पुन्य कार्कीबाहुन र बाख्रो
ठगहरू आफ्नो योजनामा सफल भएका थिए । उनीहरूले मनमा शंका लाइदिएर सजिलै बाहुनको बाख्राको पाठो उम्काएका थिए । बाहुन पाठो मिल्काएर घरतिर कुदेपछि तीनजना ठग जम्मा भएर घारीबाट पाठो निकाले र त्यसलाई भोजन बनाउनतिर लागे ।

पुण्य कार्की :
धेरैवर्ष अघिको घटना हो । एउटा गाउँमा एकजना जजमाने बाहुन बस्तथे । उनी आफ्नो छिमेकी गाउँमा घुम्न गएको बखत उनका एकजना जजमानले आफ्नो पुरोहितलाई एउटा बाख्राको पाठो उपहार दिइ पठाए ।
पाठो काँधमा बोकेर उनी घर फर्किरहेको बेलामा तीनजना छट्टु ठगहरुले उनलाई देखे । ती ठगहरू भोकाएका थिए । कसलाई ठग्न सकिन्छ भनेर बाटो हेरी बसेका थिए ।
बाहुनले काँधमा बोकेर ल्याएको बाख्राको पाठो देखेर उनीहरुको मनमा लोभ जाग्यो । र, मनमनै सोचे- साह्रै गतिलो पाठो छ । यसलाई उम्काउन सकियो भने हाम्रो छाक टर्छ । उनीहरुले योजना बनाएर बाटाको तीन ठाउँमा छरिएर बसे ।
बाहुन आफ्नो बाटो सुमुसुमु हिँडिरहेको बेलामा पहिलो ठगले उसलाई रोक्यो । काँधको पाठोतिर देखाउदै बाहुनलाई भन्यो – “ए पुरेत बाजे ! काँधमा कुकुरको छाउरो बोकेर कतातिर हिँडेका ? पुरेत भएर काँधमा कुकुरको छाउरो बोक्न घिन लाग्दैन ?”
बाहनलाई उसको कुराले कतै नभएको रिस उठ्यो ।
“मूर्ख ! तँलाई थाहा छैन । यो त बाख्राको पाठो हो नि । कताको कुकुरको छाउरो हुनु ?”
“किन रिसाउँछौ बाजे ? कुकुरको छाउरोलाई बाख्राको पाठो भन्छौ भने मलाई के भन्नु छैन ।” ठगले हाँस्तै भन्यो ।
बाहुनले उसको कुरालाई खासै ध्यान नदिई अगाडि बढे । तर, एकान्तमा पुगेर बाख्राको पाठालाई एकचोटि नियालेर हेरे । कतै कुकुरकै छाउरो त होइन, मनमा तर्कना उठ्यो । पाठालाई छामछुम गरेपछि ढुक्क भए, किन कुकुर हुन्थ्यो, बाख्राको पाठै हो नि ।
बाटैबाटो अलि तल झरेपछि मोडमा दोस्रो ठग भेटियो । बाहुनलाई देख्ने वित्तिकै उसले भन्यो – “राम ! राम !! राम !!! कलियुगमा के देख्नु परेको ? बाहुन भएर पनि कुकुरको छाउरो काँधमा बोकी हिँडेको । लाज सरम सबै पचाएर ।”
बाहुनलाई त्यस मानिससित कतै नभएको रिस उठ्यो । बम्केर गाली दिन थाल्यो -“देख्दैनस् तेरिमा अन्धा ! तेरा आँखा फुटेका छन् । यो बाख्रो हो कि कुकुर हो ?”
ठग शान्त भएर बोल्यो -“नरिसाउनुस् न गुरुजी ! म भूलमा पनि हुनसक्छु । तर, जहाँसम्म तपाईले कुकुरकै छाउरो बोकेर हिँड्नु भएको छ । तपाईले पत्याए पनि नपत्पाए पनि यो कुकुरै हो ।”
बाहुन त्यहाँबाट पनि अगाडि बढे । तर, उनको मनबाट गहिरो शंका उठ्यो । दुई दुई जनाले कुकुरको छाउरो भनेपछि कि कुकुरै हो त यो ? म पागल भएको कि मान्छे पागल भएका हुन्, उसले आफैँसित संवाद गर्यो । उसको मनमा धुकचुक हुन थाल्यो । उसको एकमनले बाख्राको पाठो बोकेको अनुभूति गर्छ । अर्को मनले कुकुरको छाउरो बोकेको अनुभूति गर्न थाल्यो । आफँैसँग अविश्वास हुन थाल्यो । र पनि बाटो हिँडिरहेको छ ।
अझै तल पुगेपछि अर्को मोडमा तेस्रो ठग भेटियो । उसले बाहुनलाई देख्ने वित्तिकै भन्यो-“आम्मामामा ! फुटेका आँखाले यो के देख्नु परेको ? यस्तो पवित्र ब्राह्मणले दिउँसै काँधमा कुकुरको छाउरो बोकेर हिँडेको छ । अब धर्मको सत्यनाश भएछ ।”
उसको कुराले मुटुमा गहिरो झस्का पस्यो । बाहुनले एक शब्द निकालेन । आक्रोश, ग्लानी र घृणाको भाव भरिएर ऊ अटेसमटेस भएको थियो ।
त्यस मान्छेलाई पन्छाउँदै बाहुन अगाडि बढ्यो । निकै पर पुगेपछि पल्याकपुलुक चारैतिर हेर्यो । उसलाई कुकुरकै छाउरो बोकेकोमा पक्का विश्वास भैसकेको थियो । किनभने बाटोमा भेटिएका तीनैजनाले कुकुरको छाउरो भनेका थिए ।
मलाई पापी जजमानहरूले पाठो भनेर कुकुरको छाउरो दिएर उल्लू बनाएका रहेछन् भन्ने ठान्यो । एकचोटि चारैतिर नियालेर हेर्यो अनि काँधमा बोकेको पाठो घारीतिर मिल्काई दियो । कुकुरको छाउरो बोकेर हिँड्नु यस्तो बेइज्जत काम शत्रुले पनि गर्नु नपरोस् भनी घरतिर दौड्यो ।
ठगहरू आफ्नो योजनामा सफल भएका थिए । उनीहरूले मनमा शंका लाइदिएर सजिलै बाहुनको बाख्राको पाठो उम्काएका थिए । बाहुन पाठो मिल्काएर घरतिर कुदेपछि तीनजना ठग जम्मा भएर घारीबाट पाठो निकाले र त्यसलाई भोजन बनाउनतिर लागे ।
अरुलाई विश्वास गर्नु अघि आफूलाई विश्वास गर्नुपर्छ भन्ने सत्य बुझ्न नसक्ता बाहुनले आफ्नो काँधको पाठो गुमाउनु पर्यो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































