पुन्य कार्कीखोजी खाने, खोसी खाने र खोस्री खाने
चुसाइ र डसाइको डरलाग्दो पीडामा पनि यही वर्ग खुम्चिएको छ । एक दिन यस वर्गले आफू साँच्चै शोषित भएको कुरा थाहा पायो भने यो सपनाबाट ब्यूझिने छ ।

पुण्य कार्की :
बन्दाबन्दीको यो फुर्सदी क्षणमा को को के के खाएर, कसरी कसरी का रहेछन् मान्छे ? यस विषयमा मन्थन गर्दा तीनखाले मान्छेका महारहरू मेरो मस्तिष्कमा उत्रे । एक थरी मान्छे खोजी खाने मान्छे छन्, दोस्रो थरी मान्छे खोसी खाने छन् र तेस्रो थरी मान्छे खोस्री खाने छन् ।
मेरो गाउ समाज मात्रै होइन, संसारैभरि जहाँतहीँ यिनै तीन वर्गका मान्छेको व्याप्ति देख्छु । जति नै पेसा, व्यवसाय र कामका प्रकृति भए पनि आखिर ती सबै खोजी खाने, खोसी खाने र खोस्री खानेको तीन प्रवर्गमा समेटिन्छन् । काम-धामका रूप विविध भए पनि ती कुनै न कुनै रूपमा कि त खोजी खाने वर्गमा पर्छन्, कि त खोसी खाने वर्गमा पर्छन् नत्र खोस्री खाने बर्गमा त अवश्य नै पर्छन्, यसमा दुई मत छैन ।
हुन त वामपन्थ विचारले भन्ला समाजमा दुई वर्गका मान्छे मात्र छन् । एउटा धनी वर्ग, अर्को गरिब वर्ग । अर्थात् एउटा शोषक वर्ग, अर्को शोषित वर्ग । अझ मूर्त रूपमा भन्दा एउटा काम गरिखाने वर्ग याने कि खोसी खाने वर्ग, अर्को काम नगरी अरूको पसिना खाने वर्ग याने कि खोसी खाने वर्ग तर म देख्छु – एउटा धनी वर्ग छ, अर्को गरिब वर्ग छ र विचमा अर्को तप्काका मान्छे पनि छन् यहाँ । जो श्रम पनि गर्दैन, खोसेर पनि खाँदैन । खान्छ त मागेर खान्छ । अरूलाई अनेकन् जाली कलाले प्रभावित गरी खान्छ । त्यो न त धनीभित्र पर्छ न त गरिबभित्र पर्छ । न त खोसी खानेमा पर्छ, न त खोसी खानेमा पर्छ । ऊ त खोजी खाने वर्गको अनुयायी हो ।
धर्मभीरुहरूले देख्लान् समाजमा दुई वर्गका मात्र मान्छे छन्, एउटा धार्मिक वर्गका मान्छे अर्को अधार्मिक वर्गका मान्छे । अर्थात् एउटा आस्तिक सम्प्रदाय अर्को नास्तिक सम्प्रदाय । तर म त आस्तिक र नास्तिक बिचको विन्दुमा अड्केका मान्छे पनि देख्छु । आस्तिक र नास्तिक मतप्रति अनाशक्त मत राख्ने मान्छे पनि हुन्छन् समाजमा ।
लैङ्गिक मतवेत्ताले समाजलाई लिङ्गीय रूपमा दुई चिरो हान्ला- एउटा नारी जाति, अर्को पुरुष जाति । पुरुषले नारीप्रति सनातन कालदेखि उत्पीडन र विभेद गरिआएको करा उसको नजरले देख्ला । तर यथार्थमा त तेस्रो लिङ्गीको अस्तित्व पनि त रहेछ । न पुरुष, न महिला बिचको लिगका जमात पनि संसारभरि व्याप्त रहेछन् । भर्खर भर्खर तिनको पहिचान खुल्न थालेको छ । भर्खर भर्खर तिनको आस्तित्व, अधिकार र अस्मिताको पैरवी चल्न थालेको छ । अब लिङ्गीय रूपमा समाजले दुई लिङ्गीबाट तीन लिङ्गीमा फड्को हानिसक्यो ।
आदिवासी चेतनाले देख्ला समाजमा दुई नश्लका जातहरू छन् – एउटा आदिवासी अनार्य, अर्को आर्य । तर न आर्य, न मङ्गोल कुनै पनि कित्तामा नउभिएका आफ्नो छुट्टै स्वत्व बोकेका जातिहरू पनि पृथ्वीमा अनेक छन् । आर्यसित पनि नमिल्ने, मङ्गोलसित पनि नमिल्ने त्यस्ता जातिलाई जबरजस्ती यी दई कित्तामा मिसाउँदा आफ्नो अलग पहिचान भएमा ती जातीय समूहहरूलाई न्याय होला र ?
अहो ! मान्छेको वर्गलाई विवेचना गर्ने नाममा म विचार, जात, धर्म र लिङ्गको चस्माबाट पो विवेचना गर्न थालेछ । मेरो मक्सद त यो हो, धर्तीका झन्डै पौने आठ अरब मान्छे, को के कसरी खाएर बाँचेका छन् त्यसको विवेचना गर्नु हो । यहाँ हामीले सारमा मान्छेलाई दुई आयाममा फ्याक्क चिरा हानेर हेर्ने कोसिस गर्यो । तर वस्तुको तेस्रो आयाम छ भन्ने कुराचाहिँ भुलिदियौं। लम्बाइ चौडाइ भएको वस्तुमा गहिराइको आयाम पनि हुन सक्छ, त्यो भलै गौण रूपमै किन नहोस्, त्यसको सत्तालाई पनि ध्यान दिने पर्दछ, मेरो मत त्यति मात्र हो ।
अब लागौँ- खोस्री खाने, खोसी खाने र खोजी खाने मान्छेहरूको चर्चातर्फ । यी तीन वर्गका मान्छेमा खोस्री खाने वर्गप्रति मेरो पूराका पूरा आदर छ । यिनीहरूप्रति आडभरोसा र विश्वास छ । खोस्री खाने वर्गले हमेसा जमिन खोस्रिनुमा विश्वास राख्छ । उसलाई माटोप्रति भरोसा हुन्छ । माटोमा दशनङ्ग्री खियाउन पाए, आफ्नै पसिनामा रुझ्न त्यहाँभन्दा अर्को भाग्य देख्दैन ।
सदैव केही न केही रोपी राख्ने, सदैव केही न केही उमारी राख्ने, सदैव केही न केही टिपी राख्ने र अरूलाई त्यो फल बाँडी राख्ने चेतनाबाट ऊ वशिभूत रहेको हुन्छ । ऊ धर्तीको सच्चा सेवक हो । ऊ धर्तीको सच्चा रक्षक हो । आफू पनि बाँच्छ र अरूलाई पनि बचाउँछ । आफू मात्र खाइपिइ गरी बाँच्ने, अरू मरे मरून् भन्ने शठ बुद्धिबाट ऊ सय हात पर छ । बरु आफू भोकै रहने तर अरूलाई खुवाउने, पियाउने र बचाउने बुद्धिबाट निर्देशित छ ऊ । साँचो अर्थमा ऊ सृष्टि बचाउँने अन्नदाता हो भन्दा फरक पर्दैन ।
खोस्री खाने वर्गको पौरखमा संसार बाँचेको हुन्छ । उसको पसिनामा संसारले मिठो, चोखो, चखिलो र पोसिलो चिज खान पाएको हुन्छ । तर हाडतोडा मिहिनेत गर्ने यो वर्ग उत्पीडनमा छ । शोषणमा छ । कष्टमा छ । पीडामा छ । उसको पसिनालाई दोहन गर्ने किसिम किसिमका खरिजुकाहरूको व्याप्ति छ यहाँ । असारको दबदबे हिलोसित लाप्पा खेलेर मंसिरमा सुनौला धानका फाँट झुलाउँछ तर उसको खलिहान रित्तो हुन्छ, उसको भकारी रित्तो हुन्छ । अर्कैको बखाडीमा त्यो धान चुलिन्छ । खोस्री खाने वर्गले आफ्नो श्रमको मूल्य पाएको छैन ।
धर्ती खोस्रेर संसारलाई पोषण दिने यो वर्गले बगाएको पसिनाको यहाँ उचित कदर भएको छैन । खोस्री खानेहरूको उचित मानमनितो पनि छैन ।
कुरा जमिन खोस्रिनेको मात्र होइन । खेती किसानीबाहेक तमाम क्षेत्रमा पाखुरा बजार्ने र नङ्ग्रा खियाउने श्रमिक जनगण खोस्री खप्ने वर्गमा पर्दछन् । चाहे त्यो कारखानामा मार्तोल हान्ने मजदुर हुन् या निर्माणशालामा गिटी कुट्ने श्रमिक हुन् या कक्षाकोठामा चक घोट्ने शिक्षक हुन् या कार्यालयमा काम गर्ने कारिन्दा हुन् यी सबै खोस्री खाने वर्गका प्रतिनिधि पात्र हुन् ।
दोस्रो वर्ग छ खोसी खाने वर्ग। आफ एक पित्को श्रम नगर्ने तर बसी बसी खाने, अर्काको भाग खोसेर खाने वर्गमा यो वर्ग पर्दछ । पौरख नगर्ने, पसिना नझार्ने र नङ्ग्रा नखियाउने यस वर्गको विशेषता हो । नङ्ग्रा खियाउनुभन्दा हातमा लामा लामा नङ्ग्रा पाल्नमा यस वर्गले रुचि राख्दछ । नङ्ग्रा यसका हतियार हुन् । अरू वर्गलाई चिथोर्न नङ्ग्रा चाहिन्छ । लुटेर, बोसेर, चिथोरेर जसरी हुन्छ अरूको भागको खान्की आफ्नो भागमा पार्ने र खाने वर्ग यो जगत्भरि नै जीवित छ ।
उत्पादनका साधनमाथि काइते कानुनको सहारामा आफ्नो पञ्जामा जकडवन्द गरी अरूलाई कज्याई कज्याई खानुलाई अधिकार सम्झिन्छ यो वर्ग । आफू कहिल्यै काम नगर्ने, आफ कहिल्यै हलोको अनौ नछुने तर धर्तीपुत्र कृषक जनगणले भरिदिएको अन्न-ढिकटीले यो वर्ग मस्त चैनमा छ । मस्त आनन्दमा छ । यहाँ मात्र होइन, संसारैभरि यसै वर्गले राइँदाइँ चलाइआएको छ । अरूको ज्यानलाई सिद्रो सुकाएर आफू पुँडी सुँगुर झैँ मोटाउँदै आएको छ यो वर्ग ।
खोसी खाने वर्गको मान्छे यस्तो मशाल्वी हो । उसको हातमा हमेसा एक दनदनाउँदो मशाल रहन्छ । जब कहीँ मौरीले मह जम्मा गरेको गन्ध थाहा पाउँछ । एक झमटमा त्यहाँ पुगेर मौरीको घारमा मशाल कोस्छ । मौरीलाई पनि डढाएर सोत्तर पार्छ। मह पनि आफ्नो कब्जामा लिएर तनतनी पिउन थाल्छ । भनेको मतलब मौरीरूपी खोस्री खाने वर्गका मान्छेलाई बोसी खाने मशाल्वीले युगयुगदेखि जनगणको धारमा पुल्ठो कोस्तै आएका छन् । मह चाट्दै आएका छन् ।
तेस्रो वर्ग छ- खोजी खाने वर्ग । यो यस्तो वर्ग हो । जो काम पनि गर्दैन । मिहिनेत पनि गर्दैन । हाक्काहाक्की खोस्री खाने वर्गको कमाइमाथि झम्टा पनि मार्दैन तर मागी खानचाहिँ नामुद छ यो वर्ग । यो वर्ग कमिलाले सिकार खोजे खानाकै खोजमा हुन्छ तर कठिन मिहिनेतबाट होइन, सजिलो विधिबाट ।
अरूसामु जाबो हत्केलो फैल्याउँदा खान मिल्छ भने किन हत्केलामा ठेला उठाउने झमेलो गर्नु ? यसलाई उसले पेट भने ब्रह्म वाक्य बनाएको हुन्छ । मागी हिँड्ने जोगी, नेगी, सन्यासीदेखि पाती पढ्ने पुरेतसम्म यो वर्गका सच्चा प्रतिनिधि पात्र हुन् । यिनको दायरालाई तन्काउदै जाँदा भिक्षावृत्तिमा बांचेका नेता, कार्यकता, कवि, कलाकार, खालखालका चन्दा रसिद झोलामा बोकेर बिहान बेलुकाको छाक जोर्ने मुनिमहात्मा सबैलाई यस वर्गमा हालेको छु ।
यस वर्गले आफ्नो घुर्यानमा कहिल्यै हरियो साग रोप्दैन तर दशघर मागेरै भए पनि हरियो सब्जीसित भात हसुर्छ । आफ्नो जुठेल्नामा खोर्सानीको बिरुवा उमार्दैन तर मागेरै भए पनि अकबरेको अचार खाई जिब्रो पड्काउँछ । आफ्नो मगन्ते-कलाले खोजी खाने वर्ग जीवित रहेको हुन्छ ।
यो वर्गको दिमागमा साखुल्ले बन्ने विपुल कलाको उपस्थिति रहेको हुन्छ । खोस्री खाने वर्गको शरणमा जाँदा खान मिल्छ भने ऊ त्यहीँ जान्छ । खोसी खाने वर्गकोमा शरणागत हुँदा खान मिल्छ भने त्यहीँ पाउलागी गर्छ ।
यसको आफ्नो अडान र स्वाभिमान बडा फितलो हुन्छ । किनभने उसले सदैव खोजीमेली गरेर छाक जुटाउनुपर्छ । न्याय, नैतिकता र विवेकलाई बन्धकमा राख्न पनि उसले कुनै आइतबार कुर्दैन । त्यसैले खोजी खाने मान्छेको कुनै धीतधरान हुन्न ।
सनातन कालदेखि नै यस धर्तीमा मोटामोटी रूपमा यी तीन खालका मनुवाहरूको विचरण चलिरहेको छ । सङ्ख्याको हिसाबले दुई तिहाईभन्दा बढी हिस्सा खोस्री खाने जमातले ओगटेको छ । चुसाइ र डसाइको डरलाग्दो पीडामा पनि यही वर्ग खुम्चिएको छ । एक दिन यस वर्गले आफू साँच्चै शोषित भएको कुरा थाहा पायो भने यो सपनाबाट ब्यूझिने छ । आफूभित्रको अवचेतन शक्तिलाई जगाएर आफ्नो पसिनाको मूल्य खोज्यो भने खोसी खाने र खोजी खानेको हविगत के होला ? मेरो मथिङ्गलमा प्रश्नका अनन्त झञ्जावात उठिरहेछन् ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































