सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिसकल

गाडीको लाइसेन्सको प्राक्टिकलमा जथाभावी खुट्टा टेके पनि, बाङ्गो टिङ्गो जता कुदाए पनि पैसाको बिटाले ट्राफिक प्रमुखलाई छोपेपछि त्यो पनि पास । यस्ता पास हुने विषय कति छन् कति हाम्रो नेपालमा !

Nepal Telecom ad

विनोद खनाल :

‘मिसकल’ भन्ने बित्तिकै तपाईंले कुरो बुझ्नु भो नि ! टेलिफुनको जमानामा पनि ‘मिसकल’ को कुरो बुझ्नु भएन भने तपाईं र अहिलेका विद्यार्थीमा के फरक ! त्यसकारण अहिले कुरो बुझ्ने मामलामा कोही पनि पछि छैनन् । दुई महिनाका नानीहरूदेखि लिएर नब्बे वर्षका बुढाबुढी सबले मोबाइलको कुरा बुझ्छन् । कम्पुटरको जमना भएर होला पत्रकारले जत्तिकै छिटो कुरा बुझ्छन् अहिलेका मान्छेहरू । नेताले बोल्न मुखमात्र चलाउन खोजे भने, पत्रकारहरूले फलानो नेताले यसो भनेर मिडियामा निकाल्दी हाल्छन्, अझ अहिलेका पत्रकार त कति फास्ट छन् भने भोलिको कार्यक्रममा कुन नेताले के के भन्छन्, कार्यक्रममा के के हुन्छ सबै अगिल्लै दिनको समाचारपत्रमा आउँछ । अँ मिसकलको कुरा त बुझ्नु भयो नि ! बुझ्नु भएन भने तपाईंलाई मात्र सुटुक्क भनेको नि, गायत्री मन्त्र जस्तै । ‘मिस’ भनेको बिहे नगरेकी केटी, ‘कल’ भनेको बोलाउनु ! यसो हुँदा मिसकल भनेको बिहे नगरेकी केटीलाई बोलाउनु । कसो त मैले पनि अङ्ग्रेजी पढाउने मास्टरले जत्तिको अर्थ लाएँ कि लाइ न त !

हुन त आजकलका केटाकेटीले ‘मिस’ र ‘म्याडम’ त छुट्याउन सक्दैनन्, गाला चाउरी परेका, सेताम्मे फूलेका नाति, नातिनीका धनीहरूलाई त बि.ए एम.ए पढ्ने केटाकेटीहरू ‘मिस’ भन्छन् भने हाइ स्कुलसम्मका बबुराहरूको त कुरै छोडौँ न ! हुन त केटाकेटीहरूको पनि के दोष ! ‘जसो जसो बराजु, सोही सोही नाति’ भने झैँ शिक्षकहरूले जस्तो सिकायो विद्यार्थीहरूले त्यस्तै त सिक्ने हो ! फेरि अर्को कुरा बिहे गरेका म्याडमहरूको शिरमा न सिन्दुर छ, न गलामा पोते । कपाल काटेर ठुटै पारेर सर्ट र पेन्ट लाएपछि कसरी छुट्टाउनु हौ मिस र म्याडम ! म्याडम र सर नै छुट्याउन गाह्रो भइसक्यो, मिस र म्याडमका कुरा ! म्याडम भन्दा मलाई कस्की म्याडम देखिस् एई ! तेरी म्याडम हुँ ? भनेर नारा जुलुस गर्न बेर छैन । अहिलेको जमना नै आन्दोलन र नारा जुलुसको छ । लोग्ने स्वास्नीको ठाकठुक हुँदा त देशै बन्द हुने देशमा आन्दोलनका लागि अरू के नै निहुँ पो चाहियो र !

