डा. टीकाराम पोखरेललजाएको लाज
न लुगाले लाज छोपिन्थ्यो, न लुगा त्यागेर लाज त्यागिन्थ्यो । लाज छोप्ने र त्याग्नेको संवाद सुनेर लाज स्वयम् लाजसँग नै लजाएको थियो ।

सम्राट सिंहासनमा बसेका थिए । तर उनी वस्त्रविहिन थिए । देशलाई वस्त्रमुक्त बनाउने उनको लक्ष्य थियो । त्यसैले उनले जनतालाई वस्त्र लगाउन प्रतिबन्ध लाएका मात्र थिएनन्, देशमा वस्त्र उद्योग पूरै बन्द गर्न आदेश दिएका थिए ।
देशवासी लुकिछिपी घरायसी तानमा बुनेका लुगा लाउँथे, तर सम्राटले थाहा पाएमा पक्राउ पर्थे । एक दिन एक वस्त्रधारी राजआज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्यो । उसलाई सम्राटका अगाडि उभ्याइयो ।
“राजआज्ञा उल्लंघन गरेर लुगा किन लगाएको ?” सम्राटले सोधे ।
“लाज छोप्न महाराज ।” वस्त्रधारीले भन्यो ।
“मेरो साम्राज्यमा बस्नेले लाज त्याग्नुपर्छ भन्ने तँलाइ थाहा भएन ?” वस्त्रविहिनले सोधे ।
“मैले लज त्याग्न सकिनँ, त्यसैले वस्त्रले छोपेँ महाराज ।” वस्त्रधारीले थप स्पष्ट पार्यो ।
“लाज त्यागे लाज छोप्ने वस्त्र पनि त्याग्न सकिन्छ । ‘एकम् लज्जाम् परित्यजम् सर्वत्र विजयी भवेत्’ भन्ने सुनेको छैन ?” सम्राटले शास्त्रको कुरा सम्झाए ।
वस्त्रधारीले लाज त्याग्दैमा विजय नहुने तर्क गर्यो ।
वस्त्रधारीको अडान सम्राटलाई पचेन, उनले कड्किँदै भने- “लाज त्यागे सबैतिर विजय भइन्छ । विजय हुनु राजधर्म हो । राजालाई सहयोग गर्नु प्रजाको कर्तव्य हो ।” विजयको कुरा गर्दा सम्राट अलि उत्तेजित भए ।
प्रजाले लाज छोप्न लुगा लगाएको थियो । सम्राटले लाजलाई त्याग्न लुगा खोलेको थियो । संवाद चलिरहेको थियो । वस्त्रधारी र वस्त्रविहिनको संवाद लाजले सुनिरहेको थियो ।
न लुगाले लाज छोपिन्थ्यो, न लुगा त्यागेर लाज त्यागिन्थ्यो । लाज छोप्ने र त्याग्नेको संवाद सुनेर लाज स्वयम् लाजसँग नै लजाएको थियो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































