्टामा उभिएको मुलुक अहिले अर्को देशको सेतो चामल बेसाएर खाने भाते बनेको छ । कथित आजका भातेहरू “कोदाको ढिँडो रोटी खाँदै गरेको अवस्था” भन्दै ढिँडो-रोटीको गाँस मुखमा पुर्‍याएको दृश्य पनि फेसबुकमै हालेको छ । छेरपाटे लागेर चर्पी कुदेको दृश्यलाई “कोदाले करामत गरेको अवस्था” भन्दै यसैमा पोस्ट्याएको छ । बाउआमाले वाल्यकालमा खुवाएको कोदे-लिटाको लेउ अझै आमाशयमा माम्री परेर बसेको होला ? तर, त्यो मनुवा हेर्दाहेर्दै नम्बरी जाउले, भाते चामले बनिसक्यो । आडम्बरी जनका लागि आडम्बर बखान्ने आखडै बन्यो फेसबुक ।

फेसबुकमा “अवस्था”पनि कति हुन् कति । अवस्थाका फोटापनि कति हुन् कति । कन्तीमा सिठन भुटेको अवस्था पनि देखाएकै छ, त्योसित दारुको भुुटुन भुँडीमा हुलेको पनि देखाएकै छ । वर्फी चुसेको फोटो पनि हालेकै छ । छुर्पी चबाको फोटो पनि हालेकै छ । सादीसुदा स्वयम्वरको फोटो पनि यसैमा आउँछ । शेष जीवन समाप्तिमा सुनपानी पियाएको फोटो पनि यहीँ छ । जोई घिसारेको अवस्थादेखि पोइ लछारेको अवस्थासम्म फेसबुककै वालमा दर्शन पाइन्छ । हुँदाहुँदा बाउको सराददेखि अदालतको फिरादसम्मका दृश्य यसकै भित्तामा छाउँछन् । गाडी किनेको कुरादेखि साडी किनेको फोटोसम्म, जुम्रा टिपेको कुरादेखि झुम्रा भिरेको दृश्यसम्म, सत्यनारायणको कीर्तनदेखि सासूबुहारीको टिकटके नर्तनसम्म यसकै आँगन र मझेरीमा देख्न पाइन्छ । यसको महिमा अपरम्पार छ ।

नव-यौवनाको विवाहदेखि पण्डितजीको नवाह वाचनसम्म फेसबुकमा हेर्न पाइन्छ । बाहुन बाजेलाई गरेको सिदा दानदेखि पास्नी, छेवर, जन्म, जन्मोत्सव, न्वारन, ब्रतबन्ध र मृत्यु सबैसबै संस्कार संस्कृति फेसबुकमै दर्शन गर्न सकिन्छ । आमाको भँुडीबाट बच्चो धर्तीमा राम्रोसित ओर्लिन पाएको हुन्न, ऊ फेसबुकमै भाइरल भैसक्छ । आलुबाजेदेखि भेलुबाजेसम्म, बँड्कुलीवालीदेखि तरकारी वालीसम्मलाई भाइरल गराउने फेसबुकै हो । हुँदाहुँदा एउटा मनुवाले त लाससित सेल्फी खिचेर फेसबुकमा पोस्ट्यायो । आडम्बर र अहङ्कार देखाउने डबली पनि यही । सृजन-सरिताको मनमोहक चौतारी पनि यही । यसको महिमागान गाइनसक्नु छ । यसले पस्केको व्यञ्जन-विविधा खाएर खाइनसक्नु छ ।

प्रिय कविज्यूको शब्द सापटी लिएर भन्दा यो चिज थोरै फेसबुक धेरै फँसबुक बन्दै गएको छ आजभोलि । अर्थात् यसको लतमा मान्छे यसरी फँस्तैछ, एक तथ्याङ्कले देखाएको छ- मानिसको करिवकरिव वीस प्रतिशत समय यसको गहिरो लतले खाइदिन थालेको छ । मनोवैज्ञानिकहरू यसलाई डरलाग्दो संकेतको रुपमा विश्लेषण गर्दछन् । समाज र व्यक्तिको जीवनमा यसले ल्याएका मनोदैहिक र मनोसामाजिक समस्याहरू निश्चयनै सुखद् छैनन् । तथापि प्रविधिले फड्को हानेको सन्धिकालमा उभिएका छाँै हामी । यसको आवश्यकता र उपयोगितालाई विल्कुल नकार्न पनि सक्तैनाँै ।

वयस्य, वृद्ध, बाल, बनिता सबै सबैलाई यसले आफ्नो अँगालोमा बेरिसकेको छ । आफ्नो घरायसी कामधन्दा एकातिर छ, फेसबुकमा झुण्डेपछि मरेकाटे सेलफोनको स्क्रीनबाट आँँखा अन्त लग्ने होइनन् । तिहुन ओइरेर चुलामा बसेकी गृहिणी हुन् या सामान तौलिन तुलामा बसेको तुलाधर होस्, न तिहुन डढेको कुरा थाहा हुन्छ, न ग्राहक उडेको कुरा थाहा हुन्छ । फेसबुकमा को फँसेको छैन र ? हाकिमदेखि कारिन्दासम्म, नेतादेखि कार्यकर्तासम्म, विद्वानदेखि मूर्खसम्म, शिक्षकदेखि विद्यार्थीसम्म, बाजेदेखि नातिसम्म सबै सबै यसको लतबाट कोही काहीँ चोखो छैन ।

मैले चिनेको एक युवाले फेसबुकमै फँसेर कुनै केटीसित पिरती गाँस्यो । फेसबुकबाटै प्रेमालापका लागि आवश्यक डेटिङ फेटिङ के के जाति सबै गर्न भ्यायो । आखिर विवाहपनि फेसबुकबाटै भयो । दाइजो लेनदेनापनि भयो । विवाहपछि सँगै बाँच्ने सँगै मर्ने बाचा कसम गरी एकठाउँ बस्न थाले । सँगै दाम्पत्य जीवन बिताएको तीन महिनापनि भएको थिएन । उनीहरूका वीच गहिरो खटपट सुरु भयो । उनीहरूको तनावको मूल कारण थियो- उनीहरू दुवै बेरोजगार थिए । आय-आर्जनको कुनै गतिलो स्रोत थिएन । श्रीमतीलाई कोठैमा छोडेर ऊ विदेश हान्नियो । केटी तीन महिनापनि केटाको सत्मा अड्न सकिन । फेसबुकमै उसको लाइन कुनै अरु दुईचारथान युवा थिए । उसले फेसबुकबाटै अर्को केटासित विवाह गरी, त्यसको सूचना फेसबुकबाटै पहिलो लोग्नेलाई पठाई, यसरी फेसबुकले गराएको विवाह फेसबुकमै अन्त्य भयो ।

विवाह र पारपाचुकेको कुरामात्र किन ? एकाथरि मानिस जो राजनीतिको रसमा चुर्लुम्म डुबेका हुन्छन् उनीहरू गठबन्धनको सिजन छ, फेसबुकमै सांसद तानतुन  पार्छन्, अंक गणितीय जोड घटाउ मिलाउँछन् चलिराखेको सरकार फेसबुकमै गिराउँछन्, ढलाउछन्, आपतकालीन सभा बोलाउछन् । नयाँ सरकार बनाउछन् । शपथ खिलाउँछन् । मन्त्रालय र मन्त्री पदको भागवण्डा पनि आफ्नो मनमाफिक बाँडिभ्याउँछन् । सरकार गिराउनेदेखि बनाउनेसम्मका खेल फेसबुकमै सम्पन्न भैसक्छ । मनका लड्डु खाने रिकापी भएको छ फेसबुक आजभोलि ।

कतै पढेको छु, दैनिक पाँचसय मिलियन मनुवाले फेसबुक हेर्छन् चलाउँछन् अरे । सबैले यसको दुरुपयोगकै गरेका छन्, त्यो पनि होइन । यसले सूचना सम्प्रेषणको दुनियाँलाई अत्यन्त चुस्त बनाइदिएको छ, व्यक्ति-व्यक्तिलाई आफ्नो कुरा प्रकाशित गर्न एउटा मञ्च या चौतारी दिएको छ । वर्षाैंदेखि  हराएका आफन्तहरू, साथीहरू भेटिएका छन् यहाँ । आफ्नो सीप, कला, सृजना र चेतनाको अभूतपूर्व प्रशारण भएको छ । यसका उपादेयता र फाइदाहरू पनि त्यत्तिकै छन् सदुपयोग गर्न सक्ता । तर, मानिस यस्तो भयो- नपाउनेले केरा पायो, बोक्रैसँग खायोको उखानसँग ठ्याक्कै मिल्ने खालको भयो ।

यसको सदुपयोगमा भन्दा घोर दुरुपयोगमा रुचि र रस जागेको देखिन्छ । दिन परदिन यसको एडिक्ट पो भयो मानिस । यसमा यसरी फँस्यो- भोक तिर्खा बिर्स्याे  । निद्रा बिर्स्याे। जीवनको महामुद्रा बिर्स्याे । रक्सी, गाँजा, चुरोटको अम्मल भन्दा चर्को अम्मलको रुपमा आएको छ यसको अम्मल । त्यसै विश्व स्वास्थ्य संगठनले स्क्रीन एडिक्टको नयाँ परिभाषा रच्छ ?

कुनै पनि अम्मल या लतले देखिने या नदेखिने रुपमा समय, सम्पत्ति र स्वास्थ्यको वर्वादी गर्दछ । नजानिँदो रुपमा यसले पनि जीवनका यी तीनै तत्वलाई दख्खल गर्दोछ । तर, एक्काइसौँ शदीको मनुख्खे अरुकै नक्कल गर्दोछ ।
आफ्नै स्व-अस्तित्वको स्वादमा बाँच्नुपर्ने मानिस फेसबुकमा अरुले गर्ने लाइक, कमेन्ट र भ्यूज गनेर बाँच्ने निरीह प्राणीको दर्जामा ओर्लिएका छम् हामी । यो कुरा दुःखद छ ।

मैले फेसबुके अमल्चीहरूलाई एउटा चोर औँलो तेर्स्याएर निन्दा बोलिरहेको बखत बाँकी चार ओटा औँला मतिरै कुप्रो परेर कुरीकुरी गरिरहेका छन् । मपनि तिनै अमल्चीको लाममा कतै उभिएर यसको क्षमा-प्रार्थना लेखिरहेको छु । म पानी माथिको ओबानो बन्नु पनि परेको छैन । आफैँ त चुपिचल्ल भिजी नै सकेको छु । आफैँ सामिष छु भने के निरामिषको गीत गाउनु ? तथापि मानिस यस्तो प्राणी हो, जो आफ्नो आङको भैसी देख्तैन । तर, अरुको आङको जुम्रो त के सुलसुलेको पुच्छर पनि सजिलै देख्नसक्छ ।

मार्क जुकेरवर्गले यो किताबलाई किन फेसबुक भनेछन्, फँसबुक भनेका भए यो मध्यरातमा फँसफँस निदाइ पो हाल्थेँ कि ?

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x