सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खँदाल कान्छाको रहर

सय रुपियाँको जाँड खायो भने केही मजा त आउँछ ! एकछिन भए पनि भुइँबाट आकाशमा त पुर्‍याउँछ । जाँडै नखानेले पनि रसवरी खायो भने मुखभरी त हुन्छ, अनि कसले किन्ने किताब !

Nepal Telecom ad

विनोद खनाल :

खँदाल कान्छो पनि मान्छे त लहडी नै हो । कहिले केटाकेटीलाई कथा सुनाउँछ, कहिले भैलो र देउसी सिकाउँछ । भैलो चैँ सिकायो खँदाल कान्छाले, भाँड चैँ कहिले पनि सिकाएन । खँदाल कान्छो कहिले भजनमा ताली पड्काउँदै हुन्छ भने कहिले पिकनिकमा हल्लिँदै हुन्छ । कहिले गोष्ठीमा कविता सुनाउँदै हुन्छ, कहिले गोष्ठीको निणर्ायक बन्छ, कहिले पप गीत सुनेर फिस्स हाँस्छ ।

यत्रो बिघ्न काम भ्याउने खँदाल कान्छाले केटाकेटी पढाएको, फाल्टु गफ लडाएको, सभा समारोह भ्याएको, एक्लै बसेर गीत गाएको, बिहान बेलुका दिउँसो तीन साँझ खाएको जस्ता कुरा त लेखेकै छैन, उसले गरेका सबै कुराहरू लेख्न थाल्नु हो भने महाभारत जत्रो किताब नै बन्न सक्छ, जाबो अठार दिनको लडाइँ लेख्दा त संसारकै ठूलो काव्य बन्यो भने खँदाल कान्छाको अहिलेसम्मका हरेक दिनका घटना लेख्दा कसो विश्वकै एउटा ठूलो किताब नबन्ला त ! यति ठूलो किताब भएपछि एउटा पुरस्कार कसो नपाइएला त ! आजकल किताब जति ठूलो भयो त्यसैले पुरस्कार पाउँछ, गुदी त जस्तो होस् न बोक्रा र आकार ठूलो भयो भने पुरस्कारका लागि छनोट भइहाल्छ ।

अँ, साँची किताबको कुरा गर्दा खँदाल कान्छो पनि अलेली कविता, गीत, कथा, हास्यव्यङ्ग्य लेख, निबन्ध लेख्ने मान्छे हो । दुईचारवटा कविता टोपलटापल पारेर लेखेपछि सात पन्नाको भूमिका, दश पन्नाको आफ्नू मन्तव्य र बाह्र पन्नाको ‘यो पुस्तक पढेपछि’ लेखाएपछि पुस्तक निकै मोटो भइहाल्छ । त्यसमा पनि भूमिका र शुभकामना मन्तव्य लेखिदिने साहित्यकारका परिवारलाई नै रेस्टुरेन्टतिर छिराएर सेकुवा, बियर र दुईचारवटा लड्डु चखाइ दियो भने पुस्तक अकबरी सुनभन्दा असल हुन्छ ।

अझ विमोचनका दिन समीक्षा गर्ने समीक्षकलाई रुचि अनुसारको भोजन गराइदिनु होस्, तपाईंको पुस्तक अल्ट्रामोर्डन । साथीभाइको यस्तो कर्म देखेपछि खँदाल कान्छालाई पनि एउटा किताब निकालेर साहित्यकार बन्ने कम रहर चलेको होइन, अलिक सोर्सफोर्स पुग्ने हो भने त दुईचारवटा कविता र गजल मञ्चमा चिच्याएपछि वरिष्ठ साहित्यकार बनिने नै हो तर बबुरो खँदाल कान्छाको काँबाट लाग्नु सोर्सफोर्स ! किताब निकाल्न बबुराको खल्तीले कहिल्यै साथ दिएन । नानीकी आमालाई एकजोर लुगा किनिदिन नसक्नेले किताब निकाल्ने रहर गर्नु र साइकल किन्न नसक्नेले पजेरोको रहर गर्नु उस्तै उस्तै रहेछ ।

