भक्तबहादुर नेपालीकवाडी र गफाडी
कि लेख्छ ऊ त नेताकै गफ बढाई चढाई तिललाई पहाड बनाउँछ अनि रमाई-रमाई आउन आऊ कवाडी भाइ गफाडी लैजाऊ निशुल्क दिन्छौँ भाडा नि तिर्छौँ छिट्टै नै लैजाऊ ।

कवाडी भाइ घर-घर आई त्यो पत्रु उठाउँछ
पत्रुलाई पनि सुधार गरि सुन्दर बनाउँछ
त्यसको उल्टो गफाडी नेता गफ नै लडाउँछ
सुन्दर सान्त यो देशलाई गलाउँछ सडाउँछ ।
कवाडी जाति हितैषी साथी के बयान गरौँ र
उसको सेवा देशलाई मेवा के बुट्टा भरौँ र
कवाडी पनि किनेर लान्छ सित्तैँमा लाँदैन
आफ्नो नै कमाई ऊ खान्छ रमाई अरुको खाँदैन ।
यही नै मुख्य भिन्नता छ है यी दुईहरूमा
उसको जस्तो रचना सीप पाइन्न अरुमा
गुणीका बैरी समाज हाम्रो, उपकार देख्दैन
कविले पनि किन हो उसको गीत नै लेख्दैन ।
कि लेख्छ ऊ त नेताकै गफ बढाई चढाई
तिललाई पहाड बनाउँछ अनि रमाई-रमाई
आउन आऊ कवाडी भाइ गफाडी लैजाऊ
निशुल्क दिन्छौँ भाडा नि तिर्छौँ छिट्टै नै लैजाऊ ।
राख्न नै हुन्न यो देशभित्र कोसीमा बगाऊ
तिमी र हामी मिलेर अब यो देश बनाउँ
कवाडी धेरै लाग्दछ काम गफाडी लाग्दैन
ऊ नै हो पत्रु देशको शत्रु क्यै काम लाग्दैन ।
०००
२०७९।६।१५।
जाउलाखेल, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































