विनाेद खनालसोह्र सराद
उहिलेका बुढा पुरेत परेका भए बिहान उज्यालो हुँदा थालेको सराद बेलुका साँझ पर्दा पनि सकिदैन थियो होला, प्रतिनिधि सभाको बैठक जत्तिकै लामो हुन्थ्यो । सराद सकेपछि त हसुर्ने काम न हो, पितृको नाम गर्यो, खाने त जिउँदा पितृ र मातृहरू त हुन् ।

विनोद खनाल :
“सराद” शब्द हामी हिन्दु धर्म मान्ने मानिसहरूका लागि गायत्री मन्त्रभन्दा पनि निकै प्रिय छ किनभने गायत्री मन्त्र त नजप्दा पनि हुन्छ तर सराद भनेको त बाचुन्जेल एक तुर्को पानी नदिने छोराबुहारीहरूले पनि “मरेपछि खा बाबै केरा” भनेझैँ आरीभरि पानी र बेदीभरि फुटबल जत्रा पिण्ड लडाएर पनि पितृ भक्ति त देखाउनै पर्यो, विदेशी एजेन्ट नेताहरूले राष्ट्रभक्ति देखाए जस्तै गरेर । यसरी सराद गर्नु र मकैको भात खाएर एकादशीको व्रत बस्नु चैँ उस्तै उस्तै हो जस्तो लाग्छ मलाई ।
हाम्रो धर्मशास्त्रमा सरादका प्रकार र संसारमा रोगका प्रकार चैँ उत्ती नै छन् कि क्या हो ! यसो भन्दा मुद्दा त लाग्दैन होला नि ! नभए त वकिलले भेट्ने हो भने बिना प्रमाणको कुरा बोल्यो भनेर मुद्दा लाउन बेर छैन ! संसारमा एउटा डाक्टर उत्पादन भयो भने उसले रिसर्च गर्छ र एउटा रोग पत्ता लाएरै छोड्छ, त्यस्तै एउटा व्यक्ति पढेर पण्डित भयो भने उसले एकप्रकारको सराद निकालेरै छोड्छ । म सरादशास्त्री चैँ होइन तर अहिलेका विद्यार्थीले पदवर्गका प्रकार भने भन्दा चैँ अलिक राम्ररी सरादको प्रकार भनिदिन्छु ।
सुन्नुहोस है त सरादका प्रकारहरू, एकुदिस्टी सराद, मालए सराद, पार्वण सराद, एकपार्वण सराद, आभ्युदयिक सराद, नान्नेमुखी सराद, त्रिपिण्डी सराद,अष्टका सराद, तीर्थ सराद, बद्री सराद, गया सराद, पुनःपुनः सराद इत्यादि । खोज्दै जाने हो र सरादमै डिग्री र पिएचडी पनि गर्नु हो भने नेपालका जातजाति जत्तिकै प्रकारका सरादहरू नहोलान् भन्न चैँ सकिँदैन । सरादको बारेमा यत्तिको गफ दिने मान्छेलाई एउटा कुरा चैँ सोधिहालौँ न त भनेर अहिलेका पत्रकारलेझैँ प्याच्च सोधिहाल्नु होला नि, “यी सराद मध्ये तपाईंलाई कुन सराद मन पर्छ ?” भनेर । तर जति नै गहिरो प्रश्न सोधे पनि माथि माथि चिप्लिएर उत्तर दिने विज्ञ नभए पनि विज्ञको चेलो त हूँ नि म पनि ! शिवपुराणमा शिव ठुलो, विष्णु पुराणमा विष्णु ठूलो, ब्रम्हा पुराणमा ब्रम्हा ठुलो भए जस्तै सरादहरू सबै राम्रै छन्, टन्न घिउभात, दाल, सब्जी, अचारविचार खाएर डकार्न पाएपछि कुन सराद पो नराम्रो होला र !
तर सबै पुराणहरूमा श्रीमद्भागवत पुराण नै उत्तम भए जस्तै सरादहरूमा सबैभन्दा उत्तम सराद चैँ सोह्र सराद नै हो । किन भन्नू होला, सोह्र सरादमा सोह्र थोक खानेकुरा बनाउनु पर्छ भनेर पुरेत बा, हाम्रा हजुरआमाहरू र बढ्यामाहरू भन्नुहुन्थ्यो तर यो चाहिँ मिठो खान पल्केका पुरेतबाहरू र बाहुनी आमैहरूले छाँटेको गफ जस्तो मात्र लाग्छ । खयर जे होस्, अरु सरादमा भन्दा सोर सरादमा खानेकुरा अलिक बढी नै हुन्छ, यसैकारण सोह्र सरादलाई ठुलो मानिएको होला ।
सोह्रसरादको प्रसङ्गमा हाम्रा बाले एउटा खिस्सा गर्नु हुन्थ्यो, “एकपटक फलानु पर्साद र ढिस्कनु पर्सादले मीत लाएछन् अरे र सालोको ससुरालीमा सराद खान गएछन् अरे, सराद खाँदा खाँदा दुई भाइले यति खाएछन् अरे कि दुवैलाई चुठ्नका लागि उठ्न पनि गाह्रो भएछ, बल्ल बल्ल दुईजना लाठेले दुईतिर काखीमा समाएर उठाएछन् । “सराद खाएर जसै उनीहरू बाटो लागे अलिक वर आएपछि एक जनाले भनेछ,” मीतज्यू ! म त असपट भएर हिँड्नै नसक्ने भएँ, घर पुग्नै गाह्रो होला जस्तो छ ।” अर्को मीतले भनेछ, “साह्रै गाह्रो भो भने मुखमा औंलो हालेर वान्ता गरेर फाल्नु नि त !” जवाफमा मीतले फेरि भनेछ, “के कुरा गर्नुहुन्छ हौ मीतज्यू ! औंलो अट्ने ठाउँ भए दुईचारवटा फुरौला खाइहाल्थें नि ।” अहिलेका नेता कर्मचारीले घुस, कमिसन र सुन खाए जत्तिकै गरेर खाएछन् बाबैहरूले सराद । यसरी आइना न साइनाका मान्छे कहाँ भुँडी फुटुन्जेल खान पाइने सरादलाई पनि नराम्रो र सानू भन्न मिल्छ र !
सोह्र सरादको अर्थ चैँ मलाई नसोध्नु होला है किनभने म चलाख वाचकी र चतुर पण्डित होइन, दस थरीका अर्थ लाउन जान्ने, आफू उपवाचकी जस्तो पुस्तकमा जे लेखेको छ त्यही मात्र भन्न जान्ने सोझो मान्छे । अर्थ पनि सोझै लाइन्छ । “सोह्र सराद” भनेको “सोर” को अर्थ जति भेट्छौ उति सोरसार पार वा पार्ने, सराद भनेको सरादै हो यसकारण भेटेसम्म सोर्नुपर्छ, छोड्नु हँुदैन भनेर नै सोह्र सराद भनेको हुनुपर्छ । यो कुरा चैँ हो कि जस्तो मलाई मैसँग घटेको घटनाले पनि पुष्टि गरेको छ ।
आफूले सधैं पूज्ने गरेका पुरेत सासू मरेर ससुरालीमा तिल जौ हाल्न गएछन् । उनले अर्कै पुरेतलाई भनिदिएको छु भनेर जानकारी दिएँ । त्यतिखेर मैले भर्खर भर्खर सराद गर्न थालेको थिएँ । सोह्र सरादमा पुरेतबा कहाँ सरादको टुंगो गर्न गको त पञ्चमीको सराद चौथी दिन पो तोकिदिए किनभने पञ्चमीका दिन उनले सात ठाउँमा सराद गराउनु पर्ने रछ । उनले भने, “चौथीको दिन चैँ तपाईंको समेत गर्दा पाँचवटा मात्र हो !” मैले कुरा काट्ने ठाउँ पनि पाइनँ । शास्त्रैमा “ब्राह्मणस्य मुखम्” लेखिएको छ, अर्थात ब्राह्मणले जे बोल्यो त्यो सत्य हुन्छ, भनेको छ । हुन्छ नि त आखिर जुन दिन भएपनि सराद गर्नु त हो नि भनेर चित्त बुझाएँ । आखिर कस्ले पो पितृहरूको श्रद्धा गरेर सराद गर्छ र ! सब लोकलाई देखाउन र दाजुभाइ र देउरानी जेठानीसँग कम्पिटिसन गर्न त सराद गर्ने हुन् नि ! अनि पुरेतसँग कपाल नखौरिने प्रस्ताव राखेँ, बाबै त मान्दै मानेनन् । मैले क्रान्तिकारी शैलीमा तर्क राखेँ,“ ए गुरूजी खौरिनु पर्छ भने शरीरका सबै भागका रौं खौरिनु पर्छ ।” गुरूले नरम भएर भने, “देखिने ठाउँको चैँ खौरिनु पर्छ, छोपिने ठाउँको चैँ खौरिनु पर्दैन ।”
अन्तिममा नमिल्ने काम पनि कर्मचारीलाई घुस दिएपछि, छिन भरमै मिले जस्तै पुरेतबालाई पनि सय रुपियाँ थमाइदिएको कपाल नखौरिई सराद गर्ने विषयमा सम्झौता भयो । नत्र त सोह्रसरादमा कपाल खौरिएर चिण्डे तालुमा टोपी लाएर दसैंमा ससुराली जाँदा सालीहरू बाख्राले चितुवा देखे जत्तिकै हच्किने भइहाले । आफ्नू त फुलेको कपाल र दारीजुँगामा कालो दलेर बीसेबाइसे बनेर सालीहरूसँग जिस्किने बानी ।
तोकिएको दिन पुरेतबा आउनु भो, पञ्चकव्य बनाउन गहुँत माग्नु भो, आफू गाई नपाल्ने बाबुसाहेब परियो, काँबाट पाउनु गहुँत ! फेरि आफू परियो कट्टर कम्निस्ट पञ्च भन्ने शब्दसँग नै एलर्जी ! फेरि पञ्चकव्य खान भनेपछि कम्ती गाह्रो पर्दैन, बरु जस्तै कडा भए पनि सोमरस चैँ दुई/चार बदल रित्याउन गाह्रो पर्दैन तर दुई थोपा पञ्चकव्य खान चैँ मरे जत्तिकै लाग्छ । आखिरमा सुनपानीले नै काम चलाइयो । पुरेतबाले दुईचारवटा कुश बटारेर “लु नानी ! बसौं धोती फेरेर” भन्नुभो, आफ्ना घरमा धोती भा पो फेर्नु ! पुरेत भा पो यसो कहींबाट दान आउँथ्यो, आफू परियो जजमान, कहाँबाट आउँनु र ! किन्न पनि धोती जाबो के किन्नु ! फेरि आफूलाई धोती (भारतीय) भनेपछि पट्क्कै मन नपर्ने ! लूगा कपडा दान पाउने भनेको ससुरालीमा हो, ससुरालीले पनि ज्वाइँ धोती फेर्दैनन्,टोपी लाउँदैनन् भनेर न धोती दिन्छन् न टोपी दिन्छन् । भन्नु त नहुने हो तर कति ससुरालीहरूले ज्वाइँहरूलाई धोती न टोपी पारेका छन् । “धोती त छैन गुरूजी, हापिन लाएर गर्दा हुँदैन ?” भनेर भनेको बुढाले “हुँदैन” भनेर अड्डी कसे ।
दक्षिणामा पच्चीस प्रतिशत बढाई दिने भनेपछि इन्जिनियरले काम कच्चा भयो,पास गर्न मिल्दैन भनेको काम पनि कमिसन बढाएपछि सबै काम शर्तभन्दा राम्रोसँग भएको भन्दै पास गर्दिए जस्तै गुरूजीसँग पनि कुरा मिलिहाल्यो । गुरूजीले “लु अब जनै फेरौं ” भन्नुभयो, जनै त लाको भा पो फेर्नु, गुरूजीसँग एउटा जनै किनेर जनै लाएर बसियो सराद गर्न । गुरूजीले दुईचार चोटि न.. न.. न गरिरथें, “लु तर्पणको पानी ठिक पारौं” भनिहाले । तर्पणको पानी ल्याएपछि दसचोटी जति तिरपनताम तिरपनताम भनिरथे तर्पण त अघि सकिएछ, न घरपट्टिका न मावलीपट्टिका कसैको पनि नाम नै नसोधी तर्पण सकिदिएकोमा गुरूजी पनि सुरु भएको दुई महिनामा नै कोर्स सिध्याउने शिक्षक जत्तिकै सिपालु रहेछन् जस्तो लाग्यो ।
“लू अब सिधा ठिक पार्नु पर्यो” गुरूजीबाट आदेस आयो । “कतिवटा सिधा गुरु ?” श्रीमतीले सोधिन् । गुरूजीले भने “सोह्र सरादमा सोरवटा नि, फेरि प्रत्येक सिधामा सोरै थोक चाहिन्छ, त्यति पनि थाहा थिएन नानीलाई ?” भनेपछि उनले भित्र गएर सोह्रवटीको सहयोग लिएर सोह्र मिनेटमै सोह्रवटा सिधा ठिक पारिन् । सोह्र दिन अगाडिदेखि सोह्र सरादको सर्जाम जुटाउँदा जुटाउँदा हत्तु भएकी उनले ढाड बाङ्गो पार्दै सिधा लिएर आइन् । सबै सिधालाई एकै ठाउँमा थुपार्न लाएर पिण्डलाई वेदी बनाउन लाएर सोह्रवटा पिण्ड लडाउन लाए । सराद त सक्की पो गयो, लगभग आधा घण्टामै । पुरेत अर्को ठाउँमा सराद गराउन जानु पर्ने भएको हुँदा भात नखाने भएकाले एकथाल हलुवा, चारवटा धुस्रे केरा, एकबटुकाको दूध ज्युनार गरेर बाटो लागे । हामीलाई पनि सजिलै भयो । मलाई पनि सुन्तली मैयाकहाँ गएर सोमरस र मांसपिण्ड भक्षण गर्न बाटो फुक्यो । श्रीमतीको इन्डियन च्यानलका सिरियल पनि छुटेनन् ।
पुरेत पनि आधुनिक परेछन्, आफू अत्याधुनिक । उहिलेका बुढा पुरेत परेका भए बिहान उज्यालो हुँदा थालेको सराद बेलुका साँझ पर्दा पनि सकिदैन थियो होला, प्रतिनिधि सभाको बैठक जत्तिकै लामो हुन्थ्यो । सराद सकेपछि त हसुर्ने काम न हो, पितृको नाम गर्यो, खाने त जिउँदा पितृ र मातृहरू त हुन् । सोह्र सरादमा सोर थोक खानेकुराहरू दाल, भात, दूध, दही, घिउ, सब्जी, सिकर्नी, फुरौला आदि इत्यादि । अचार नै पाँच प्रकारका थिए, पितृको कार्जेमा तितृको अचार,अहो ! ट्वाक्क जिब्रो पड्काउँदै खानको स्वादै अर्कै ! खाँदै गइयो, खाँदै गइयो, भरे त बसेको कुर्सी नै पो कर्याक्क गरेर भाँचियो । सुन्दर फर्निचर उद्योगबाट पाँच बर्षको वारेन्टी भनेर एक महिनाअघि ल्याएको फर्निचर ।
लौ त यसपालिको सोह्र सराद यस्तै भयो, अर्को सराद कस्तो आउने हो, आफ्नै सराद पो हुने हो कि ! जय सोह्र सराद !!!
०००
धुलाबारी ,झापा ।
Subscribe
Login
0 Comments
Oldest







