मेरो सोझो दिमागले चैँ के भन्छ भने ‘मिस’ भनेको गल्ती, ‘कल’ भनेको बोलाउनु ! सोझो अर्थ लाउँदा त अर्थ कताकता बटारिन्छ बटारिन्छ तर पुराणमा पण्डितले लाए जसरी अर्थ लाउनु पर्छ, जता पनि मिल्छ । मिस अण्डर स्ट्याण्ड, मिस युज, मिस टेक आदि आदि तर मोबिलको भाषामा भने यसको अर्थ अलिक बेग्लै हुँदो रहेछ । उहीँ हिँड्नेलाई उडुस, बाल्नेलाई लाल्टिन, पानी हाल्नेलाई बाल्टिन, निस्कनेलाई पसिना भने जस्तै । जानी जानी फुन हानो अनि भन्यो ‘मिसकल’ । त्यो त नोनकल भइहाल्यो नि । उही जानी जानी मान्छे मार्‍यो अनि भिडन्तमा मर्‍यो भने जस्तै ! त्यसकारण अचेल मिसकल गर्नेहरूको सङ्ख्या जथाभावी खोलिएका बोर्डिङ स्कुल जत्तिकै बढेका छन् हाम्रो देशमा ! म्याडमहरूका श्रीमान् पनि आजकल म्याडमहरूलाई छलेर मिसकल गर्न खप्पिस भइसकेका छन् । अझ म्याडमहरू माइत गएको बेला पर्‍यो भने त मिसकलले निकै भाउ पाउँछ र दाउ पनि लाउँछ । त्यस्तै श्रीमान् घरमा नहुने म्याडम र श्रीमान् नै नभएका मिसहरूले पनि ‘मिसकल’ गरेर ब्वाइफ्रेन्ड बोलाउने चलन हाम्रो देशमा चलेको बन्द हड्ताल जत्तिकै बढेको छ ।

यो फुनले पनि मासेको पो छ त आजकल । ‘मिसकल’ आउँछ कस्ले न कति इमर्जेन्सी परेर गर्‍यो होला भनेर फर्कायो कि चैँ जेठानी दिदी वा जेठी सासू, नत्र भाञ्जे बुहारी वा मावल्नी भाउजू नभए त्यही पल्ला घरकी काकीको फोन हुन्छ, अनि गफ् सुरु हुन्छ ‘खाना खानुभयो ?’ ‘सब्जी के थियो ?’ चटनी के को बनाउनु भो, टमाटरको कि मूलाको ? खोर्सानी कतिवटा हाल्नु भयो ? नुन कति लगाउनु भो ? दाल पकाउनु भयो कि भएन ? दूध खानु भो कि दही ? ओछ्यानमा बस्नु भा छ कि भुइँमा ? सिरानी कतिवटा लाउनु भको छ ? टिभीमा धुर्मुसले कस्तो हँसायो हगि ? भनेर एक घण्टा फोन गरेपछि एक हप्ता सब्जी खाने पैसा चट हुन्छ, अनि मासेन त फोनले ? आफूले इमर्जेन्सी परेर फोन गर्‍यो भने चैँ ‘घरि नेटवर्क बिजी’, ‘घरि नो रिचेबल’, ‘घरि सिमकार्ड रजिस्ट्रेसन फेल’ भन्छे त्यो फुन भित्रकि केटी, अनुहार चैँ कस्तो छ को नि ? बोली चाहिँ अहिलेका केटीहरूको जत्तिकै नाप्पिएको छ, त्यसको पनि !

हुन त अहिले फेल हुने भनेकै मोबाइलको सिमकार्ड, नेटवर्क, सरकारको योजना र आयोजनाहरू अनि सरकार त हो, विद्यार्थीहरू त फेल हुन छाडिहाले । सात किलाससम्म सरकारले फेल पार्न नपाउने नीति ल्याइहाल्यो । त्यहाँ माथिका किलासमा आफ्ना छोराछोरी फेल भको सुने भने अभिभावकहरू लाठी र मुङ्ग्री लिएर आउने डरले सबैलाई चोराएर हुन्छ कि सिकाएर हुन्छ पास गराउनै पर्‍यो, एस.इ.इमा त कोही फेलै हुदैनन् । सातै विषयमा दागी लाए पनि कलेज पढ्न पाइहाल्छन् । पास हुने कुरा अरू यस्तै धेरै छ्न् । आठ इन्च ग्राभेल हाल्नु पर्ने ठाउँमा दुई इन्च ऊ बालुवा छरेर ओभरसियरज्यूलाई मज्जाले चटाइदिएपछि त्यो पनि पास भइहाल्छ । चार एकको मसला र आठ सुते रड लाउनु पर्ने पुलमा दस एकको मसला र तीनसुते रड हालेर इन्जिनियर साहबको गोजी गरम गराइ दिएपछि त्यो पनि पास भइहाल्छ ।

गाडीको लाइसेन्सको प्राक्टिकलमा जथाभावी खुट्टा टेकेपनी, बाङ्गो टिङ्गो जता कुदाए पनि पैसाको बिटाले ट्राफिक प्रमुखलाई छोपेपछि त्यो पनि पास । यस्ता पास हुने विषय कति छन् कति हाम्रो नेपालमा ! बरू गाईगोरुका शरीरका रौँ गन्न सकिएला नेपालमा पास हुने विषय गनेर साध्य छैन । गोष्ठी, तालिम, सेमिनार, परीक्षा जेमा बस्नुहोस् तपाईं पास, लोकसेवाको परीक्षा बाहेक !

यो मोबाइललाई पनि यति साह्रो चैँ सराप्नु नहुने हो, आफ्नै हाकिमलाई कारिन्दाले सरापेझैँ । यो मोबिलले पनि साह्रै फाइदा पो गराएको र छ त ! एकपटक म आफ्नै काम विशेषले गाउँले भाइ कहाँ गएको थिएँ, भाइ घाँस झार्न घर पर्तिर कुटमिराको रुखमा चढेछ्न्, टुप्पामा पुगेपछि खुर्पा भुइँमा झरेछ । उनको पालो हत्त न पत्त गोजीबाट मोबाइल निकालेर बुहारीलाई फोन गरेछन्, बुहारी पनि मोबाइल खेलाउँदै सब्जी केलाउँदै रछिन्, हत्त न पत्त फोन उठाइन् र कुद्दै गएर भाटामा खुर्पा सिउरेर भाइलाई दिइन् । हेर्नू त कत्रो काम भो नत्र भने भाइले रुखबाट हापिन् छेरुन्जेल कराउँदा पनि भिडियो घन्काएर सब्जी केलाउँदै गरेकी बुहारीले मर्दा सुन्ने थिइनन् । कोही बेला यै मोबिलले फेरि दिक्क पनि पारेको छ नि ! आफू भात मुछेर गाँस हाल्नलाई आँ गरेर मुख छेउमा पुर्‍यायो अनि मोबाइलमा घण्टी बज्छ र फोन उठायो, अनि फोनमा आउँछ है कुरा । ल बडाबा त सकिए है, काका बिते है, मामाले छोडे है, सानिमा रहिनन् है, हजुरआमा परमधाम जानू भयो है भनेर । अनि परेन त बित्याँस् ! लौ लौ, यो थोत्रे गनगन जति गरे पनि यस्तै हो । तपाईंलाई पनि मिसकल गर्न ढिलो भयो होला ! मलाई पनि त्यस्तै छ ! लौ मोबिलको रिङ पनि बज्यो, कस्ले खोज्यो को नि ! ए, मिसकल पो रहेछ ! हिक्का रहे म पनि कुनै दिन मिसकल गरौँला ! ल है त ! बाइ…!!!

०००
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नरिवल र बाँदरहरू

नरिवल र बाँदरहरू

विनाेद खनाल
मिसमास

मिसमास

विनाेद खनाल
सोह्र सराद

सोह्र सराद

विनाेद खनाल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी