रामदेव पाण्डेसुतकले सुताएछ
उताको स्वर्ग खाली खाली थियो नर्कमा खुट्टा राख्ने ठाउँ थिएन हालत देखी आए आँसु ग्रहणका बेला काटेछन् मासु ढङ्ग नभएका विज्ञानवादीलाई बिताएछ ग्रहणका सुतकले सत्रन्नै सुताएछ !

रामदेव पाण्डे :
एक बिहान अचानक
ग्रहणका दिनको भोलिपल्ट थियो
द्रुत विमानबाट यो मनुवा
विश्व भ्रमणमा निकियो
विचित्रको परिवर्तन देखेर झस्कियो
नेपाल भारतमा ठिकठाक थियो
अन्यत्रको दृश्यले झस्काइदियो
सद्दे मान्छे देखिनै छोडेका थिए
अलिअलि भएका सबै रोगी थिए
ग्रहणका बेला सुतेका रे तिनीहरू
कुष्ठरोगीको ताँती थियो
ग्रहणका बेला
शृङ्गारपटार गरेका रहेछन्
ग्रहणका बेला खाना खान मरेछन्
र
विकासको चुलीबाट
गर्ल्यागुर्लुम अधोगतिमा झरेछन्
उता किरैकिराको राज थियो
मान्छे होइन
किरैकिराको समाज थियो
ग्रहणका बेला
लागेको दिसा च्यापेर नबसी
दिसा गरेछन्
मान्छेबाट किरामा झरेछन्
मान्छे थोरै
सुँगुरहरूको भयङ्कर भिड थियो
घुमन्तेले पत्ता लगायो
ग्रहणका बेला
श्रीमतीसँग सुतेछन्
त्यत्रा विश्व हल्लाउने
अमेरिका युरोपका धनाढ्यजति
कङ्गाल दरिद्र भएछन्
बुद्धि नभाका मूर्ख ती
पिसाब च्यापेर नबसी
ग्रहणका बेला पनि मुतेछन्
धर्तीको यो हाल देखी
स्वर्ग नर्क नहेरी भएन
उताको स्वर्ग खाली खाली थियो
नर्कमा खुट्टा राख्ने ठाउँ थिएन
हालत देखी आए आँसु
ग्रहणका बेला काटेछन् मासु
ढङ्ग नभएका
विज्ञानवादीलाई बिताएछ
ग्रहणका सुतकले
सत्रन्नै सुताएछ !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































