बुढ्यौली काव्य (शृङ्खला १७)
केही सोच नयाँ र साथ रहने त्यस्तै पुराना जड । यी एकापस तालमेल नहुँदा सद्भावमा खाडल ॥ पर्दै छन् जनका सयौँ घरघरै छन् सोचमा भिन्नता । यस्तो खाडल पुर्नु पर्दछ छिटो खोजेर सम्भव्यता ॥
देवीप्रसाद मिश्र :
(वृद्धवृद्धाका सहरिया समस्या)
छाडी थातथलो, यता सहरमा बस्दै गरेकाजन ।
भन्छन् चित्त कुदेर पुग्दछ उतै सम्झेर पाखा वन ॥
फिर्ने छैन उपाय शक्ति सकियो काँप्दो छ आफ्नो तन ॥
हाम्रा वृद्ध सयौँजना सहरमा गर्छन् यही चिन्तन ॥८१॥
ठान्छन् जीवन यो न ता सहरिया या गाउँले नै भयो ।
पुग्दा वर्ष असी दसी सब गए के नै सुविस्ता भयो ॥
छोराले अघि बुझ्दथे सब कुरा आस्था पुरानो थियो ।
भार्याको पनि बात मान्नु छ यहाँ संस्कार नौलो भयो ॥८२॥
आफ्नो शक्ति घटेर गर्न नसके सन्तान हुन्थे घर ।
जिम्मा जे जति कार्य आदर गरी लिन्थे समाल्थे तर ॥
त्यस्तो आज रहेन छन् सहरिया हेर्दै सदा सौरभ
आयौँ बाध्य भई न थाम्न सकियो आफ्नो कुनै पौरख ॥८३॥
शिक्षाको गति न्यूनझैँ अघि हुँदा गर्दै सकेको श्रम ।
थामेको घरबार गौरव थियोे आफ्नै हुँदा हैकम ॥
डिग्रीमा परिपूणर् दक्ष अहिले सन्तान छन् तैपनि ।
देखिन्नन् अधिकांश वृद्धजनमा सन्तोष कादम्बिनी ॥८४॥
केही सोच नयाँ र साथ रहने त्यस्तै पुराना जड ।
यी एकापस तालमेल नहुँदा सद्भावमा खाडल ॥
पर्दै छन् जनका सयौँ घरघरै छन् सोचमा भिन्नता ।
यस्तो खाडल पुर्नु पर्दछ छिटो खोजेर सम्भव्यता ॥८५॥
(क्रमशः)
०००
२०८०/२/९
ताप्लेजुङ, हाल- काठमाडौं