सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नकच्चरो ज्वाइँः लबस्तरी सासू

अझ पत्रकार पनि भएको भए त झन् कसो हुन्थ्यो होला ! यो लेखमा सासूका मात्र कुरा आयो, ससुरालाई चैँ पुछ्दा पनि पुछेन भनेर नाक दुखाउनु होला, नाक दुखे पनि दुखोस् चाक दुखे पनि दुखोस्, महिलाहरूलाई सरकारले त आरक्षण छुट्ट्याएको छ भने मैले यति लेख्न पाउँदिन र !

Nepal Telecom ad

विनोद खनाल  :

“पोहोर मरिन् सासू, अहिले आए आँसु” भनेझैँ सासू मर्ने बित्तिकै आँसु झार्ने मान्छे बिरलै भेटिन्छन् । हुन त देखावटी र बनावटी आँसु त जेठानी दिदीकी भाउजूकी आमा मर्दा त खसाल्छन् भने सासू मर्दा त नझार्ने कुरै भएन ! बुहारीहरूलाई कहिले सासू मर्छिन् र टोकसो सिद्धिएला र आफू पनि त्यो पदमा पुगौँला भनेर प्रतिपक्षी पार्टीका संसदीय दलका नेतालाई जत्तिकै चासो परेको हुन्छ भने ज्वाइँ मोरो त झन नकच्चरो हुन्छ, सित्तैमा मौका घिउभात डम्फ्याउन पाइहाल्छ, अझै मौका पर्‍यो न भने एउटा दुहुनी गाई वा बाछी घिस्याउने भागिदार बन्न पुग्छ । नभए पनि सौ, दुईसौ दक्षिणा त कतै नजा !

ज्वाइँ र सासूको छेडछाड त निकै पहिलेदेखि भएकै हो भन्ने कुरा त “ज्वाइँ र सासू महात्म्य” बाट थाहा लागेकै हो । सबै महात्म्य भन्न थाल्ने हो भने कसलाई सुन्ने फुर्सद होला र ! पुराणको महात्म्य त कतिखेर पण्डितजीले सिध्याउँछन् र भजनमा उफ्रिनु भनेर पर्खिएर बसेका भक्त भक्तिनीहरूलाई हतार हुन्छ भने जाबो “ज्वाइँ सासू महात्म्य” कस्ले सुन्ने भनेर एकदुई उपकथा मात्र सुनाउँदै छु । एकपटक निकै समयपछि ज्वाइँ ससुराली गएछन् । सासूले “घिउ पाउँ त ज्वाइँ दिऊँ” भन्दै हर्पे नै भागमाथि घोप्ट्याइ दिदी रहिछन्, जमेको घिउ के झर्थ्यो ! दुई छाक निस्तो भात ख्वाइ परेका ज्वाइँलाई पनि सासूको यो क्रियाकलापदेखि रिस उठेछ र एकदिन चैँ पुनिउँ आगोमा तताएर हर्पेमा बिरोलेछन्, सासूले उहीँ शैली ज्वाइँलाई घिउ दिन खोज्दा त हर्पेको घिउ सबै ज्वाइँको भागमा झरेछ, हर्पे भरिको घिउ खाएर सुरुवाल छेरेर ज्वाइँ ससुरालीबाट राति नै भागेको कुरा तपाईंं हाम्रो कथा नै बनेको छ ।

त्यस्तै ज्वाइँ भात खाँदै गर्दा सासूले “ज्वाइँहरू कति भाइ ?” भनेर सोध्दा “यस गन्धबाट बाँचे भनेँ सात भाइ थियौँ” भन्ने जस्ता उपकथाहरूले ज्वाइँ र सासूको सम्बन्ध अहिलेका नेता र जनताको जस्तै नकच्चरो रहेछ भन्ने ठहर्छ । सिन्का गनेकै भरमा ज्वाइँलाई ज्योतिषीको पगरी गुथाइ दिने सासू र बिना दरबन्दीमा नियुक्ति दिने मन्त्री उस्तै नै हुन् । सासूका लागि जति नै असल बुहारी भएपनि खराब नै भएझैँ आफ्ना ज्वाइँको प्रशंसा गर्न कुनै सासू पनि चुक्दैनन् । जिल्लाको कुनै पनि कार्यालयमा नासुको जागिर खाने ज्वाइँ छन् भने सासूले मन्त्रालयको सचिव नै बनाइदिन्छिन्, जसरी मन्त्रालयका सचिवले आफन्त पर्‍यो भने खरदारलाई पनि हाकिम बनाएर पठाउँछन् ।

यो ज्वाइँ भन्ने जन्तु पनि अचम्मकै हुन्छ । हुन त तपाईंं पनि ज्वाइँ म पनि ज्वाइँ, हामी के अचम्मका पो छौँ र ! तर पनि सासू, ससुरा, जेठान, जेठीसासूका लागि अकडो मान्छे खोज्नु पर्‍यो भने ज्वाइँ नै हो । कडो पनि कसरी भन्नु र छोरी वा बहिनीले भनेको लुरुक्कै मान्छ । संस्कृतमा पनि भनिएको छ नि,
“सदा वक्रः सदा क्रूरः सदा पुजम् अपेक्षते ।
कन्याराशि स्थितो नित्यम्,जामाता दशमम् ग्रह”

यो श्लोकले ज्वाइँलाई बाउँटो, रिसाहा र सधैँ पूजा (मानभाउ) खोज्ने र सधैँ कन्याका साथमा रहने हुन्छ भनेको छ । कोही कोही ज्वाइँहरू त साँच्चै बाङ्गा नै हुन्छन् है, खान दिँदा पनि रिसाएकै छन्, नदिँदा पनि रिसाएकै छन् । कति ज्वाइँहरूले छोरीलाई सौता हालेर छोरी र सासूससुरा समेतलाई आँसु आँसु बनाएका छन् । यो ज्वाइँ र ससुरालीको झगडा आजको मात्र होइन, उहिलेका खुइले दक्ष प्रजापति र जटाधारी भगवान शिवकै पालादेखिको हो । देवका देवका महादेवले नै ससुरालीसँग झगडा गर्न सिकाएपछि हामी भक्त पनि के कम हुन्थ्यौँ र ! यता हाम्रा राष्ट्र निर्माता महाराजले पनि ससुरालीसँग झगडा गरेर बेहुली नै छोडेर हिँडेका भन्ने कुरा इतिहासले बोलेकै छ । अनि हाम्रो पुराण, इतिहास ससुरालीसँग लाठी मुङ्ग्री गर्ने भएपछि हामी चैँ किन पछि पर्ने त ससुरालीसँग झगडा गर्न !

हुन त सबै ज्वाइँहरू एकै खाले हुँदैनन् । कोही होचा होलान्, कोही पोचा होलान्, कोही घारे होलान्, कोही दारे होलान्, कोही विचरा होलान्, कोही नकच्चरा होलान्, कोही चुइयाँ होलान्, कोही टपरटुइयाँ होलान्, वर्गीकरण नै गर्न थाल्नु हो भने हाल पाटी चिरा परेभन्दा बढी ज्वाइँ चिरा पर्लान् । “टाढाको ज्वाइँलाई राडी काम्लो, नजिकको ज्वाइँलाई डोको नाम्लो” भन्ने उखानबाट पनि थाहा हुन्छ कि टाढाको र नजिकको वा घरज्वाइँको इज्जत नेपालका निजामती कर्मचारी र शिक्षकको जस्तै फरक हुँदोरहेछ भन्ने अन्दाज गर्न सकिन्छ । नातामा अलिक पर पर्ने एकजना ससुरालीले घरज्वाइँ राखेका थिए, एकताका हामी घुम्दै त्यहाँ पुगेका थियौं, हामी पुग्ने बित्तिकै आन्टी घण्टी बजाउँदै पूजाकोठातिर लागिन्, साडु झाडु लिएर माथी उक्ले,हामी पर्याैँ जिल्लाराम ।

म उहिले केटाकेटी छँदा तल्लाघरे बडाबाकी एउटी छोरी थिइन् । छोरा नभएकाले सम्पत्ति खाने र हेरचाह गर्ने भनेर घरज्वाइं राखेका थिए उनले,एकदुई छोराछोरी भएपछि त ज्वाइँले सासू लिएर पो चम्पट ठोकेछन् । त्यो घटनाले अर्को घटना पनि नसम्झाइ छोडेन । कुनै ज्वाइँ ससुराली गएछन्, बेलुका भान्सा घरभित्र पसेर भान्सेसँग जिस्किन थालेछन् । भान्सेले “ज्वाइँ न स्वाइँ अगुल्टोले च्वाइँ” भन्दै अगुल्टो निकाल्दा पो झसङ्ग भएछन् । सालीसँग जिस्किन गको सासूआमाकै पो फेला परेछन्, चालीस वर्ष पुगेकी सासूले सोह्र बर्षकी सालीको कुर्ता लगाएपछी अँध्यारोमा ज्वाइँ नझुक्किउन कसरी ! भनाइ पनि छ नि “पाली बिनाको घर, नाली बिनाको सडक, फाली बिनाको हलो, डाली बिनाको रुख, बाली बिनाको वारि र साली बिनाको ससुराली बुच्चो हुन्छ” भन्ने ।

यसरी कुरै गर्दै जाँदा ज्वाइँ सासूका पनि धेरै कुरा आउँछन्, ज्वाइँ सासूका मात्र होइन सासू बुहारीका पनि कुरा आउँछन्, निहुँ खोज्न कुन ठूलो कुरा पो चाहिन्छ र ! सासू बुहारीका दन्त बझान नसुनेका भए सायद भानुभक्त आदिकवि नै हुदैनथे होला !सासू बुहारीका वार्ता हेर्नुहोस है एउटा –
सासू भन्छे बुहारी ! बुहारी भन्छे जीउ,
सिङ्माङ्मा राखेको कल्ले खायो घिउ ?
देख्नु न सुन्नु कहाँ मैले खाएँ ?
ओठ तेरा चिल्ला चिल्ला थाहा मैले पाएँ !
जान्नु न सुन्नु तेसै मलाई दोष ,
घिउ खाने चोसोलाई अगुल्टोले झोस !

यसरी नगरेको र नबिगारेको कामलाई पनि बिगार्दा र घरबाट मालसामान हराउँदा बुहारीलाई दोष दिने, बुहारी डक्ने चलन हाम्रो समाजमा संस्कृतिकै रुपमा विकास भएको पाइन्छ । तर अचेल जमाना उल्टो छ भन्छन्, कोनि बुहारीले पो सासूलाई डक्तैछन् कि !

जाबो ज्वाइँ र सासूका बारेमा पनि यत्रो कुरा कथुरियो हौ, आजकलका कविका कविता जत्तिकै पारेर । अझ पत्रकार पनि भएको भए त झन् कसो हुन्थ्यो होला ! यो लेखमा सासूका मात्र कुरा आयो, ससुरालाई चैँ पुछ्दा पनि पुछेन भनेर नाक दुखाउनु होला, नाक दुखे पनि दुखोस् चाक दुखे पनि दुखोस्, महिलाहरूलाई सरकारले त आरक्षण छुट्ट्याएको छ भने मैले यति लेख्न पाउँदिन र ! गाँडतान्त्रिक बेवास्तामा !!!

०००
धुलाबारी, झापा

मो नं : ९८४२७१५५३२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नरिवल र बाँदरहरू

नरिवल र बाँदरहरू

विनाेद खनाल
मिसकल

मिसकल

विनाेद खनाल
मिसमास

मिसमास

विनाेद खनाल
सोह्र सराद

सोह्र सराद

विनाेद खनाल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी