साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेतालो

उल्टै फाँटै थर्किने गरि यिनीहरू उर्दि जारी गर्छन्- “नियमित काममा नआउनेहरूलाई अब उपरान्त गोडमेल गरिन्छ ।” कमसेकम गाउँतिर बरु मुखियाको खेतमा काम गर्न गएको भए पर्म र ज्याला नपाए पनि दिनभरी काम गरेर भाते खेताला बनेर पेटभरी भात खान त पाइन्थ्यो !

Nepal Telecom ad

साच्चिनै हामी त खेतालो पो रहेछौँ, त्यो पनि फोकटको । आज सबेरै अचानक ब्रह्मज्ञान खुलेपछि थाहा भएको तथ्य हो यो । यहाँलाई कस्तो लाग्छ कुन्नी ? रातोदिन पर्म तिर्दातिर्दा मलाई भने अचेल यस्तै लाग्न थालेको छ । यसो हप्तामा एकदिन आफ्नो मेलामा काम हुन्छ, बाँकी छ दिन त अरुहरूकै मेलोमा उपस्थिति जनाएर बुढीऔंला ठड्याउँदा ठड्याउँदा हैरान हुनुपर्छ ।

म सोच्छु, बरु खेतबारीमा लाठे बनेर कोदालो चलाउन सजिलो, तर अचेल खेतालो बन्न निकै कठिन रहेछ । यहाँ किन हो, जति काम गरे पनि जस पाइन्न । बुढीऔंला ठड्याउँदा, हाँसिरहेको भए हुन्थ्यो भनिदिन्छन् । हाँस्यो भने मुटु छोएर हाँस्नु पथ्र्यो भन्छन् । उहिले खेतबारीमा खेतालो बनेर हिंड्दा समयमा मनपर्दो खाजा पाइन्थ्यो, ताजा र चिसो पानी पिउन पाइन्थ्यो । यतातिर त प्यास मेटाउन पानी पनि पाइन्न । उ बेला यति पर्म भयो उति पर्म भयो भन्यो गनेर बस्यो, जब पर्म फिर्ता हुन्थ्यो आफ्नो काम सहजै सम्पन्न हुन्थ्यो । मेलोमा कसैले छलछाम गर्ला भन्ने डर पनि थिएन । इमानजमान सम्झिएर खुरुक्क पर्म तिर्थे ।

हुन त त्यो जुग जमाना नै असल थियो । यो मोबाइलबाट पर्म तिर्न भन्दा गाह्रो काम सायद केही पनि रहेनछ । उबेला मान्छेहरू सबै इमान्दार थिए । पाखुरीमा बल हुनेहरूले खुरुक्क पर्म तिर्थे, सन्दुकमा पैसा भएका र जिउमा बल नभएकाहरूले निमेक दिन्थे । पैसा पनि नभएका बल पनि नभएकाहरूको काममा सघाउ खेताला जाने प्रचलन थियो । जालझेल त फिटिक्कै हँुदैन थियो । अचेल त भो कुरा नगरौं, कतिले छलछाम गर्छन्, कति त पर्म नै तिर्दैनन् । कतिले पर्म तिरौँ कि नतिरौँ भन्दाभन्दै यसै झुलाएर राखि दिन्छन् ।

अर्को एउटा गजबको चलन रहेछ यस फाँटमा, एउटा शिक्षकले सबैलाई विद्यार्थी ठान्छ, हाकिमले कारिन्दा ठान्छ, पण्डितले आफ्नै जजमान देख्छ, नेताले सबै मेरै कार्यकर्ता हुन् भने झैं गर्छ । साहुले आसामी सम्झन्छ, व्यापारीले आफ्नो ग्राहक भन्छ । लेखकले सबैलाई पाठक सम्झन्छ । यिनीहरूलाई एउटा कुराको हेक्का हँुदैन, त्यो के भने एउटा कतैको शिक्षकलाई सबैतिरका विद्यार्थीहरूले नचिनेको पनि हुनसक्छ । सबै फेसबुके खेताला हाकीमका कारिन्दा नहुन पनि सक्छन् । पण्डित, नेता, व्यापारी, साहुका सबै खेतालाहरू अत्यन्त नजिकका नहुन सक्छन् । त्यसैले होला यिनीहरूले सहजै कसैको पर्म पनि तिर्ने गरेको पाइन्न । न काम लगाए वापत ज्याला र निमेक नै दिने गर्छन् । तर पनि यिनीहरूका गह्रामा भने बुढीऔंला ठड्याएर खेतालाहरूले उपस्थिति जनाइदिनु पर्छ । होइन भने उनीहरूलाई नराम्रोसँग रिस उठ्ने गरेको छ । यिनीहरू चाहिने भन्दा बढी खेतालाको अपेक्षा गर्छन् । सायद यसैमा आत्मसन्तुष्टि मिल्छ होला यिनीहरूलाई । अन्यथा, उल्टै फाँटै थर्किने गरि यिनीहरू उर्दि जारी गर्छन्- “नियमित काममा नआउनेहरूलाई अब उपरान्त गोडमेल गरिन्छ ।”

जब यिनीहरूले धम्कीको भाषामा सूचना जारी गर्छन्, मानौं अब आकाश खस्छ । प्रलय हुनसक्छ, त्यसपछि पुनः एकपटक खेतालाहरू सजग बन्दछन् । यही तुरुप फालेपछि भने पुनः केही दिन यिनका गह्रामा खेतालाहरू छपक्कै भेटिन्छन् । फाँट हराभरा हुन्छ, तब यिनीहरूको मन प्रफुल्ल हुन्छ । यी आधुनिक जिम्वालहरूको खेती लगाउने नयाँ काइदा हो यो ।

आफू पनि करिब बाह्र तेह्र वर्षदेखि नियमित खेताला बनेर धेरैका मेलोमा गइयो । मैंले पनि अनेकौं अनुभवहरू सँगालेको छु । कहिले चिनेजानेका मान्छेहरूको खेतालो, कहिले बिलकुलै अपरिचित व्यक्तिहरूको खेतालो । कहिले मन परेर खेतालो, कहिले मन नपरे पनि खेतालो ।

यस विच अनगिन्ती मान्छेहरूको सङ्गत गरियो । केही खेताला लोभीपापी फेला परे । केही खेताला भने असाध्यै छट्टु स्वभावका पनि देखिए । कोही सिधासाधा, कोही चरिअमिली जस्ता, कुनै नीमको काँढापानी जस्ता, कुनै रसवरी र लड्डु जस्ता । सबै स्वादका खेतालाहरूको सङ्गत गर्ने सौभाग्य मलाई पनि प्राप्त भएको छ ।

कुनै अर्कालाई काममा दलाएर आफूहरू भने पर्म तिर्न समेत छलछाम गर्ने प्रवृत्तिका पनि भेटिए । यति मात्र होइन , कुनै कुनै त यतिसम्म छट्टु कि आफू भने अर्काको मेलामा मुख पनि नदेखाउने, तर आफ्ना आफन्तको मेलामा समेत गइदिन अनुरोध गर्न समेत पछि नपर्ने खालका । कति त बुढीऔंला ठड्याउन पर्यो भनेर चिठी लेख्नेहरू पनि छन् है । कुनै त देउताका गाई जस्ता खेताला पनि छन् । बरा यिनीहरू धर्म सम्झिएर इमान्दारीतापूर्वक पर्म तिरिरहेका हुन्छन् । यिनले कत्ति पनि छलछाम गर्न जान्दैनन् । कोही खेताला संस्कारी छन्, कति त दुराचारी पनि । कति धर्मात्मा छन्, कति अधर्मी । कति त लाज पचेका पनि छन् । कति छद्मवेशी छन् । कुनै खेताला पुरूषको खोल ओढेका महिलाहरू छन् । कति त महिलाको खोल ओढेका पुरुषहरू पनि छन् । हुन त त्यति ठूलो भिडमा अनेक स्वभाव भएका खेताला हुनु कुनै ठूलो कुरा पनि त होइन र यसलाई आश्चर्य मान्नु पनि पर्दैन ।

हजारौं खेतालाहरूको भिडमा हराएको म पनि एउटा खेतालो ! खै कसरी यो दलदलमा फस्न पुगिएछ ? अहिले त सम्झदा पनि दिक्क लागेर आउँछ । कमसेकम गाउँतिर बरु मुखियाको खेतमा काम गर्न गएको भए पर्म र ज्याला नपाए पनि दिनभरी काम गरेर भाते खेताला बनेर पेटभरी भात खान त पाइन्थ्यो !

यो अमुल्य समय खेतबारीमा खर्च गरेको भए, अन्न तरकारी फलफूल उत्पादन कति हुन्थ्यो होला ? भकारीमा मनग्य धान हुन्थ्यो, बडेमानको मकैको कुनियो हुन्थ्यो, तरकारी बेचेर मालामाल होइन्थ्यो । यो आधुनिक फाँटमा उस्तै परे मध्यरातमा खट्नेहरू पनि छन् । तर बाली भित्र्याउन त के कुरा यसको खेतीबाट एक पेट खान पनि धौ धौ हुन्छ । न धान पराल, न मकै र कोदो, न तरकारी, न फलफूल । आखिरीमा उत्पादन शून्य हुने यस्तो वाहियात खेतीमा मैले किन समय खर्च गरिरहेको छु ? यति विघ्न मान्छेहरूले किन समय बरबाद गरिरहेका छन् ?

म यही सोचाइमा चुर्लुम्म थिएँ, भान्साबाट बोलावट आयो- “ए फेसबुके खेतालो, भान्सा तयार भयो ।” मेरो पनि ध्यान भङ्ग भयो । दिनभरी खेतमा काम गरि थाकेर फर्किएको वास्तविक खेतालो जस्तै लखतरान परेको यो फेसबुके खेतालो खुइ…य गर्दै भान्सातिर लाग्यो ।

००००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x