हुन त नेपालमा किताब नै छपाएर पनि कस्ले पढ्ने र ! दुई पन्ने पत्रिका पढ्न त कसैलाई फुर्सद छैन, फेसबुक र अनलाइनले सबैलाई घोप्टे युगमा पुर्‍याइ हाल्यो अनि किताब पढ्ने फुर्सद नै कसलाई हुनु र ! किताब पढ्नै पर्ने विद्यार्थीहरू त भरसक अर्कैले पढी दिए हुन्थ्यो भने जस्तो गर्छन् भने पढ्न बाध्यता नहुनेले किन पढ्थे पुस्तक ! टि भि, सि डि र युटुबतिर नाङ्गा नाङ्गा फोटा हेर्न छोडेर कोही किताबका पन्नामा दिमाग खर्च गरोस् ! त्यसमाथि अहिलेका साहित्यकारका साहित्य ! बरू कोदाको नलको केही स्वाद होला, आजकलको साहित्य केही बुझिदैन । अनि कसले पढोस् र किताब ! सय रुपियाँको किताब किन्नुभन्दा सय रुपियाँको जाँड खायो भने केही मजा त आउँछ ! एकछिन भए पनि भुइँबाट आकाशमा त पुर्‍याउँछ । जाँडै नखानेले पनि रसवरी खायो भने मुखभरी त हुन्छ, अनि कसले किन्ने किताब !

यसो स्कुलतिर गएर दारा ङिच्च्यायो भने केही मास्टरले किनी हाल्लान्, त्यही पनि बाँकी भेटे भने नगदमा किन्न त माष्टरसँग कहाँबाट होस् र पैसा ! बल्ल बल्ल तीन महिनामा निकासा हुन्छ, भूत, प्रेत, सिमे, भूमे, जङ्गली, नयाँ, कुलायन, नाग नागिनीलाई बुझाउँदा बुझाउँदै सिद्धिहाल्छ ! यस्तो सोच्दासोच्दै खँदाल कान्छाको रहर पनि खडेरीको बिरुवा जस्तै ओइलाउन थाल्छ । तर ऊ चुनाव हारेको नेता जस्तो चैँ होइन है, एकचोटी चुनाव हार्दैमा डाँडो काटेर भाग्ने, ऊ हिम्मतदार मान्छे हो, कथाकै भए पनि, कविताकै भए पनि, हास्यब्यङ्यकै भए पनि दसबीस पन्नाकै भए पनि गुदी जस्तोसुकै होस् बोक्रो चैँ बाक्लो र रङ्गी चाङ्गी पारेर किताब छपाएर साहित्यकार हुने दाउमा छ ।

किताबको पछाडि राम्रो फोटो राखेर बाबुआमा, पत्नी, छोराछोरी, सासूससुरा, सालासाली, जेठान, जेठीसासू, दिदीभिनाजु, भाञ्जाभाञ्जी, बहिनी ज्वाइँसम्मका नाम निमन्त्रणा पत्रमा दर्शनाभिलाषीको नाम खाँदे जत्तिकै खाँदेर भजन मण्डलीको सदस्यदेखि टोलविकास समिति सदस्यसम्मको विवरण राखेर साथै पाँचसातवटा अप्रकाशित किताबको नाम पनि राखेर किताब छपाउने उसको रहर पचास वर्ष नाघेकी कन्याले बिहे गर्ने रहर र असी वर्षकि आमोईले ब्युटी पार्लर जान गरेको रहरभन्दा कम छैन ! हेरौँ कसो पूरा नहोला त !! साहित्य देवीकी जय !!!
समाप्त

०००
धुलाबारी, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नरिवल र बाँदरहरू

नरिवल र बाँदरहरू

विनाेद खनाल
मिसकल

मिसकल

विनाेद खनाल
मिसमास

मिसमास

विनाेद खनाल
सोह्र सराद

सोह्र सराद

विनाेद खनाल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी