भक्तबहादुर नेपालीहँस्यौलीका तीन खित्का
पहाडको यो भिरपाखामा भैँसीले हान्यो भने त्योभन्दा डेञ्जर अरु के हुन्छ ? उनको जवाफ सुनेर अरु सबै शिक्षकहरू गलल्ल हाँसेछन् ।

१. डेञ्जर माने भैंसी
आजभन्दा झण्डै साठी बर्ष अघिको कुरो हो । काठमाडौबाट एकजना शिक्षक भोजपुर सरुवा भएर गएछन् । ती शिक्षकले अंग्रेजी पढाउने सिलसिलामा डेञ्जर माने भैंसी भनि पढाएछन् । विद्यार्थीहरूले पनि डेञ्जर, डेञ्जर माने भैंसी भनी घोकिरहेको स्वर अर्का एकजना शिक्षकले सुनेछन् ।
अनि छक्क पर्दै सोधेछन्- “तिमीहरूलाई यो कस्ले पढाएको ?”
जवाफमा विद्यार्थीहरूले उनै काठमाडौँबाट गएका शिक्षकको नाम बताएछन् । अनि ती शिक्षकले काठमाडौंका
शिक्षकलाई सोधेछन्, डेञ्जर माने भैँसी कसरी भयो सर ?
ती शिक्षकले सहजै जवाफ दिएछन्- पहाडको यो भिरपाखामा भैँसीले हान्यो भने त्योभन्दा डेञ्जर अरु के हुन्छ ?
उनको जवाफ सुनेर अरु सबै शिक्षकहरू गलल्ल हाँसेछन् ।
२. भाषाको कुरा
तामाङ भाषामा “खाइनि बा” भन्नाले काँहा जाने भन्ने अर्थ बुझिन्छ । भोजपुरी भाषामा खैनी बा भन्नाले सूर्ति छ भन्ने बुझिन्छ । बोलेको सुन्दा उस्तै उस्तै लाग्छ ।
सिलगुडीबाट दार्जिलिङ जाने छुकछुके रेलमा एकजना बिहारी (उनको मातृभाषा बिहारी थियो) र अर्को तामाङ (उनको मातृभाषा तामाङ थियो) दार्जलिङ जान रेलको एउटै डिब्बामा परेछन् । रेल निकै बेर हिँडेपछि बिहारीलाई खैनी खान मन लागेछ र संगै बसेको तामाङलाई सोधेछ, “खैनी बा ?
जवाफमा तामाङले भने छ “दार्जलिङ निबा” अर्थात दार्जलिङ जाने । तामाङको कुरा सुनेपछि बिहारी अकमक्क पर्यो । अर्थात आग्राको कुरा गाग्रामा पर्यो । ऊ चुप लाग्यो तर उसलाई खैनीको तल्तल् खुबै सतायो र फेरि सोध्यो “खैनी बा ?”
तामाङले अलि ठुलो स्वरमा भन्यो “दार्जलिङ निबा ।” बिहारी फेरि अकमक्क पर्यो र चुप लाग्यो अरु कुरा भएन । होस् पनि कसरी ? एकले अर्काको भाषा नै नबुझेपछि ।
पहाडी उकालोमा चल्ने रेलको गति ढिलो र पट्यारलाग्दो थियो । बिहारीलाई दिक्क लागिरहेको थियो अनि उसले फेरि उही प्रश्न दोहोर्यायो “खैनी बा ?”
यसपटक तामाङलाई अती नै रिस उठेछ र बिहारीलाई झम्टन पुगेछ । बिहारी चिच्यायो । रेलमा एकाएक हङ्गामा भयो । डब्बाका मानिसहरू उनीहरूका वरिपरि जम्मा भए । तामाङलाई सोधे किन झम्टेको ? जवाफमा तामाङले भन्यो घरि-घरि, कँहा जाने, कहाँ जाने भनेर सोधिरहन्छ । दार्जलिङ जाने भनेर तीन चोटि भनि सकेँ तैपनि सोधिरहन्छ अनि रिस उठ्दैन त ?
तामाङको कुरा सुनी सकेपछि बिहारीलाई भनेछन् “किन तिमीले उस्लाई कहाँ जाने कहाँ जाने भनेर सोधिरहेको त ? जवाफमा बिहारीले भन्यो- मैले त सुर्ति छ कि पो भनेर सोधेको । दुबैजनाको कुरा बुजेपछि दुुबै थरिका भाषा जान्नेले दुबैजनालाई अर्थ बुझाई दिएपछि तामाङ र बिहारी पनि मरीमरी हाँसेछन् ।
३. प्यारे दोस्त, बेसरम, सुँअरके बच्चे खुब खाओ
सिक्मिमलाई भारतले लिए पछि भाारतको एक प्रतिनिधि मण्डल सिक्किम गएछ । उनीहरूको सम्मानमा सिक्किमेहरूले रात्री भोजको आयोजना पनि गरेछन् ।
हामीहरूकहाँ खसीको कवाफलाई विशेष प्रकारको मासु माने झैँ सिक्किमतिर गर्भिणी सुँगुरलाई चिरेर गर्भका पाठापाठीलाई झिकी मसलामा मोलेर तेलमा तारेर विशिष्ट खालको परिकार बनाइँदो रहेछ । उक्त परिकार पनि भोजमा राखिएको थियो । खाना अघि प्रतिनिधि मण्डललाई सम्बोधन गर्ने क्रममा सिक्किमेहरूले हिन्दीमा सम्बोधन गर्दै यसो भनेछन् :-
“प्यारे, दोस्त, बेसरम, सुअरके बच्चे, खुब खाओ ।” सिक्किमेहरूको त्यस्तो सम्बोधन सुनेपछि भारतीयहरू रिसले आगो भएछन् । यता सिक्किमेहरू पनि अचम्भित हुँदै सोधेछन्- “किन रिसाएको ?”
जवाफमा, भारतीयहरूले पनि भनेछन्- “हामीलाई लाज नभएका सुँगुरका बच्चा भनेपछि रिस उठ्दैन त ?”
यो बुझेपछि सिक्किमेहरूले अर्थ लगाउँदै भनेछन् :-
“प्यारे दोस्त माने प्यारा मित्रहरू । बेसरम माने लाज नमानि कन । हाम्रो विशिष्ट खाना सुँगुरको बच्चा खुव खानोस् पो भनेको त । सिक्किमेहरूको ब्याख्या सुनेपछि, भारतीयहरू पनि मरिमरि हाँसेछन् रे । अस्तु ।
जाउलाखेल, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































