सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मक्ख

नढाँटी भन्नु त तपाईं मक्खको सीमाभित्र हुनुहुन्छ कि बाहिर ? मक्ख पर्दै कि पार्दै ?? कतै अधिक मक्खका कारण आँसु झार्दै त हुनुहुन्न नि ??

Nepal Telecom ad

खुशी जनित शब्द ‘मक्ख’ एक प्रकारको मानव स्वभाव हो । जुन हरेकसँग सम्बन्धित छ । मक्ख शब्द हिन्दी शब्दको माखोबाट अपभ्रंश भएर बनेको होइन । अङ्ग्रेजी शब्दको हेप्पी शब्दलाई नेपालीमा मक्ख भनिन्छ । म अर्थात् आफूखुसी शब्दबाट नै मक्खको उत्पत्ति भएको मान्नुपर्छ ।

ठुस्किएर अँध्यारो अधर बनाउनुभन्दा मक्ख पर्नु निकै निको मानिन्छ । यो लेख लेख्दै गर्दा म नै मक्ख छु । मेरो श्रमले प्रकाशित हुने अवसर पायो र दुई चार सय कमायो भने म झनै मक्ख पर्छु । पुस्तकका रूपमा प्रकाशित गर्न सकेँ भने अझै मक्खको घनत्व बढ्दै जान्छ । पाठ्यक्रममा समावेश भयो भने लेखकका खलक नै मक्ख पर्छन् । अन्तर्राष्ट्रिय जगत्ले मन पराए भने सिंगो नेपाल देश नै मक्ख पर्छ । कृषि प्रधान देशमा पनि राम्रो लेख्ने लेखक हुँदा रहेछन् भनेर प्रचार गरे भने सारा नेपालीले खुसीले दारा देखाउने छन् ।

मक्ख पर्नलाई ठूलो प्रलय हुनु पर्दैन, साना साना परकम्पनले पनि मान्छे मक्ख पर्न सक्छ । जस्तो कृष्ण प्रणामी वा बैष्णवहरूले भोजन गर्न लागेका छन् भने एक पत्ता मन्जरी टिपेर दिँदा उहाँहरूको खुसीको सीमै रहँदैन । जँड्याहालाई आधा गिलास रक्सी दिए ऊ त्यसैमा मक्ख पर्छ । कोही अर्काकी कलकलाउँदी श्रीमती भगाउन पाउँदा मक्ख पर्छन् भने कोही सौतामाथि जाइलाग्दा मक्ख पर्ने गर्छन् । कसैले बृद्ध बाबुआमालाई वृद्धाश्रम पठाउँदा मक्ख पर्छन् त कोही छोरी बुहारीलाई डाँडा कटाउँदा मक्ख पर्छन् । भिखारीलाई पाँच रुपियाँ दिए मक्ख पर्छ र फुटपाथेलाई सडकमा व्यापार गर्न दिए मक्ख पर्छन् । कोही कसैका लागि जित मक्ख पार्ने खालको हुन्छ त कसैका लागि हारमा पनि मक्ख पर्ने गर्छन् । आफूलाई चित्त नपरेको मान्छेले हार्‍यो भने अर्को मक्ख परिराखेको हुन्छ । कोही प्रेमी पाउँदा मक्ख त कोही छोराछोरी पाउँदा मक्ख हुन्छन् । कोही केही गरेर खान सक्दा मक्ख पर्छन् त कोही नेतृत्व अभिभारा आफ्ना थाप्लामा खन्याउँदा मक्ख पर्छन् भने कोही अवकाश पाउँदा पनि खास काम भए झैं मक्ख पर्छन् ।

चुनावमा दलको टिकट पाएर मक्ख पर्नेहरू पनि धेरै छन् भने तिनले जित हातपारे भने त फूलमाला, अबिर, केसरी, श्रीखण्ड, चन्दन, द्रव्यादिले पूजा हुने भएपछि तिनका तीन पुस्ता नै मक्ख पर्छन् भनेपछि मक्ख ठूलै उपलब्धिमा मात्रै हात लाग्छ भन्ने कुरा हनुमानले पनि अनुमान लगाउँछ ।

थाराहरू गर्भ रह्यो भने मक्ख पर्छन् । कोही बेस्सरी धर्म गर्न पाउँदा मक्ख पर्छन् त कोही अधर्ममै मक्ख हुन्छन् । कोही गर्भ बोकाउँदा मक्ख पर्छन् त कोही गर्भ तुहाउँदा, कोही हँसाउँदा मक्ख पर्छन् त कोही रुवाउँदा, कोही खान पाउँदा मक्ख पर्छन् त कोही खुवाउँदा, कोही लिन पाउँदा मक्ख पर्छन् त कोही दिन पाउँदा, कोही भकुर्दा मक्ख पर्छन् त कोही हसुर्दा । जेहोस् मक्ख पार्ने र पर्नेको चक्र चलिरहन्छ । ओसामा बिन लादेनको प्राण पखेरु गोलीले उडाउन पाउँदा अमेरिका मक्ख परेको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनलाई मार्दा अमेरिका मक्ख परेकै हो । वि.सं. २०५८ जेष्ठ १९ गते राति नेपालका राजपरिवारलाई सोत्तर पार्दा ज्ञानेन्द्र, पारस र सेना प्रमुख मक्ख परेको अनुमान लगाउन सकिन्छ । राज परिवारको सुरक्षार्थ खटिएका सारा सुरक्षाकर्मीहरू बाँच्न पाइयो भनेर मक्ख नपर्ने कुरै भएन । कोही मार्न पाउँदा मक्ख त कोही अप्ठ्यारो पार्न पाउँदा मक्ख । स्वार्थी संसारमा आफू अनुकूल हुनासाथ मान्छे मक्ख पर्न थालिहाल्छ । मत्स्य न्यायले विश्व ढपक्क ढाकी सक्यो भनेपछि कमजोर लुतेका चारपाउ दिन दुई गुना रात चौगुना थरथर काम्दै, धरधर रुँदै लुलो हुँदै गइरहेको एक्काइसौँ शताब्दीमा ठूला माछाहरू मात्रै मक्खका मालिक हुन् त ? अनेक तरहले शक्ति सम्पन्न देशहरू आफ्नो ह्याकुलो दरो भएकामा असाध्यै मक्ख छन् ।

पापी, धर्माती, समाजसेवा, साहित्यकार, कलाकार, हरेक तह र तप्काका आफ्नो ठाउँमा आफ्नै किसिमले उद्युम उखरमाउलो मक्ख पर्न सक्छन् । महाराजा, महाधनी, महाजन वा तन्नम्भगत, दरिद्र, अल्छी, कामचोर, सुनचोर, नुनचोर, खुनचोर, हरेकका लागि मक्ख पर्न पाउने अधिकार उत्तिकै समान तौलको छ । पाँचौँ इन्द्रीयले वेष्ठित जो कोही मानव वान्छित फल प्राप्त भयो भने मक्ख पर्ने परम्परा मानव इतिहासभन्दा धेरै जेठो छ । हरेक मीठो फल प्राप्तिमा मक्ख पर्नु प्राकृतिक स्वभाव हो र सचेत र अचेतको भिन्नता भनेको नै यही हो । मक्ख पर्नु प्राणीको एकल अधिकारको कुरा हो । एउटा मक्ख पर्दा अर्को पनि मक्ख पर्नैपर्छ भन्ने हुँदैन । एउटा घरज्वाइँ बस्न पाउँदा मक्ख पर्छ भने अर्को बस्नु नपर्दा मक्ख पर्छ । एउटालाई रुचेको अर्कालाई नरुच्न नपच्न सक्छ । करकाप, ठेलठाल, पेलपाल, घँचेडाघुँचेडले पनि मक्ख पर्न सकिँदैन । मक्ख मानव देहमा प्रस्फुटित हुने अन्तर्निहित आन्तरिक स्वभाव हो र आफ्नो देह प्रफुल्लित हुँदा अधर अनि आङ्गिक स्वाङको छिद्रान्वेषण गरेर मक्खानुभव गर्न सकिन्छ ।

बालक बच्चा आमाको लाम्टो चुस्न पाउँदा निकै मक्ख पर्छन् । आमाको काख नै लाख भन्ने नेपाली भनाइ पनि छ । काखे बालकहरूका लागि यो नैसर्गिक अधिकारको कुरा हो । आमाले चुसे चपाएका खानेकुराहरू खान पाउनु नै उसको लागि सौभाग्यको कुरा हो । तन्नेरी, तरुनीहरू आफू सुहाउँदो हल गोरु नार्न पाउँदा असाध्यै मक्ख पर्छन् । चारपाउ टेकेर हिँड्न पाउँदा होस् या ठूलो भएपछि खसीको गर्दन गिँड्न पाउँदा, चर्पीमा आफै आउजाउ गर्न सक्दा, बोल्न, खेल्न, पेल्न, ठेल्न, दगुर्न, जित्न सक्दा पनि मानव उद्युम मक्ख पर्ने गर्छ । अक्षर चिन्दा, लेख्न जान्दा, मायालुसँग भेट हुँदा, परीक्षामा पास हुँदा र मर्ने बेलामा सास हुँदा या हरेक मामलामा आफ्नो उपस्थिति रहँदा मान्छे म नभई नहुने रहेछ भनेर मक्ख पर्ने गर्छ । ठूला ठूला घन्टाउके नेता राजनेता, राजा, रानी, ज्ञानी, तपस्वी, कुल्ली, कवाडी, नोकर, चाकर, डाक्टर, प्रोफेसर, हरेक सर मेडमको हविगत पनि यस्तै हुन्छ । वर्तमानका माननीय, सम्माननीय, श्रीमान्, श्रीमतीहरू, पीरो खाँदै, पिउँदै, चपाउँदै जिरोबाट नै हिरो भएका हुन् ।

जिन्दगीका आरोह, अवरोह पार गर्ने क्रममा बिँडी खाँदै सिँढी उक्लिएपछि मान्छे मक्ख पर्न सुरु गर्छ । दश कक्षा पास गर्न सक्यो भने त झन् गरि खान सक्ने भएँ भनेर नाम्ले परेको बोकाको च्यापु फुले झै फुल्न थालिहाल्छ । पकेट खर्च टार्न, गोजेरो भर्न, वा दम्पति मिलेर सम्पत्ति जोड्न, घरजम गर्न सक्दा पनि मान्छेको मक्खको सीमै हुँदैन । आमा बाबुको होटलमा नखाई आफ्नै बाहुबल बुताले जुत्ताको सुत्ता बाँध्न र टहरोको लहरो समायो भने त मक्खको आयतन अँगालामै अट्दैन । आफूले भनेजस्ता सन्तान र तिनले सही दिशा समाए भने मौजुदा मक्ख छचल्किन थाल्छ । आफ्ना प्युसा प्युसीले तनलाई लगानी गरेर वेतन बुझेर बेला न कुबेला पैसाको झट्टीसटी हान्न थाले भने मान्छेले मान्छेलाई नै हेर्न, टेर्नै छोड्ने, नातागोता भुसुक्क भुल्ने भएपछि चाहिँ मक्खले सीमा नाघेछ भनेर ठोकुवा गरे हुन्छ । नढाँटी भन्नु त तपाईं मक्खको सीमाभित्र हुनुहुन्छ कि बाहिर ? मक्ख पर्दै कि पार्दै ?? कतै अधिक मक्खका कारण आँसु झार्दै त हुनुहुन्न नि ??

०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे