सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बैकुण्ठतिर भौतारिंदा

बुढाले त बञ्चरो उज्याइहाले । म भाग्न थालेँ । उनी खेद्दैै आए, म भाग्दै गएँ । पुलिसले कमिनिष्ट खेदे जत्तिकै गरेर खेद्न थाले । भाग्दा भाग्दै तीन तलामाथिबाट नै फाल हानेछु डङ्रङ्ङ तल झरें । भरे त सुतेको खाटबाट तल झर्दा पो झसङ्ग भएर ब्युँझिएछु ।

Nepal Telecom ad

विनोद खनाल :

पुराणतिर बैकुण्ठको बयान सुन्दा कहिले मरिन्छ र बैकुण्ठ जान पाइएला भन्ने लागिरहन्थ्यो । यो कुरूप पृथ्वीमा बस्नुभन्दा त बैकुण्ठ जान पाए कति आनन्द हुन्थ्यो होला भन्ने कुरा हावादारी पण्डित बाजेहरूका मुखबाट निकैपटक सुनेको थिएँ । यसैले होला मलाई पनि कहिले मरिएला र बैकुण्ठतिर जान पाइएला भन्ने कुरा चै कहिले दशैँ आउला र मासु भात खान पाइएला भनेर गरिबहरूले सोचे जत्तिकै भा’को थियो । तर रहर गरेर मर्न पाइँदोरहेनछ । एकदिन त चाँडै बैकुण्ठ पुग्ने रहरमा झुण्डिएर मर्ने विचार गरेँ तर घाँटीमा डोरी लाउने बित्तिकै सास थुनेर झण्डै मरें। फेरि त्यसरी अगति परेर मर्नेहरू त सिधै नर्क जान्छन् भन्ने कुरा पनि पुराणहरूमै सुनेपछि त झन् मनले मानेन । हुन त मरेपछि स्वर्ग पुगियोस् कि नर्क आखिर जिउले थाहा पाउने होइन । आत्मा डुल्छ, घुम्छ भन्ने कुरा पनि उही पण्डितजीहरूले भक्त अल्मल्याएर आफ्नो पेशा चलाउन गरेको कुरा मात्र हो कि जस्तो लाग्यो । तर मनमा त्यस्तो लागे पनि व्यवहारमा चैं त्यस्तो गर्न सकिंदो रहेनछ नि त । शिक्षकले कक्षामा खैनी, चुरोट, जाँड, रक्सी खानु हुँदैन भनेर अर्ती दियो अनि क्लास बाहिर निस्किएपछि गोजीबाट खैनीको बट्टा निकालेर खैनी खाए जस्तो। मान्छे बाँचौं- बाँचौं भनेर पनि बाँच्न सक्दो रहेनछ, मरौं मरांैं भनेर पनि मर्न पाउँदोरहेनछ । आखिर एकदिन त मर्नैपर्छ । एकताका म निकै लामो समयसम्म बिरामी भएर सुतेको थिएँ, माधवप्रसाद घिमिरेले लेखेको गीत जस्तै मैले पनि आफू मरेको सपना देखे ं।

म सपनामा मरेपछि दुईजना डरलाग्दा र दुईजना माया लाग्दा मानिसहरू आएर झगडा गर्न थाले । ती दुईजना भुसतिघ्रे र डरलाग्दा मान्छे चैं जेमराजका दूत रहेछन् । ती खिनौटे र पिनासे चैं देवराजका दूत रहेछन् । दूत त्यस्ता छन् भने यिनका मालिक झन् कस्ता होलान् भनेर सोच्दै थिएँ, उनीहरू दुई समूहबीच भनाभन हुन थाल्यो । इतर र भितर पक्षको जस्तो ।

भनाभन हुँदाहुँदै हानाहान नै होला जस्तो भयो, पञ्च र कमिनिष्ट जत्तिकै । दुई/चार मुक्का-मुक्की पनि चल्न थाल्यो, ती पिलन्धरे पनि कहाँ कम रहेछन् र जुझे, कराँते सब सिकेका रहेछन् । हली स्टाइलले लडाई ग जेमदूतहरूको केही लागेन । आफूलाई भने किच्चाएर मार्लान् भन्ने त्राही-त्राही । एक चोटि त मरियो-मरियो अर्को चोटि पनि मरियो भने त बर्बाद हुन्छ एक चोटि मरेर काजकिरिया गर्दा त मान्छेको सिरिखरी पार्छ हाम्रो धर्मशास्त्रले भने झन् दुई/दुई चोटि मर्दा त के होला है भन्ने लाग्यो । ! आखिर ती दुई समूहबीच सम्झौता भयो, ‘आखिर हामी त अराको मान्ने मान्छे हुँ, हामीले लडाईं बेकार गर्‍यौं, हाम्रा मालिकले पहिला जता भन्छन् त्यतै लाने’ भनेर । म भने देवी मन्दिरमा भोग दिन लगेको बोको जता डोर्‍याउँछन् त्यतै डोहोरिंदै थिएँ ।

निकैबेर हिँडेपछि एउटा निकै ठूलो नदी देखियो । ला हौ, अब त्यो नदी पो तर्न सकिने हो कि होइन, न नदीमै फाल्दिने पो हुन् कि ! भन्ठान्दै थिएँ । एउटा साइनवोर्ड देखियो- ‘वैतरणी नदी !’ ए नदी तरेपछि चै बैकुण्ठ जान पाइने रहेछ भनेर दङ्ग पर्दै थिए । नदीतिर छिर्ने ठाउँमा जेमराज र देवराजको दूतावास रहेछ, आम्नेसाम्ने । मलाई चै पहिला नर्क देशको राजदूतावासको कार्यालयतिर लगे । साइनबोर्डमा लेखिएको थियो, दूतावास सम्पर्क कार्यालय, कुम्भिपाक नरक । अब चै बिताए, बैकुण्ठ गएर विष्णु भगवानका साथ पुष्पक विमानमा घुम्दै रमाउँदै बसौंला भन्ने कत्रो धोको थियो, जन्मदादेखि नै सोचेको कुरा खतम भयो । अब भने जाक्ने परे गुहू र खकारको खाडीमा, तातो तेलमा भक्भकी उम्लिनु पर्ने भयो भनेर क्वाँक्वाँ रुन मन लाग्यो । भित्र एउटा ती जेमदूतभन्दा डरलाग्दो मान्छे बसेको रहेछ । छेउमा काँडैकाँडा भएकोे पनि थियो । सानो कोठामा मलाई भित्र पठाएर ती जेमदूतहरू बाहिर निस्किए । मलाई त्यो मान्छे देख्दै डाइरिया हुन आँटेको थियो । त्यो मान्छे कस्तो थियो भने घ्याम्पो जत्रो टाउको, टाउकामा तार जस्ता कपाल र दारीजुंधा, लौका जत्रो नाक, ड्रम जत्रो मुखमा फरुवा जत्रा दाँत, विकासे गोलभेंडा जस्ता र जत्रै आँखा, नाङ्ला जत्रा कान, एक क्विण्टल धान अट्ने चारापाटे बोरा जत्रो भुँडी, सखुवाका खाँबा जत्रा पाखुरा, सिमलको रुख जत्रै तिघ्रा । यस्तो मान्छेको छेउमा पुग्दा कस्तो भयो होला, तपाई आफैं अनुमान गर्नु होस् न, किनभने अनुमान गर्न तपाईं पनि हनुमानभन्दा सिपालु हुनुहुन्छ भन्ने मलाई थाहा छ ।

नरसिंगाको जत्रो आवाज निकालेर त्यो मान्छेले मलाई अन्तर्वार्ता लिन थाल्यो, सोर्सफोर्स नपुगेको उम्मेद्वारलाई जत्तिकै गरेर ।
“भन्, जन्मिएर के गरिस् ?”
“के गर्नु र, बिहे गरे ँ। ”
“बिहे गरेर के गरिस् ?”
“हत्तेरिका, हजुर, यस्तो चै नसोध्नु न, अब बिहे गरेपछि के के गरियो- गरियो नि, छोरा छोरी जन्माइयो, बडाइयो, पढाइयो ।”
“जाँड, रक्सी खाइस् ?”
“राम,.. राम,…., कहाँ खानु हजुर, बाहुनका छोराले जाँड, रक्सी भन्ने शब्द सुन्यो र भन्यो भने पनि बाले गाईको गहुँत कानमा ल्याएर छर्कि दिनुहुन्थ्यो र मुख कुल्ला गर्न लाउनु हुन्थ्यो ।”
“गफ गर्छस्, अचेल मतवालीले भन्दा क्षेत्री, बाहुनले बडी खान्छन्, बुझिस् !”
“सुर्ती, चुरोट, गाँजा, अफिम, हिरोइन, स्म्याक खाइस् कि खाइनस् ?”
“हजुर, हामी जस्ता गरिबका छोराले कहाँ पाउनु र पैसा खानु हजुर, त्यस्तो चिज, त्यो त धनीमानी, जमिन्दारका छोराहरूले मात्र खान्थे, हामी त सुङ्न पनि भेट्दैनथ्यौँ ।”
“ झगडा, हुल्दङ्गा, फटाइँ, चोरी, डकैती गरिस् कि गरिनस् ?”
“यस्ता लुते मान्छेले कहाँबाट गर्नु, त्यस्तो काम, फेरि हाम्रो देशमा त पुलिस प्रशासन साह्रै कडा छ, पुलिसको चुटाइ थेग्न सकिँदैन भनेर गरिन ।”
“नेतागिरी गरिस् ?”
“गरिन हजुर, ढाँट्न नजान्ने मान्छेले कसरी नेतागिरी गर्नु ?”
“रण्डीबाजी गरिस् कि गरिनस् ?“
“गरिन हजुर, त्यस्तो नर्कमा पर्ने काम कसले गरोस् ।”

“ए, हाम्रो राज्यलाई नराम्रो भन्ने त भन्दै दुई कोर्रा लायो, सानामा स्कुल पढ्दा सरले कुटेको झल्झली याद आयो । अघिका मान्छेहरू बोलाएर भन्यो- “ए, केटा हो । यस्ता नामर्द केही गर्न नसक्ने मान्छेको हाम्रो नर्कमा काम छैन, बायाबाटै पर पुग्ने गरी हुत्याइदेओ ।” जेमदूतहरूले त्यसै गरे । म हुत्तिएर परसम्म पुगेँ, देवदूतहरू चुरोट तान्दै बसेका रहेछन्, म हुत्तिएको देखेपछि आएर च्याप्प समातेर देवराजको दूतावासतिर लिएर गए ।

देवराजको सम्पर्क कार्यालयमा एकजना लामा लामा जटादारी, जुँघा पालेको आधा तालु खुइलिएको, त्यही खुइलेको तालुदेखि निधारभरि चन्दन दलेको, पहेँलो धोती लाएको मानिस ठूला-ठूला खाता हेर्दै बसेको रहेछ । देवदूतहरूले मलाई त्यहाँ पुयाएर छेउकै कुर्सीमा बसालेर मैले नबुझ्ने भाषामा खै, के के भने नेपाल भनेको मात्रै बुझें, त्यसपछि उनीहरू बाहिर गए । उनले मलाई मैले नबुझ्ने भाषामा खोइ के भने । म नबुझेर ट्वाल्ल परेर हेरिरहें । त्यसपछि उनले नेपालीमै भने, “तिमी संस्कृत बुझ्दैनौ ?” मैले भनें, “के को बुझ्नु संस्कृत, गाउँमा सबै अङ्ग्रेजी स्कुल खोलिएर संस्कृत त हराइगयो नि ।” “त्यसो भए अङ्ग्रेजी चै आउँछ होला ?” उनले सोधे । “बाबा त्यो गोरु खाने विद्या त झन् आउँदैन । कस्ता-कस्ता बि.ए. पास गरेकाले त अङ्ग्रेजी जान्दैनन् म दश पासले कहाँबाट जान्नु” मैले भनें ।

“अनि नेपाली चैं आउँछ ?” “अँ नेपाली चैं आउँछ” मैले भनें ।
“त्यसो भए नेपालीमै जवाफ देऊ है त” उनले भने ।
“हवस्
अनि उनले सोध्न थाले-
“गायत्री मन्त्र त आउँछ होला नि ? बाहुनका छोरा र’छौ ।”
“कहाँ आउनु गायत्रीमन्त्र, कहिले जपेको भा’पो !”
“अनि गुरुले सिकाएनन् ?”
“खोइ बर्तमनका दिन गुरुले गाम्छा ओडाएर ओम भुँडी भुँडी ढुस्स भनेको सुनें, सधैँ एकाबिहानै तीन थाल भात हसुर्ने मान्छे, बार बजीसम्म खान नपाउँदा भुँडी इस्स भएर तुस्स होला जस्तो भएको थियो, त्यसै भनेको होला जस्तो लाग्यो, त्यति नै हो अरु केही सिकाएनन् ।”
“धर्म, कर्म कति गर्‍यौ ?”
“गरियो, गोडा पाँचेक स्वस्थानीको र गोडादशेक सत्यनारायणको पूजा लगाइयो ।”
“अँ निकै गरेका रहेछौ, पाटी, पौवा, चौतारा पनि बनायौ ?” उनले खुशी हुँदै सोधे ।
“हलो जोत्ता गोडा बीसेक पाटी नै बनाइयो, अरु चै छैन ।”
“हलो पनि जोत्यौ, बाहुनको छोराले ?”
“नजोतेर के गर्नु हजुर । अहिले सबैले पढेर जागिर खान थाले, जोत्ने मानिस नै भेटिदैन” मैले भनें ।
“तिम्रो अन्तर्वार्ता सुन्दा त बैकुण्ठ पठाउन नमिल्ने हो, तर पनि निकै ठूलो मान्छेको सोर्स आ’को छ, पास भयौ जाऊ ।” भन्दै एउटा कागज दिएर “यो लिएर नदीमा जानू र दिनू अनि बैकुण्ठ पुगिन्छ ।” भने ।

म पनि योग्यता नभई अन्तर्वार्तामा सफल भएको उम्मेद्वार जत्तिकै खुशी हुँदै बैतरणी नदीतिर गएँ । माझीले कागज माग्यो, देखाएँ- “नाउ तारेको पैसा लाग्छ उसले भन्यो । मैले भनें, “हैन बैकुण्ठमा पनि के को पैसा ?“ अस्ति गोरु माग्ने बेला भएको तेत्रो कोरली बाछी र पचास रुपयाँ बाहुनलाई दिएको भनेर जिद्दी गर्दा पनि “बाहुनलाई बाछी र पैसा दिँदा कहीं बैतरणी तरिन्छ, बाहुनले त बाछी दिने बित्तिकै बेचेर पैसा गोजीमा हालिहाले, तार्ने त म हुँ, पैसा नभई हुँदैन” भन्यो । म बडो बिलखबन्दमा परेँ । निकैबेर अनुनय विनय गरेपछि कसो कसो पारि पुर्‍याइदियो ।

अहो ! बैकुण्ठ शहरको वणर्न के गर्नु थियो, आदिकवि भानुभक्त आचार्य भए एउटा सिङ्गै महाकाव्य निस्किन्थ्यो होला, तर आफू त न आदिकवि न अन्त्यकवि । सुरुमै अनुगमन शाखा रहेछ, त्यहाँको प्रहरीले पैल्यै कागज खोज्यो । कागज दिएपछि जान दियो, ठूलो पिताम्बर भवन रहेछ, “त्यता जानुहोस्, त्यहाँबाट तपाईंको शाखा छुट्टिन्छ“ भन्यो । पहिलो कोठामा पसेको दर्ता फाँट रहेछ, गणेश भगवान सुँड टिटेबलमा अड्याएर भुँडी टेबलमा पल्टाएर निदाइरहेका रहेछन् । “नमस्कार !” भनेको त सुन्दै सुनेनन् । निकैबेर बाहिर बसें, मभन्दा निकैपछि दुईटी केटी आएर ’नमस्कार’ भन्ने बित्तिकै जुरुक्कै उठे । मनमनै भनेँ, तिमी पनि यत्तिका रहेछौ, कागज देखाएँ, कागज हेरेर उनले भने “पहिला माथि लगेर तोक लाएर ल्याउनू, अनि म ठोक लगाइदिन्छु, त्यति भए सब ठिकठाक हुन्छ ।

एक दुई कोठा चाहार्दै मास्तिर उक्लिएँ । प्रायः रित्ता कुर्सीहरू मात्र देख्थेँ । बाहिर बोर्डमा चैं भित्र लेखिएको हुन्थ्यो । एउटा कोठामा हेरेको ’भगवान विष्णु’ लेखेको रहेछ, आज चैं खूब मौका पर्‍यो भन्ठाने र कोठाभित्र पस्न खोजेको पि.ए.ले रोक्यो । सोमझोल पिएर टन्न भएको रहेछ, लर्बराएको स्वरमा भन्यो “कसलाई खोजेको ?” मैले भनें “भगवान विष्णुलाई ।” “उहाँ त हुनुहुन्न, मर्त्यमा कस्को सतित्व डगाउनु पर्‍यो अरे, त्यतै जानुभएको छ ।” त्यसपछि घुम्दै फेरि अर्को तलामा गएँ । एउटा कोठाको बोर्डमा ‘देवराज इन्द्र भित्र’ लेखेको छ । यसो ढोकाबाट चियाएको त उर्वशी, मेनका र तिलोत्तमाहरूसँग जिस्किएर पो बसिरहेका रहेछन् । बज्रले बजाउँछन् होला बाबैले भनेर त्यहाँबाट लुसुक्क हिँडें ।

अर्को कोठामा हेरेको त बोर्डमा ‘चिरञ्जीवि पर्शुराम भित्र’ लेखेको रहेछ । बुढा कुर्सीमा बसेर बञ्चरो उद्याइरहेका रहेछन् । हन अफिसमा त हतियार राख्न पाइँदैन भन्थे, तर ठूला मान्छेले त जे गरे नि हुने र’छ जस्तो लाग्यो । कानुन त सानालाई नै त लाग्ने हो नि । आखिरमा देवताले त जे गर्दा पनि पूज्य भएकै छन् । हातमा कागज लिएर भित्र पसेको पिलिक्क हेरे, “सर यो कागज” भनी मात्र रथें । “के को कागज, म पढाउने मास्टर हुँ र सर भनेको, यो बैकुण्ठको अफिस हो बुझिस्, यहाँ सर, फर कुनै पनि अङ्ग्रेजी शब्द चल्दैन । यहाँ त हाकिम सा’ब, हजुर मात्र चल्छ” भने । मलाई पनि झोंक चल्यो र भनें “तिमी चैं मास्टर भन्दै हेपेर अङ्ग्रेजी शब्द बोल्ने, मलाई चैं अङ्ग्रेजी बोल्न पाइँदैन भन्ने ?”

बुढाले त बञ्चरो उज्याइहाले । म भाग्न थालेँ । उनी खेद्दैै आए, म भाग्दै गएँ । पुलिसले कमिनिष्ट खेदे जत्तिकै गरेर खेद्न थाले । भाग्दा भाग्दै तीन तलामाथिबाट नै फाल हानेछु डङ्रङ्ङ तल झरें । भरे त सुतेको खाटबाट तल झर्दा पो झसङ्ग भएर ब्युँझिएछु ।

०००
रचनाकाल : पर्शुराम जयन्ती, २०३८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नरिवल र बाँदरहरू

नरिवल र बाँदरहरू

विनाेद खनाल
मिसकल

मिसकल

विनाेद खनाल
मिसमास

मिसमास

विनाेद खनाल
सोह्र सराद

सोह्र सराद

विनाेद खनाल
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे