भक्तबहादुर नेपालीकाग र कोइली
तैपनि किन लेख्दैन कवि कागको महिमा, गुणीको गुण नदेख्ने बानी रहेछ हामीमा ।

कागको किन बखान हुन्न, कोइलीको गर्या छन्
कोइलीको बच्चा हुर्काउने काग छायाँमा पर्या छन्
त्यो अल्छी कोइली कागको गुँडमा सुटुक्क गएर
पारेर फुल ऊ फर्कि आउँछे साखुल्ले भएर
बिचरी काग ओथरा बस्छे त्यै फुल छोपेर
हुर्किएपछि कोइली बच्चा गैहाल्छे उडेर
वसन्त लाग्दा काफल पाक्दा कोइली कराउँछे
झरि र वर्षा शीत र धुप्मा त्यो कता हराउँछे
परन्तु काग साँझ र बिहान घर्घरमा आउँछ
जुठो र पुरो खाएर पनि खुसीले रमाउँछ
तैपनि किन लेख्दैन कवि कागको महिमा
गुणीको गुण नदेख्ने बानी रहेछ हामीमा
श्रमको मोल सिन्कीको झोल, भएर गाको छ
नगरी काम तापेर घाम बन्ठाले खाको छ
कहिले हट्ला यो पापी रित सिनित्त भएर
कहिले आउला दुःखीको दिन उज्यालो छरेर ।
२०७९।४।५। जाउलाखेल
Subscribe
Login
0 Comments
Oldest






































