कुइरे पस्यो यो देशमा
डाँडा पारि धारो पानी ल्याउन गारो, कसोगरि म भरौँ बुद्धीजीवी भन्छन् झोलै बोकी हिँड्छन यिन्का कुरा के गरौँ ।
(असारे भाकामा)
असारको महिमा अब किन छैन, लाठे रोपार बिदेशमा
लाउके र टाउके गफै मात्र लाउँछन् के होला खोइ यो देशमा
कस्ले हाल्यो भाँजो, खेतै रह्यो बाँझो किन होला यो देशमा ?
पिर माथि पिर, यो मन छैन थिर कुइरे पस्यो यो देशमा ।
पौरखी हात बिदेशमा गयो, झोले मात्र नेपालमा
बुढा र बुढी रुन्छन् डाँको छोडी, हात राखेर कपालमा
डाँडा पारि धारो पानी ल्याउन गारो, कसोगरि म भरौँ
बुद्धीजीवी भन्छन् झोलै बोकी हिँड्छन यिन्का कुरा के गरौँ ।
धुरिमा लाग्ने ध्वाँसो र मोसो मझेरीमा लाग्ने लेउ
हे झोले दिदी, हे झोले भाइ, झोला बोक्न छोडिदेउ
टाउकेका भर नपर है अब, आफ्नै बुद्धि खियाईदेऊ
हो होइन तर आफै बिचार गर, दुनियालाई ब्युझाई देऊ ।
गाउनै छाडे गीत झम्के दिदीसित, स्युचाटारे नरनाथ
अचेल दिन-दिन देखिदैनन् किन सिरुटारे जीवनाथ
असारे गाउँथे धक्कु धेरै लाउँथे वालचन्द्र भाइ पनि
देख्दिन है म ता गएछन् ती कता झोले भाको सुन्छु नि ।
म एक्लो ठिङ्गो बसिराछु सिङ्गो झ्याउरे गीत गाएर
फूलमायासित कहिले गाउने गीत दहि च्युरा खाएर
हे वालचन्द्र, असारको पन्द्र गैरी खेतमा आउनू है
असारे गीत झम्के मायासित हाँसि हाँसि गाउनू है ।
२०७९।३। ९। जाउलाखेल